कुनै युवाले गाउँ छोड्नु नपरोस्

मुद्दा : स्थानीय तहमा आन्तरिक विवाद

कुनै युवाले गाउँ छोड्नु नपरोस्

गाउँपालिकाको भवन निर्माण विषयमा विवाद छ भन्ने सुनिन्छ त्यो के हो ? 

म निर्वाचित भइसकेपछि सबैभन्दा पहिलो निर्णय नै गाउँपालिकाको भवन बनाउनुपर्छ भन्ने गरियो। भवन निर्माणको बजेट व्यवस्था भइरहेको छ। अघिल्लो कार्यकालमा विभिन्न उल्झनले बन्न नसकेको रहेछ। त्यसैले हाम्रो कार्यकालमा भवन बनाएर छोड्ने अठोट लिएका छौं।

अहिले ६ वटा घर भाडामा लिएर गाउँपालिका सञ्चालन गरिरहेका छौं। केही होटलसँग जोडिएका छन्, केही पसलसँग। एक ठाउँमा लस्करै पनि छैन। यसले गर्दा सेवाग्राहीलाई अत्यन्त कष्ट छ। धेरै ठाउँ छरिएर रहेका कारण कर्मचारीको लापरबाही पनि देखिएको छ। त्यस्तै, छिटो बनाउने हेतुले हामीले गाउँपालिका भवनको निर्माणका लागि सर्वसम्मत ढंगले एउटा मापदण्ड बनाएर सूचना प्रकाशित गर्‍र्यांै। निःशुल्क जग्गा पाउन सूचना पनि प्रकाशित गरियो। 

चार ठाउँबाट जग्गा आयो। त्यसमध्ये एउटा जग्गा छनोट गर्नुपर्ने भयो। अहिलेको स्थानबाट एक किलोमिटरको दूरीमा रहेको २१ रोपनी उपयुक्त लाग्यो। राजनीतिक दललाई बोलाएर सर्वदलीय बैठक राखियो। दिएका जग्गामध्ये उचित ठाउँमा चाँडो बनाउनु भनेर सर्वदलीय बैठकले म्यान्डेड दियो। तर गाउँपालिकाको कार्यपालिकामा भने ठाउँका विषयमा विवाद आयो। यो कि, त्यो भनेर। बहुमतले निर्णय गरेर वडा नम्बर ३ स्थित मर्‍याङडाँडा भन्ने ठाउँमा बनाउने निर्णय गर्‍यौं। त्यो ठाउँ अहिले भाडामा बसेको भन्दा एक किलोमिटर दूरीमा पर्छ।

हाइवेबाट २ सय ८० मिटरमा छ। छनोट गर्ने निर्णयपछि बजारबासी बोलाएर होहल्ला गराइयो। जुलुस गरियो। पूर्वगाउँपालिका अध्यक्षले त्यसको नेतृत्व गरे। विभिन्न आरोप लगाए। उनीहरूले नै सर्वोच्चमा मुद्दा हाले। स्थानीय तह सञ्चालन ऐन विपरीत गर्‍यो। संघ र प्रदेशलाई नसोधी गाउँपालिकाले एकलौटी गर्‍यो भनेर सर्वोच्च अदालतमा मुद्दा हाले। अदालतबाट सबै कामकाज रोक्नु भनेर अन्तरिम आदेश भयो। कामजाँच रोकियो। सर्वोच्चमा दुवै पक्ष बहसका लागि बोलाइयो। सबै प्रमाण हामीले पेस गर्‍यौं। त्यही बहसकै दिन अन्तरिम आदेश कायम गर्न आवश्यकता नभएको भन्ने भयो। कामकाज गर्न फुकुवा भयो। मालपोतमा गएर २१ रोपनी पास गर्‍यौं। 

किन पूर्वअध्यक्ष भवन निर्माणको विरोधमा देखिए ? 

