ज्ञानको विकास गर्नेले भौतिक विकास गर्न सकेनन्। भौतिक विकास गर्नेले ज्ञानको विकास गर्न सकेनन्।
आज एउटा पृथक् अनुभूति भएको छ, जुन त्यतिबेला हामीले सुनेका थियौं। एकअर्कोले बोलेको नसुनिने भएकाले टाढा–टाढासम्म लामो धागो लिएर जान्थ्यौं। अनि एउटा धागो कानमा राख्ने अर्कोले त्यो धागोको मुखमा लगाएर बोल्ने। त्यसो गरे सुनिन्छ अरे भन्थे र गथ्र्यौं अनि हो जस्तै लाग्थ्यो सानोमा।
हैन यो के हो त ? मनमा उब्जियो त्यतिबेलै। हाम्रो घरमाथि ठूलो गौचरन थियो। जहाँ स–साना भाइबहिनीसँग खेल्ने गथ्र्यौं। हाम्रो पालो आज हामी यसोे गरौं न त भन्ने मनमा आयो। जनै बनाउन त धागोको लरिया लिएर गयौं र निकै लामो डोरी बनाएर दुइटा सलाईका काँटी राख्ने बट्टाको बीचमा सानो प्वाल पार्यौं। धागोको छेउमा गाँठो पारेर छिरायौं। दुईतिर बसेर एउटाले बोल्ने अर्कोले कानमा राखेर सुन्ने गर्यौं। नभन्दै सुनिँदो रहेछ— ओहो गजबै रहेछ नि ! यस्तो काम गर्यौं भनेर हामीलाई असाध्यै खुसी लागेको थियो।
त्यतिबेला हाम्रो गाउँघरमा टेलिफोन थिएन। जिल्ला सदरमुकाममा एउटा (आ.वा.) आकाशवाणी मात्रै थियो। बाहिर कसैलाई खबर पठाउनु पर्यो भने त्यही आकाशवाणीमार्फत पठाइन्थ्यो। त्यतिबेला हामीलाई लाग्थ्यो— यसरी नै टाढाटाढासम्म पुर्याउन सक्ने हो भने त बोलेको सुनिँदोरहेछ नि। वास्तवमै यसरी अनुसन्धान गर्दागर्दै आजको यो सञ्चार क्षेत्र विश्वको मानचित्रमा जोडिन पुगेको हुनुपर्छ।
खास यहाँ जोड्न खोजेको कुरा हो— आध्यात्मवाद र भौतिकवाद पहिला पहिला गुरुहरू भन्नुहुन्थ्यो। आध्यात्मवाद भनेको ज्ञानको विकास भौतिकवाद भनेको यो संसारको चरम विकास हुनु हो। यो दुवैको सम्मिश्रण हुने हो भने बल्ल मानवको विकास हुन्थ्यो तर यी दुईको सम्मिश्रण हुनै सकेनन्। ज्ञानको विकास गर्नेले भौतिक विकास गर्न सकेनन्। भौतिक विकास गर्नेले ज्ञानको विकास गर्न सकेनन्। आध्यात्मवादले भन्छ, ‘अष्टादश पुराणषु व्यासस्य वचन द्वयम् परोपकाराय पुण्याय पापाय परपीडनम्’।
अठारै पुराण चार वेदले मानिसको कल्याण गर्नुपर्छ भनेका छन्। सबैको मुख्य उद्देश्य नै त्यही हो। मातृदेवो भव, पितृदेवो भव, अतिथि देवोभव। बसुदैव कुटुम्बकम चराचर आफू समान मान खान नपाएकालाई खानदेऊ बास नपाएकालाई
बास देऊ, दिन दुःखीको सेवा गर, आफूलाई चिमट्दा दुख्छ भने अरूलाई पनि चिमट््दा दुख्छ भन्ने सम्झनुपर्छ भन्ने आध्यात्मवादको मुख्य भाव हो।
भौतिकवादको मतलव हो, कमाऊ खाऊ मोज गर। जीवन छइञ्जेल खाने हिँड्ने बस्ने मोज गर्ने हो। मरेपछि डुमै राजा भने झैं हामी सबै खरानी भएर जाने हो अरू केही छैन भन्ने भाव पैदा भएका हुन्छन्। हुन त भौतिकवादले यातायात सञ्चारको क्षेत्रमा यति चरम विकास गरेका छन्, यो मान्नुपर्छ। यो भौतिकवादको उपलब्धि हो। चन्द्रलोक मंगल ग्र्र्रह जाने अन्तरिक्ष यान बनाए साथै अणु परमाणु बम बनाएर अग्न्यास्त्र क्षेप्यास्त्रहरू निर्माण गरे यो सबै मानव ध्वस्त बनाउन निर्माण गरियो। मानवलाई खतरा नै यही छ।
