नेपाल एकीकरणका साहसिक व्यक्तित्व

नेपाल एकीकरणका साहसिक व्यक्तित्व
फाइल तस्बिर।

सानो मुलुक गोर्खाले २० वर्षीय युवराज पृथ्वीनारायण शाहको अदम्य साहस र दृढ विश्वासकै कारण विशाल नेपालमा परिणत हुने अवसर पाएको हो। ईसापूर्व ३५६ तिर सानो मुलुक मेसोडोनियाले पनि अलेक्जेन्डर महान्कै कारण विशाल आकार प्राप्त गर्ने जश पाएका हुन्। युद्धमा हार्न नजानेका अलेक्जेन्डरलाई माता ओलम्पियाले ईश्वरपुत्र मान्थिन्। ‘घूस लिन्या र घूस दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता भनाइ उपदेश दिने पृथ्वीनारायण शाहमा पनि अनेक उपमा छन्। उनले चाहेको भए देशको नाम नेपाल नरहन सक्थ्यो, मल्लकालीन राजा यक्ष मल्लले झैं भाइ–छोराहरूमा बाँडचुँड गरेर आनन्दसँग रहन सक्थे तर उनको स्वभाव र आचरणमा स्वार्थ कहिल्यै कतै देखिएन।

बाइसी, चौबिसीलगायत सेनवंशीय राज्यबाहेकको उपत्यकाभित्र तीन शक्तिशाली राज्य थिए। बरु, उनको गोर्खा चाहिँ सानो र कमजोर हो तैपनि उनको एकीकरण अभियान थालनीको अठोट र अदम्य साहसका अगाडि सानो हुन पाएन। विद्वान् ज्योतिषी कुलानन्द जैसी (ढकाल) युद्ध साइत दिने महान् ज्योतिषीमात्र थिएनन्, हौसला र आत्मबल जगाउने पुरुषार्थी व्यक्ति पनि थिए। गोर्खाली जनताको राजाप्रति रहेको विश्वास, असीम श्रद्धा र सहयोगकै कारण विदेश (बनारस)बाट गोपनीयतापूर्वक हातहतियार ल्याए। अनि योजनाबद्ध तवरबाट सबै बन्दोबस्त सकेर उपत्यका वरिपरिका नुवाकोट, मकवानपुर, कीर्तिपुरलगायत मुलुकसँगै उपत्यका विजय गरे।

‘नरपतिजयचर्या टीका’ नामको ग्रन्थमा उल्लेख भएअनुसार यक्ष मल्ल (विक्रम सम्बत् १४८५–१५३८) ले आफ्नो ५३ वर्षको शासनकालमा  मिथिला, मगध र गया विजय गरेका थिए। कर्कपेट्रिकका अनुसार उत्तरमा सिकारजोङसम्म यिनको राज्य फैलिएको थियो भनिएको छ। नेपालको दक्षिण–पूर्वी भेगमा नान्यदेवले खडा गरेको सिम्रौनगढ राज्यमा वर्तमान भारतका केही भाग पर्थे। त्यस्तै पश्चिमी भेगमा नागराजले खडा गरेको शक्तिशाली सिञ्जा राज्यमा पनि कुनै बेला वर्तमान चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर प्रदेश र वर्तमान भारतको उत्तराञ्चल राज्यअन्तर्गतका कुमाउँ–गढवाललाई आफ्नो सरहदभित्र पारेका थिए। तर, कालान्तरमा यी राज्य क्रमशः टुक्रिँदै गए। विक्रम सम्बत्को १८औं शताब्दीमा आइपुग्दा यस भेगमा ५२ भन्दा धेरै ससाना राज्य भए। जसअन्तर्गत बाइसेचौबिसे, काठमाडौं, भक्तपुर, पाटन, मकवानपुर, चौदण्डी र विजयपुर (सेनराज्य) आदि पर्थे।

नेपालको इतिहासका शीर्षस्थ पुरुष पृथ्वीनारायण शाहले १८३१ माघेसंक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे। त्यसपछि पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्रलक्ष्मी र छोरा बहादुर शाहलगायतले अगाडि बढाइरहे। अंग्रेजको साम्राज्यवादी नीतिबाट जोगिन नवाव मिरकासिमले उत्तर सुरक्षित स्थल मानेर भगौडा मकवानपुरे राजा दिग्बन्धन सेनको अनुरोधअनुसार २० जनवरी १७६३ जनवरीमा गुरगिन खाँको नेतृत्वमा तीन हजारको फौज पठायो। साँझपख उकालो चढ्दै गर्दा फत्रक्क गलेको अवस्था थियो। तर अचानक गोर्खाली फौजको चारैतिरबाट भएको ढुंगामुढाको आक्रमणले मुसलमानी फौजको भागाभाग भयो। १७ सय जति मारिए। दुईवटा तोप, पाँच सय बन्दुक र सानाठूला हतियारले गोर्खालीको एकीकरण अभियानलाई सहयोग पुर्‍यायो।

