रसुवागढी नाकामा कारोबार बन्द
रसुवा : चीनबाट नेपालतर्फ आयात हुने मालवस्तुमा रसुवा भन्सार कार्यालयले आफूखुसी मूल्यांकन गरेको भन्दै व्यापारीले रसुवागढी नाकाबाट कारोबार नगर्ने घोषणा गरेपछि कारोबार ठप्प भएको छ।
चीनबाट हुने मालवस्तु आयातमा भन्सारले आफूखुसी मूल्यांकन गरेको भन्दै व्यापारीले यसको दीर्घकालीन समाधान नभएसम्म रसुवा नाकाबाट कारोबार नगर्ने घोषणा गरेका हुन्। व्यापारिक कारोबार पाँच दिनदेखि बन्द छ। आयातित सामानको सामानको खरिद बिल, बजार मूल्य, गुणस्तर र स्वघोषणालाई बेवास्ता गरेर आफूखुसी अस्वाभाविक रूपमा मूल्यांकन बढाएको व्यापारीहरूको आरोप छ।
उनीहरूले रसुवा भन्सारले जाँच गरेर सिल लगाइसकेको कन्टेनरलाई पनि पुनः मूल्यांकन गर्न लगाउने, व्यापारीको कुरै नसुन्ने र राजस्व पुगेको छैन तिर्नैपर्छ भनेर दबाब दिने गरेको दाबी गरेका छन्। भन्सार विभागको अनलाइन प्रणालीबाट मुलुकभरका भन्सार नाकामा भएको वस्तुको जाँच र मूल्यांकनको अनुगमन गर्ने प्रणाली रहेको छ।
व्यापारीले उठाएका अधिकांश विषय विभागको निर्देशन र भन्सारका केही कर्मचारीका कारण उत्पन्न भएको आरोप व्यापारीको रहेको छ। व्यापारिक प्रतिनिधि वुद्धराज बस्नेत, भन्सार प्रमुख रामप्रसाद पाठकसहित भएको छलफलमा निष्कर्ष निस्कन सकेन। चीनबाट नेपाल प्रवेश गरेका १ सय १४ वटा कन्टेनर भन्सार हातामा रहेको छ।
नाकाबाट विशेषतः तयारी पोशाक, जुत्ता, ब्याग, मोबाइल तथा कम्प्युटर पार्ट्स, विद्युत् आयोजनाका मेसिनरी सामान, कपडा, स्टेसनरी सामान, खेलौना, किचनमा प्रयोग हुने इलेक्ट्रिक सामानलगायतका विविध प्रकृतिका मालवस्तु आयात हुने गरेको छ।