सुकुम्बासीको जग्गामा हुकुम्बासीको पुर्जा
(भंगहा) महोत्तरी : महोत्तरीको भंगहा नगरपालिका–४ मा एउटा बस्ती छ। जसको नाम हो, थारुटोल बनरा। जहाँ १२ सय गरिब तथा दलित बस्छन्। त्यहाँ बसेको कम्तिमा पाँच पुस्ता भयो।
तर, २५ वर्षअघि सुकुम्बासी समस्या समाधान आयोगका पदाधिकारीले चलखेल गरेर पूरा बस्ती नै भू–माफियाका नाममा पारिदिए। ती गरिबले खनजोत गरेको करिब ४५ बिघा अर्कैका नाममा पुर्याइदिए। बसोबास गरेको जग्गाको लालपुर्जा पाउन भूमिहीन सुकुम्बासीहरू २५ वर्षदेखि आन्दोलन गर्दै आएका छन्। तर, मागको सम्बोधन भएको छैन।
जो पलपल मरेर बाँचिरहेका छन्
खरपत्तारले छाएको फुसको छाप्रो। भन्नलाई दुई कोठाको घर। तर, कति खेर लड्छ ? त्यसको छैन भर। एउटा कोठाको छानो लडिसकेको। अर्को खस्नलाई तयार छ। त्यही छाप्रोमा जीवन काट्छन् ४० वर्षीय भरत मुसहरको पाँचजनाको परिवार।
पुस्तौनी गरिबको जंजिरमा बाँधिएका छन् भरत मुसहरको परिवार। २५ वर्षदेखि थातथलो गुमेको चिन्ताले उनलाई चिथोरिरहेको छ। भरत भन्छन्, ‘हाम्रो यहाँ पुस्तौंदेखिको बसोबास छ। सुकुम्बासी हामी छौं। हाम्रो जग्गाको अर्कैले लालपुर्जा बनाइसकेको छ।’
उठीबासको चिन्ता
बस्तीका ५५ वर्षीय जागेश्वर सरदार उठीबासको चिन्ताले पिरोलिएका छन्। १ कठ्ठा जग्गा छ। जहाँ उनको पुख्र्यौली बास छ। टायलले छाएको घर छ। तर, त्यो जग्गाको लालपुर्जा अरुले कसरी आफ्नो नाममा बनायो ? उनी छक्क पर्छन्। पुस्तौंदेखि बस्दै आएकाले लालपुर्जा पाएकाहरूलाई थारुटोल
बनराबासीले चिन्दैनन्। जागेश्वर भन्छन्, ‘अब हामी के भनौं ? कसलाई भनौं ? कहाँ जाउँ ? कसैले हाम्रो कुरो सुन्दैन।’
उठीबासको चिन्ताले बस्तीका ४० वर्षीय श्याम सरदारको निद्र्रा हराएको छ। जीवनमा उनले कहिले सोचेका थिएनन् कि आफूबसेको जग्गाको अरुका नाममा लालपुर्जा बन्छ भनेर। तर, उनले नसोचेकै भयो। उनी भन्छन्, ‘मेरो घर त मेरो आफ्नै जमिनमा छ। तर, हामी बसेको जमिन अरूले आफ्नो नाममा गराइसकेको छ।’
दशकौं अघि बस्तीका जीतन राम चमारका पुर्खाले थारुटोल बनरामा जंगल फडानी गरेर बसोबास गरे। तर, अहिले त्यो ६ कठ्ठा जग्गाको लालपुर्जा अरूको नाममा परेको छ। ‘हामी जमानादेखि बसिरहेका छौं’, घर देखाउँदै उनी भन्छन्, ‘अनि लालपुर्जा अरूको नाममा कसरी बन्छ ?’