गोर्खालीले वरिपरि गरेको विजयबाट तर्सिएर कान्तिपुरका राजा जयप्रकाश मल्लले अंग्रेजसँग गरेको सहयोगको याचनाअनुसार टिप्राको लडाइँका विजयी वीरयोद्धा कप्तान किनलकको नेतृत्वमा २४ सय हिन्दुस्तानी र अंग्रेज अफिसरसहितको फौज पठायो। फौज सिन्धुलीगढीमा आइपुगेको खबर पाएपछि पृथ्वीनारायणले वीरभद्र उपाध्याय र सिकारी वंशु गुरुङको नेतृत्वमा पाँच सय जतिको गोर्खाली फौज सिन्धुलीतर्पm पठाए। बाटोमा गोर्खाली सेना नदेखेर हामीसँग भिड्न गोर्खाली डराए भन्दै अंग्रेज फौज सिन्धुलीगढीको पौवागढीतर्फ लागे। त्यहाँको उकालोमा पसिना पुछ्दै गर्दा गोर्खालीको सिस्नो र अरिंगालो गोलोको खनियो। अप्रत्याशित आक्रमणबाट अत्तालिएर भाग्दा १६ सय जति अंग्रेज फौज मरे। जसमा गोर्खाली फौजले तीन सय बन्दुक हात पारे। यो विजयले गोर्खालीको मनोबल अझ बढ्यो।

मध्यरातमा आनन्दसँग इन्द्रजात्रा मनाइरहेका बेला गोर्खाली फौजले कान्तिपुरमा तीन तिरबाट आक्रमण गर्‍यो। नरदेवीतर्फको फौजको नेतृत्व पृथ्वीनारायण आफैंले गरेका थिए। युद्धमा जयप्रकाश मल्ललाई भाग्ने मौका दिन दक्षिणतर्फको ढोकामा फौज राखिएन। त्यो थाहा पाएर सामान्य झडपमै तीन सय जति नगरकोटे फौज लिएर जयप्रकाश मल्ल भागे र पाटन पुगे। यसरी १८२५ कात्तिक १३ गते आइतबार इन्द्रजात्राको राति दरबार घेरेको चार घण्टामै पृथ्वीनारायण शाह हनुमानढोकास्थित न्हुछे दरबार अगाडिको डबलीमा पुगे। यसरी कान्तिपुरको राजसिंहासनमा बसेर इन्द्रजात्रासहित मानिआएका सबै रीतिथिति सञ्चालनमा निरन्तरता दिए। यसकारण कान्तिपुरवासीबाट भरपूर सहयोग पाए। यता पाटनको राजनीति अत्यन्त दूषित थियो। त्यसैले असुरक्षित हुने खतरा मनन् गरी दुवै राजा त्यहाँबाट भक्तपुरको शरणमा पुगे। जहाँ बिनारक्तपात ११ दिनपछि वा असोज २४ गते पाटनको दरबार पनि पृथ्वीनारायण शाहको कब्जामा आयो।

भक्तपुरे राजा रणजित मल्ल पृथ्वीनारायणका मितबुवा भएकाले दुवै राजालाई फिर्ता पठाइदिन केही समय अनुरोध गरे। तर उनीहरू युद्ध तयारीमा जुटेको बुझेपछि पाटन विजयको झन्डै एक वर्षपछि शूरप्रताप शाह, वंशराज पाँडे र केहरसिंह बस्नेतको नेतृत्वमा १५ सय गोर्खाली फौजले भक्तपुर आक्रमण गर्‍यो। जयप्रकाश मल्लको दाहिने खुट्टामा गोली लाग्नाले भर्‍याङबाट झरे। तीन दिनको युद्धमा भक्तपुरका अनेकौं घर जलेर धेरै क्षति भइसकेको र युद्ध जित्ने सम्भावना पनि नरहेकाले आहत भए रणजित मल्ल। उनले दरबारको झ्यालबाट आफ्नो पगरी देखाएर आत्मसमर्पण प्रष्ट्याए। यसरी कान्तिपुर, ललितपुर र भक्तपुरसहित तीनै राज्यको विजयले उपत्यका एक सूत्रमा बाँधियो। एक देशबाट अर्काे देशमा जान नपाएका नियन्त्रित र बन्धनका जनता खुल्लमखुल्ला सबैतिर आवतजावत गर्न पाउँदा खुसीयालीको सीमा रहेन। शाहकालको एकीकरण अभियानमा नेपालको पहिलो र महत्त्वपूर्ण विजय सम्पन्न भयो।

मुलुकको विकास र निर्माणमा एकैजनाको अग्रता र शत्प्रयासले व्यापक परिवर्तन आउन सक्छ भन्ने विभिन्न व्यक्तिले पुष्टि गरेका छन्। जर्ज वासिङ्टनको प्रयासले अमेरिका, नेपोलियन बोनापार्टको अदम्य साहसले फ्रान्स, नेल्सन मण्डेलाको अथक प्रयासले दक्षिण अफ्रिका विश्व व्यापारको गन्तव्य बन्यो। विष्मार्कले जर्मन, गैरी वाल्डीले इटली र लिक्वान युको २० वर्षकै प्रयासले सिंगापुर बन्यो। महान् दृष्टि भएका व्यक्तिले मुलुक बनाउँछन् तर स्वार्थी मनोवृत्ति हुनेहरूलाई जति पटक जिताए पनि जनता रुवाई रहन्छन्। नेपाल एकीकरणका श्रद्धेय व्यक्तित्व, राष्ट्रिय एकताका प्रतीक, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पुस २७ गतेको जन्मजयन्तीका अवसरमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.