काभ्रेमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
काभ्रे : जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ औं संस्करण शुक्रबारबाट बनेपामा सुरु भएको छ। जिल्लाको १३ स्थानीय तहमध्ये १२ स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको हो।
स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन्। प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले जानकारी दिए।
उनका अनुसार तेमालबाहेक १२ स्थानीय तहका विभिन्न विद्यालयका करिब १ हजार विद्यार्थी सहभागी छन्।
प्रतियोगिता यही पुस २७, २८ र २९ गते बनेपामा सञ्चालन हुनेछ। जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने खेलकुद समितिले जनाएको छ।