आध्यात्मवादले मानव कल्याण गर भन्यो भौतिकवादले सारा मानव ध्वस्त हुने बस्तु निर्माण गरिरहेको छ। आध्यात्मवाद र भौतिक वादको वैमनष्य नै यही छ। त्यसकारण यी दुईटाको सम्मिश्रण हुनै सक्दैन भनिएको हो। आध्यात्मवाद र भौतिकवाद परस्परमा एउटा प्रतिद्वन्दी जस्तो देखिए पनि भौतिकवादले आध्यात्मवादको विषयलाई भने पछ्याइरहेको अवश्य छ। आध्यात्मवादले पुष्पविमान चलाएको थियो भने भौतिकवादले वायुमान ल्यायो। त्यतिबेला विष्णु भगवान् गरुडमाथि सवार हुन्थ्यो। वायुपंखी घोडा थिए। त्यतिबेला अन्यास्त्र, ब्रह्मास्त्रजस्ता हतियार थिए।
अहिले अणु परमाणु बम विभिन्न क्षेप्यास्त्रहरू बनाइएका छन्। त्यतिबेला ब्रह्माण्डमा चौध भुवन छन् भनिएको थियो। अहिले त्यसको खोजी भइरहेको छ। सायद चन्द्रलोक मंगलग्रह, बुध, वृहस्पति, शुक्र सौर्यमण्डल, चन्द्रमण्डल आदि हुन् कि ? खैर, यी कुरालाई यही थाँती राखेर हाम्रा नीतिनियम, शास्त्र, धर्मशास्त्र अनि सांस्कृतिक— सामाजिक पक्षलाई हेर्दा हामी अध्यात्मवादको पक्षघर भएको सोझै आकलन गर्न सकिन्छ। हामी जसलाई पश्चिमा भन्छौं, उनीहरू ‘भस्मी भूतस्य देहस्य पुनरागमन कुत’का पक्षघर रहेको पाउँछौं। उनीहरूले हामीलाई सिकाए, पहिला हाम्रो संस्कृत शिक्षा थियो।
जब विश्व सामाजिकीकरण भयो तब अंग्रेजी विश्वभाषा बन्यो। त्यसपछि तिमीहरूको भाषा पुरातन भयो। यसमा रुढिवादी संस्कार भए। यसरी होइन, हाम्रो भाषाले सिकाए झैं सिकेर मानव विषयवस्तु बदल्नु पर्यो भनियो। हो भन्ने लाग्यो र सोहीअनुसार गर्दै गयौं। आफ्ना भाषा, संस्कृति सबै छोड्दै गयौं। उनीहरूका धर्म—संस्कृति अँगाल्दै गयौं। अहिलेको समाज फेरि विस्तारै कोल्टो फेर्दै आयो। विस्तारै ढल्किँदै गयो। मानव समाजले गहिरिएर अध्ययन अनुसन्धान गर्दै गए।
त्यतिबेलाका मानिस कति कोठामा बसेर बाहिर बजारमा भइरहेको कुरा थाहा पाउँथे। फु ! गरेर मान्छेलाई खरानी बनाउँथे। टाउको काटेर फालेको मान्छेलाई अर्काको टाउको ल्याएर गाँसेर बचाउँथे। जसलाई जे होस् भनेर श्राप दियो त्यही हुन्थ्यो। त्यतिबेला कलियुगमा यस्तो हुनेछ भनेर पुराणमा लेखिएको कुरा अहिले आएर भइराखेको छ। भनेपछि यो कुरा ख्यालठट्टाको कुरा होइन रहेछ भनेर अध्ययन मनन् अनुसन्धान गर्न थालियो। जर्मनलगायत कति अन्य राष्ट्रमा पनि अहिले संस्कृत शिक्षाको अध्ययन अध्यापन गराउन थालिएको छ। ट्रम्पका पालामा त अमेरिकाले समेत वेदपाठ गराएर संसद् सुरु गरेको पाइयो। चाहे एउटा घरमात्र किन नहोस्, समाज, राष्ट्र, राज्य, यो विश्व चलाउन नीति चाहिन्छ। जब कुनै नीति हुँदैन, तब भाँडभैलो सुरु हुन्छ हुन्छ। जहाँ नीतिनियममा चल्छ, मान्छे अवश्य त्यो घर, समाज, राष्ट्र र विश्व राम्रोसँग चल्छ। यो निर्विवाद कुरा हो। जहाँ अध्यात्मवादको अध्ययन मनन् हुन्छ, त्यहाँ कसैलाई कसैले कुनै कुरा सिकाउन आवश्यकता नै पर्दैन।
त्यो व्यक्ति स्वयम् सर्वज्ञाता हुन्छ। उसले संसार चिनेको हुन्छ। त्यो विद्वान् बाटो छोडेर कहिल्यै बाहिर जानै सक्दैन। त्यो शिक्षाले त्यसलाई त्यसरी नै बाँधेको हुन्छ। तिनलाई यो संसार कसरी चलाउने थाहा हुन्छ। कुन उपयुक्त कुन अनुपयुक्त सबै थाहा हुन्छ। गम्भीर हुने विषय पनि छ, हामी आफ्ना खुट्टामा नउभिएर अरूकै गोडा मोल्ने, अरूकै शरणमा पर्ने जस्ता दास प्रवृत्तिबाट माथि उठ्न सकेका छैनौं।