यही त अचम्म छ। पार्टी पनि हाम्रो एउटै हो। आफ्नै पार्टीको नेतृत्वमा आन्दोलन गरिरहनु भएको छ। पूर्वअध्यक्ष नबनाउने भन्दै उही ठाउँमा पुग्नुहुन्छ, म बनाउँछु सहयोग गर्नुपर्‍यो भनेर पुग्छु। आफ्नो पालामा बन्न नसकेको र मेरो पालामा बन्छ र उसले जश पाउँछ भन्ने उहाँलाई लागेको हुनुपर्छ। उहाँको पालामा पनि दुई किलोमिटर दूरीभित्रका लागि भने सूचना जारी भएको हो।

अहिले हामीले पनि त्यही गरिरहेका हौं। निहित स्वार्थले काम गरिरहेको छ। विरोध गर्ने अरूका त्यस्तै स्वार्थ छन्। मुद्दा हाल्ने, विरोध गर्नेको घरमा अहिले भाडामा गाउँपालिका छ। अर्कोतिर उहाँले भनेको ठाउँमा भने उहाँहरूका जग्गा पर्छन्। भवन निर्माणमा अड्चनहरू भइराखेका छन्। तर म मेरो कार्यकालमा जसरी पनि बनाउँछु भनेर लागेको छु। 

निर्वाचित भएको डेढ वर्षभन्दा बढी भयो तपाईंले यस अवधिलाई कसरी लिनुहुन्छ ? 

गाउँपालिका भवन निर्माण गर्छौं, वडा भवन निर्माण गर्छौं। प्रत्येक वडाबाट सदरमुकाम पुग्ने बाटो बनाउँछौ। शैक्षिक क्षेत्रमा सुधार गर्छौं। यो समय अवधिलाई मूल्यांकन गर्दा आवश्यकताहरूलाई सही तरिकाले वर्गीकरण गर्न सकियो। आफूले इमान्दारितापूर्वक काम गर्ने इच्छाशक्ति राखियो भने सीमित स्रोत र साधनको बाबजुत पनि असीमित आवश्यकताको पूर्ति गर्नका साथै दिगो आर्थिक र सामाजिक विकास गर्न सकिने रहेछ भन्ने लागेको छ। 
सबैतिर पालिका सदस्य र कर्मचारीबीच मनमुटाव देखिन्छ, त्यहाँ कस्तो छ ? 
म व्यक्तिगत स्वार्थ र नियमविपरीत आफू पनि काम गर्दिनँ र थाहा भएसम्म अरूलाई पनि गर्न दिन्नँ। त्यसैले अहिलेसम्म अनमेलको कारण समस्या झेल्नु परेको छैन। 

  •     हाम्रो कार्यकालमा भवन बनाएर छोड्ने अठोट लिएका छौं।
  •     गाउँपालिका भवन निर्माण गर्छौं, वडा भवन निर्माण गर्छौं। प्रत्येक वडाबाट सदरमुकाम पुग्ने बाटो बनाउँछौ, शैक्षिक क्षेत्रमा सुधार गर्छौं।
  •     यो वर्ष उज्यालो अरुण गाउँपालिका घोषणा गर्ने तयारीमा छौं। 

डेढ वर्षको अवधिमा तपाईंबाट भएका उल्लेखनीय काम के के हुन् ? 

यो समय सुन्दा धेरै जस्तो लागे पनि काम गर्नका लागि थोरै नै हो। तर पनि म निर्वाचित भएपछि मेरो मुख्य प्राथमिकता भनेको नै गाउँपालिकाको आफ्नो भवन निर्माण केन्द्रित भयो। अहिलेसम्म सबै गाउँपालिकाका काम कारबाही भाडाका घरबाट नै भइरहेका थिए र छन्। तत्काल प्रशासकीय भवन निर्माण गर्न समय लाग्ने भएकाले १ करोड ४० लाखको लागतमा अस्थायी ट्रस्ट भवन निर्माण गरेका छौं। आफ्नो भवन नबनेसम्म अस्थायी ट्रस्टको भवनबाट नै प्रशासकीय काम कारवाही गर्नेछौं । प्याउली बजारमा करिब १४ करोडको लगानीमा १५ श्ययाको अस्पताल भवन बनिरहेको छ। चरम्बी र चम्पेमा पनि स्वास्थ्य भवन निर्माण भइरहेको छ। पालिकामा रहेका ७ वटै वडाको सदरमुकामसम्म बाह्रैमहिना सवारीसाधन सञ्चालन गर्ने लक्ष्य छ।  

