उत्तरगया धाममा श्राद्ध गर्नेको भिड
रसुवा : बिहीबार बिहानैदेखि बेत्रावतीमा भक्तजनको भिड लागेको छ। त्रिशूली, फलाँखु, सलाँखु नदीको त्रिवेणी उत्तरगयाधाममा नुहाएर पितृका नाममा श्राद्ध गर्न भिड लागेको हो।
धार्मिक एवम् ऐतिहासिक यस क्षेत्रमा आज पौषे औसीको दिन श्राद्ध गर्ने हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले श्राद्ध गरिरहेका छन्। बिहान सबेरैदेखि पुसको चिसोमा त्रिशूलीको बगरमा पानीमा नुहाएर पितृहरूको शान्तिका लागि श्राद्ध गरेका हुन्।
श्राद्ध गर्नका लागि विभिन्न जिल्लाबाट उत्तरगया आएका छन्। तप्तनदी अर्थात् उत्तरगया क्षेत्रमा आई श्राद्ध गरेमा २० पुस्ताअघिका पितृहरू मोक्ष प्राप्ति भई स्वर्ग जाने जन विश्वास रही आएकाले पनि यहाँ टाढा टाढाबाट भक्तजन आएर श्राद्ध गर्छन्।
उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन पितृहरूलाई पिण्डदान गरी श्राद्ध गर्नाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने जनविश्वास छ। भारत वर्षका चार गयामध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक मात्र गया उत्तरगया हो। धार्मिक क्षेत्रकै नामले यस क्षेत्रमा गाउँपालिकाको नाम पनि उत्तरगया नै रहेको छ। बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एक मानिने कालिका गाउँपालिका–३ का खेमराज देवकोटाले बताए।
हालको बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर यहां पितृका नाममा हिन्दू धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमार्गीहरूले मृत्यु भएका आफ्ना आफन्तका नाममा लामाहरूले पनि मन्त्र पढ्ने र बत्ती बाल्ने गर्छन्। धार्मिक किंवदन्ती अनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान महादेवले कालकुट नामक विष पिएर विषको डाहा मार्न यही ठाउँमा लौरोले खोस्रेर तप्त नदी उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाँइकुण्ड पुगेको विश्वास गरिन्छ।
आफ्ना आफन्तजनका नाममा यहाँ आएर श्राद्ध गर्दा पितृ मोक्ष हुने र पहिलेदेखि नै चलिआएको परम्परालाई धान्नका लागि र आफ्नो धर्म संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मान्यताका कारण उत्तरगयामा श्राद्ध गर्न आएको काठमाडौंको बानेश्वरका रामकाजी उपाध्यायले बताए।
इतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाइन्छ। यहाँ बालाचर्तुदशी, पौषे औशी, गाईजात्रा, रामनवमी, हरिवोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशे औशी आदि पर्वमा भक्तजनको भव्य मेला लाग्दछ। यहाँ टाढा टाढाबाट भक्तजन आएर पूजाआजा गर्छन्। नेपाल –तिब्बत बीच लडाइँ हुँदा १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकाले यस क्षेत्रको महत्व अझ बढेको छ। यसवर्ष १०८ शिवलिंग स्थापना गरेपछि उत्तरगया क्षेत्रको मुहार नै फेरिएको छ।