बहादुरीको कहिरन निर्माण गर्न
ठुटे बन्दुक
अणुबम, जैविक हतियारसम्म बनाएर
धर्तीको शरीरमा
मान्छेको रगत पोखिरहे बाउले
ममताको ताजमहल चुल्याउन
जोर स्तन निचोरेर
सपूत—कपूत दुवैका निम्ति
दूधको अविरल सिर्का बगाइरहिन् आमाले
एकले अर्काेलाई जितुँला झैं गर्दै
धर्तीमा समानान्तर बगिरहेका छन्
रगतको रातो नहर
र दूधको सेतो भँगालो
खगोल र भूगोलभरि व्याप्त छ
रगतको क्रन्दन
र दूधको महासंगीत
खुनको मातले बहुलाएका बाउ
सभ्यताको शास्त्र
रगतको मसीले लेख्छु भन्छन्
मायाप्रेमको तागतले
पृथ्वी बचाइरहेकी आमा
मानवताको महामन्त्र
दूधको मसीले लेख्छु भन्छिन्।