सातवटै स्वास्थ्य संस्थामा उपकरणहरू उपलब्ध गराएका छौं। औषधि र दरबन्दीअनुसार कर्मचारीको व्यवस्थापन गरेका छौं। एक घर एक धाराको नीतिअनुसार खानेपानी वितरण र विस्तारको व्यवस्था भइरहेको छ। मुहान अभाव भएका ठाउँमा साना ठूला गरी ६÷७ ठाउँमा अरुण नदी र अन्य ठाउँबाट लिफटिङ्ग प्रविधिको प्रयोग गरेर खानेपानीको विस्तार भइरहेको छ। केही सम्पन्न भएका छन् भने केही निर्माणाधीन छन्। सुन्तला, कागती, एभोकाडो, आँप, लिचीजस्ता खेतीतर्फ आकर्षित गर्न प्राविधिक सहयोगका साथै बिरुवा, मलखाद र विषादी वितरण 
गरेका छौं।

हाम्रो गाउँपालिकाभित्र ९६ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ। भौगलिक विकटताले ४ प्रतिशतमा पनि सेवा विस्तारका लागि तार पोलको प्रबन्ध भइसकेको छ। यो वर्ष उज्यालो अरुण गाउँपालिका घोषणा गर्ने तयारीमा छौं। 

संघ र प्रदेशसँग कस्तो समन्वय भइरहेको छ ? 
सबैले सम्झनलायक कार्यकाल बनाउने मेरो लक्ष्य छ। त्यसमा नै लागेको छु। त्यसमा सबैले सहयोग गर्नु भएको छ। संघ र प्रदेशसँग पनि राम्रो समन्वय भइरहेको छ। 

महिला र युवाका लागि कुनै योजना बनाउनु भएको छ ?

लघु घरेलु तथा साना उद्योग स्थापना गर्न सकियो भने स्वरोजगार सिर्जना हुन्छ। अचार, साबुन, बाँसका फर्निचर उत्पादन, खाँडी तथा कोगटी कपडा उत्पादन गर्ने कार्यलाई प्राथमिकतामा राखेका छौं। खाँडी तथा कोगटी कपडा उद्योगका लागि ३० लाखको योजनाको सम्झौतासमेत भएको छ। यस्ता उद्योग स्थापना र सञ्चालन हुँदा स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने गर्छ, जनताको जीवनस्तर उस्किन्छ। बसाइँसराइ र वैदेशिक रोजगारीमा जाने संख्या घट्ने छ।  

के वैदेशिक रोजगारी र बसाइँसराइको अवस्था भयावह नै छ र ?
यो अवस्था भयावह नै छ तर हामीले गाउँमा बस्ने वातावरण बनाइरहेका छौं। विकास, पूर्वाधार, सुविधाको पर्याप्त व्यवस्था गर्दैछौं। शिक्षा, स्वास्थ्यका लागि कसैले गाउँ छोड्नु नपरोस् भन्ने हाम्रो लक्ष्य छ। 

अन्तिममा अहिले नै भनिहाल्न नसकिने तर योजना सञ्चालन हुन्छ भन्नेमा तपाईं ढुक्क हुनु भएका त्यस्ता केही योजना छन् कि ? 

अवश्य छ। गाउँपालिकाको स्थायी प्रशासकीय भवन बनेको छैन। त्यसका लागि जग्गा प्राप्त भइसकेकोले बजेट विनियोजन भई निर्माण प्रक्रियामा जानेमा ढुक्क छु । त्यस्तै गाउँपालिकाभित्रका आधा जति घरधुरीलाई शुद्ध खानेपानीको आपूर्ति गर्न सक्ने मुहानको सुनिश्चितता र सहमति भइसकेको छ। सम्बन्धित नगरपालिकाले स्वीकृति दिइसकेको र जिल्ला खानेपानीले योजना भागको सिफारिससमेत गरिसकेको छ। 

अब बजेट विनियोजन भएर काम थालनी हुनेमा ढुक्क छु। जरायोटार प्रहरी चौकी भवन निर्माणका लागि आवश्यक कागजात पेस गरी योजना माग गरेका छौं। गृहसचिवले स्थलगत अवलोकन पनि गरिसकेकोले निर्माण हुनेमा ढुक्क छु।  

प्रस्तुति : सुरेन्द्र काफ्ले


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.