बस्तीका अर्का बासिन्दा रामधारी सिंह बेचैन छन्। उनको पीडा दर्दनाक छ। थारुटोल बनरामा बसेको बर्सौं भयो। एक बिघा जग्गा छ, ऐलानी। जहाँ तीनवटा घर छन्। खेतबारी छन्। तर, जग्गाको स्वामित्व अर्कैको नाममा छ।
रामधारीका छिमेकी गौरीशंकर सिंह ७३ वर्षका भए। थारुटोलमा उनी बसेको दशकौं भयो। भोगचलन गर्दै आएको १० कठ्ठा जग्गाको स्वामित्व पाएका छैनन्। उनको परिवार बसेको जग्गा पनि अरूले नै पास गराएका छन्। ‘दलालहरू गाउँमा आउँछन्। जग्गा हाम्रो भयो। उठ भन्छन्। हामी भन्छौं, तेरो खेत कसरी भयो ? हामी त। पुर्खौंदेखि बसेका छौं,’ उनी सुनाउँछन्, ‘एकपटक त बैंकको हाकिम पनि आए हाम्रो जग्गा हेर्न। लालपुर्जा हुनेहरूले बैंकमा राखेर कर्जा खान खोजिरहेका छन्।’
अभियन्ताको आपत्ति
हकभोग नरहेको बाहिरका व्यक्तिहरूको नाममा जग्गाको लालपुर्जा वितरण गरिएको पीडितहरूका पक्षमा अभियान चलाइरहेका संघर्ष दाहाल सुनाउँछन्। ‘हेपिएका र सताइएका सुकुम्बासीले काठमाडौं आएर न्याय नपाए पनि टाठाबाठाले गिज्याइरहेका छन्’, उनी भन्छन्, ‘जनप्रतिनिधिहरू सबका सब मै चुप तैं चुपको नाटक मञ्चनमा छन्।’
सबै जानकार छन् तर समाधान छैन
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने थारुटोल बनरामा सुकुम्बासीको नाममा गैरसुकुम्बासीहरूले लालपुर्जा बनाएको प्रशासनमा उजुरी परेकोे बताउँछन्। उनी भन्छन्, ‘जग्गा जोत्ने र बस्नेहरूको नाममा लालपुर्जा नबनेर अर्कै व्यक्तिको नाममा जग्गाहरू दर्ता भएको उजुरी आएको छ।’
भंगहा नगरपालिका–४ का अध्यक्ष गणेश महतो सुकुम्बासी आयोगबाट सुकुम्बासीहरूले भोगचलन गर्दै आएको हिनामिना भएको पुष्टि भएको बताउँछन्। ‘कुन—कुन व्यक्तिको नाममा जग्गा पास भएको छ। आयोगलाई थाहा होला। २०५४ सालमा थारुटोल बनराको कित्ताकाट गरेर यहाँको जग्गाको लालपुर्जा वितरण गरिएको थियो,’ वडाध्यक्ष महतो भन्छन्, ‘यहाँ बसोबास गर्नेहरूको नाममा जग्गा भएन। अरूको नाममा कसरी जग्गा पास भयो। सुन्दै अच्चमित छु। सरकारबाट त्यसको खोजी हुनै पर्छ।’
कसले खाए सुकुम्बासीको जग्गा ?
सुकुम्बासी आयोगका तत्कालीन अध्यक्ष विश्वनाथ लाल कर्णले प्रक्रिया पुर्याएर जग्गा बाँडिएको दावी गरे। उनका अनुसार, आयोगको बोर्डमा तत्कालीन सीडीयो, मालपोत, नापी, भूमिसुधारका, वन, भौतिक अवासको प्रतिनिधिसहितको बोर्डले जग्गा वितरण गरेको थियो। स्थानीय नेताहरूले पनि सुकुम्बासीको नाममा सरकारी जग्गाको लालपुर्जा बनाएको उनले खुलासा गरे। तर, क–कसले लालपुर्जा बनाए ? बताउँन चाहेनन्।
भंगहा नगरपालिका मेयर सञ्जीवकुमार साहले पनि सुकुम्बासीका नाममा गैरसुकुम्बासीले जग्गा लिएको पाइएको बताए। ‘वितरण भएको लालपूर्जा खारेज गर्ने अधिकार हामीसँग छैन’, मेयर साह भन्छन्, ‘जग्गाको विषय हाम्रोे कार्यक्षेत्रभन्दा बाहिरको हो। जग्गा हिनमिनाको विषयमा सरकारले आयोग गठन गर्नुपर्छ। हामी त्यसलाई सघाउँछौं।’
आश्वासन पाए, तर केही भएन
पीडितहरू ऋण खोजेर भदौमा काठमाडौं आए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटे। बिन्ति बिसाए। समस्या समाधानका लागि गृहमन्त्रीले एक साताभित्र छानबिन टोली गठन गर्ने आश्वासन दिए। उनीहरू घर फर्किए। ५ महिना भयो, त्यो पूरा भएन। स्थानीय वीरबहादुर सिंह छक्किएको बताउँदै फेरि काठमाडौं जाने बताउँछन्।
कसको नाममा कति जग्गा सारियो ?
- गौरी शंकर, वीरगञ्ज, १५ कठ्ठा
- शेष नारायण झा, महोत्तरी, एकडारा, १ बिघा
- शत्रुधनप्रसाद कायस्थ, रघुनाथपुर, महोत्तरी, १ बिघा
- दीपेन्द्रप्रसाद साह, पिगौना, १० कठ्ठा
- भिखारी मण्डल, १५ कठ्ठा
- जितेन्द्र ठाकुर, बथनाहा १५ कठ्ठा
- रितादेवी कायस्थ, १५ कठ्ठा
- कामेश्वर चौधरी, भंगहा १० कठ्ठा
- हरिप्रसाद श्रेष्ठ, भोजपुर, टक्सार १ बिघा