रग्बीमा चम्किएका प्रेम
काठमाडौं : दोलखा मेलुङ पवटीका प्रेमबहादुर कोइराला फुलकन्ट्याक्ट करातेबाट खेलकुदमा प्रवेश गरेका हुन्। नेपाली चलचित्रमा देखाइने द्वन्द्व (फाइट) उनी खुबै मन पराउँथे। चलचित्रको अरू कुराले भन्दा पनि उनलाई द्वन्द्वको दृश्यले बढी आकर्षित गथ्र्यो। गाउँमा एलएलसी उत्तीर्ण गरेपछि उनी काठमाडौं आए। चलचित्रको दृश्यमा झैं उनी आफू पनि फाइटर बन्न चाहन्थे। त्यसैले उनले २०६३ सालदेखि फुलकन्ट्याक्ट कराते खेल्न थाले।
झन्डै दुई वर्ष बालाजु डोजोमा क्योकुसिन कराते सिके। त्यही क्रममा उनी त्रिपुरेश्वरको दशरथ रंगशाला पनि बारम्बार गइरहन्थे। त्यहाँ जाँदा आफूले खेलेको भन्दा फरक खेल खेलिरहेको देखे। साथीमार्फत त्यो उसु खेल हो भन्ने थाहा पाए। त्यसपछि उनी फुलकन्ट्याक्ट कराते छाडेर उसु सिक्न थाले। उनले झन्डै एक वर्ष उसु खेले। त्यसपछि उनी केही समय खेलकुदबाट टाढा भए। उच्च शिक्षा अध्ययनमा लागे।
स्नातक तह पढ्दा दशरथ रंगशाला आउजाउ गरिरहन्थे। त्यही क्रममा सन् २०१३ मा चेतनराज गिरीसँग पहिलो पटक भेट भयो। उनले ‘प्रेम तिमी रग्बी खेल्न आउँ। रंगशालामा टे«निङ हुन्छ’ भने। त्यसपछि रंगशालामा टंकराज गिरी, गोविन्द घिमिरेलगायतसँग उनको भेट भयो। उनीहरू भारतबाट रग्बी खेलको प्रशिक्षण लिएर फर्किएका थिए। उनीहरूकै आग्रहमा प्रेम पनि रग्बी खेलमा होमिन तयार भए।
उनले विभिन्न घरेलु प्रतियोगितासँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाए। सन् २०१६ मा दशरथ रंगशालामा भएको अन्तर क्लब प्रतियोगितामार्फत पहिलो पटक घरेलु प्रतियोगितामा सहभागिता जनाउने मौका पाए। उनी त्यतिबेला पश्चिमाञ्चलबाट सहभागी भएका थिए। यस्तै सन् २०१७ मा रग्बी फिप्टिनअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मीसँग पनि प्रेमले खेल्ने मौका पाएका थिए।
सन् २०१६ मा प्रेमलगायत केही रग्बीका राष्ट्रिय खेलाडीहरू मिलेर गोर्खाली क्लब स्थापना गरे। गोर्खाली क्लबले केही घरेलु प्रतियोगितामा पनि सहभागिता जनाएको थियो। पछिल्लो समय भने गोर्खाली क्लब देशका विभिन्न स्थानमा खेलाडी उत्पादनमा सक्रिय रहँदै आएको छ। क्लबमा आबद्ध राष्ट्रिय खेलाडीले पूर्वदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा रग्बीका ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेका छन् भने सिनियर खेलाडीहरूलाई पनि नियमित रुपमा प्रशिक्षण दिइरहेका छन्।
प्रेम सन् २०१६ माा भारतको चेन्नईमा एसियन डेभलपमेन्ट सेभेन्स ट्रफीमा सहभागी भए। त्यही वर्ष दशरथ रंगशालामा भएको हङकङसँगको मैत्रीपूर्ण खेलमा पनि प्रतिस्पर्धा गरे। यस्तै सन् २०१७ मा कतार र २०१८ मा सिंगापुरमा आयोजना भएको प्रतियोगितामा पनि प्रेमले सहभागिता जनाउने अवसर पाए। यसैगरी सन् २०२२ मा बंगलादेशमा आयोजना भएको प्रतियोगितामार्फत नेपालको राष्ट्रिय टिमले रग्बी फिप्टिनमा पहिलो पटक डेब्यु गरेको थियो। बंगबन्धु नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय शृंखलामार्फत नेपालले रग्बी फिप्टिनमा डेब्यु गर्दा प्रेम पनि नेपाली टोलीको सदस्य थिए।
रेफ्रीमा मोडियो पाइला
नेपाली रग्बीको पहिलो पुस्ताका खेलाडी प्रेमले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए। लामो समय सक्रिय खेलाडी रहेका प्रेमले सन् २०१७ बाट भने खेलाडीबाट रेफ्रीमा पाइला मोडे।
सन् २०१८ बाट भने उनले विद्यालय, क्लबस्तरीय प्रतियोगिता खेलाउन सुरु गरे। गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले रग्बीको मुख्य रेफ्रीको भूमिका निर्वाह गरेका थिए। बागमती प्रदेशले मुख्य प्रशिक्षकको भूमिका दिए पनि उनले त्यसलाई छाडेर रेफ्री गर्ने निर्णय गरेका थिए। उनले विवादरहित रुपमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेका थिए।
डिभिजन थ्रीमा फड्को
प्रेमले नेपालमा मात्रै रेफ्रीको भूमिका निर्वाह गरेनन्। उनले सन् २०२२ मा यू–१८ एसियन रग्बी च्याम्पियनसिपमा नेपालका तर्फबाट रेफ्रीमा डेब्यु गरेका थिए। सन् २०२३ को जुलाईमा श्रीलंकामा भएको सिनियर डिभिजन ए (फिप्टिन्स) क्लब च्याम्पियनसिपअन्तर्गत यू–१४ र यू–१६ प्रतियोगितासँगै त्यहाँको प्रदेशस्तरीय रग्बी सेभेन्समा मुख्य रेफ्रिको भूमिका गरेका थिए। सिनियर खेलाडीका रुपमा १९औं एसियाली खेलकुदमा सहभागी हुने अवसर पाएका थिए। सिनियर खेलाडीले उनलाई सो अवसरको सदुपयोग गर्न आग्रह पनि गरेका थिए। तर, उनले खेलाडीभन्दा पनि रेफ्री नै गर्ने निर्णय गरे। आफूले छाडेर नयाँ खेलाडीका लागि अवसर उपलब्ध गराए।
सन् २०१८ मा म्याच अफिसियटिङ (एल वान) गरेका प्रेमले सन् २०२३ डिसेम्बरमा डेभलपिङ म्याच अफिसियल (एलटु) कोर्स उतीर्ण गरेका थिए। उनले एल वान र एल टु विश्व रग्बी एजुकेटर सुरजित गोस (भारत) बाट गरेका हुन्। उनी एलटु गर्ने नेपालका पहिलो रग्बी रेफ्री हुन्। प्रेम अबको लक्ष्य बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने र नेपालमै रेफ्री उत्पादनमा भूमिका खेल्ने बताउँछन्। यस्तै भविष्यमा कोच अफ म्याच अफिसियल (सीएमओ) कोर्स गर्ने लक्ष्य पनि उनले राखेका छन्।
‘अब पूर्ण रुपमा रेफ्रीमै लाग्छु। नेपालमा रेफ्रीको संख्य निकै कम छ। त्यसैले बढीभन्दा बढी रेफ्री उत्पादनसँगै सीएमओ कोर्स गर्ने पनि लक्ष्य राखेको छु’, प्रेम भन्छन्।