स्याउ बगैंचा व्यवस्थापनमा किसान
जोमसोम : हिउँदयाम लागेसँगै हिमाली जिल्ला मुस्ताङका राताम्मे स्याउ बगैंचाहरू पात झरेर उजाड बनेका छन्। भदौदेखि कात्तिकसम्म यहाँको बगैंचाबाट स्याउ टिपिसकेपछि बगैंचाका स्याउ बोट उजाड बनेका हुन्।
स्याउ मुस्ताङ जिल्लाको मुख्य फलफूल बाली हो। कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको मुस्ताङमा यहाँका अधिकांशका किसान स्याउ खेतीमा आत्मनिर्भर छन्। स्याउ खेतीबाट मुस्ताङले बर्सेनि आधा अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्छ। व्यावसायिक तथा जीविकोपार्जनका रूपमा मुख्य आम्दानी स्रोतको रूपमा स्थापित मुस्ताङका किसानले झन्डै आधा शताब्दीदेखि निरन्तर स्याउ खेतीलाई पछ्याइरहेका छन्।
बर्सेनि हिउँदयामको पुस र माघ महिनामा स्याउ बगैंचा व्यवस्थापन तथा काँटछाँट गर्ने र त्यसपछि आंशिक रूपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ। भदौदेखि कात्तिक महिनासम्म मुस्ताङका बगैंचामा लोभलाग्दो लटरम्म स्याउ फल्छन्। अन्य खेतीको तुलनामा कम झन्झटिलो मानिने स्याउ खेतीले मुस्ताङको आर्थिक स्थितिलाई माथि उकास्न महत्त्वपूर्ण योगदान दिएको छ।
पछिल्लो समय कृषिअन्तर्गत स्याउ खेतीतर्फ स्थानीयको आकर्षणसमेत बढ्दै गएको छ। करोडौं रुपैयाँको स्याउ फल्ने स्याउ बगैंचामा मुस्ताङका किसान अहिले बगैंचा व्यवस्थापन गर्न तल्लीन छन्। अक्सर स्याउ बोटबाट स्याउ पोस्ट हार्भेस्ट गरिसकेको केही हप्तामै स्याउ बगैंचाहरू पात झरेर नांगो हुन्छ।
स्याउको उत्पादन, संकलन तथा बजारीकरण गरिसकेपछि हिउँदयामको चिसो मौसममा स्याउ बगैंचा व्यवस्थापन सुरु हुन्छ। स्याउको भरपर्दो र समुचित ढंगले बगैंचा व्यवस्थापन गर्न सके किसानले गुणस्तरीय उत्पादन र राम्रो आम्दानी लिन सक्छन्। मुस्ताङको पाँच स्थानीय तहमा अहिले स्याउ बगैंचा व्यवस्थापन कार्य सुरु गर्न थालिएको छ। यद्यपि उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण स्थानीय बेंसी झर्ने परम्पराले फागुनको १५ गतेसम्म बगैंचा व्यवस्थापन हुन्छ।
पुस महिना लागेसँगै मुस्ताङका किसानले उजाडिएका स्याउ बगैंचामा गोडमेल गर्ने, सिँचाइ गर्ने, मलजल गर्ने, रोग किरा आदिको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र हाँगाबिगाको काँटछाँट गर्ने लगायतका काम गर्न भ्याइनभ्याइ छ। बर्सेनि मुस्ताङका किसानलाई कृषि ज्ञान केन्द्र मुस्ताङ, शीतोष्ण बागवानी विकास केन्द्र मार्फा र सम्बन्धित स्थानीय तहहरूले प्राविधिकको व्यवस्था गरी स्याउ बगैंचा व्यवस्थापन सम्बन्धित तालिम र फिल्डमै पुगेर किसानले स्याउ खेती गर्ने तरिका सिकाउने गर्छन्। यी कार्यालयबाट स्याउ बगैंचा व्यवस्थापनका लागि विषादी छर्किने र काँटछाँट गर्ने तरिका सिकाउने गर्छन्। स्याउ बोटमा पालुवा र कोपिला पलाउनुअगावै स्याउको हाँगाबिगा काँटछाँट गर्नुपर्ने हुन्छ।
स्याउ बगंैचाको बोटलाई फर्मल इन्फेक्सनका कारण बोटमा कटिङको घाउ नबढोस् र प्रकोप नियन्त्रण होस् भन्ने उद्देश्यले स्याउको अनाधिकृत हाँगा काँटछाँट गर्नुपर्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। ‘स्याउ कटिङ गर्दा हावा र घाम स्याउको सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ, विभिन्न स्याउमा लाग्ने रोग संक्रमणलाई प्रतिरोध गर्छ, कार्यालय प्रमुख बस्ताकोटीले भने, ‘स्याउ बगैंचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार बनाउन टेवा पुग्छ।’ उनले प्राविधिकको सिकाइअनुसार गरिएको स्याउ बगैंचा व्यवस्थापनले उत्पादन र गुणस्तर कायम गर्न महŒवपूर्ण योगदान पुग्ने बताए।
स्याउ बगैंचा व्यवस्थापन गर्दा कृषकले स्याउ बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्चर छर्किने गर्छन्। यसो गर्दा स्याउ बोटमा संक्रमण नियन्त्रण गर्छ। पुस महिना सुरु भएसँगै किसानहरू स्याउ बगैंचा व्यवस्थापनमा जुटेको घरपझोङ—४ जोमसोमका किसान अजित थकालीले जानकारी दिए। ‘स्याउ बगैंचाको व्यवस्थापनमा राम्रोसँग गर्न सके उत्पादन र गुणस्तरसमेत वृद्धि हुन्छ, स्याउको बगैंचा व्यवस्थापन गर्ने मुख्य समय पनि यही याममा गर्नुपर्छ, किसान थकालीले थपे,‘ स्याउका लागि आवश्यक उपकरण र विषादीहरू अनुदान मिल्छ, हामीले बगैंचाको राम्रो हेरचार गर्न सके राम्रो आम्दानी लिन सक्छौं।’
उनले स्याउको जथाभावी हाँगाबिँगा काँटछाँट गर्दा उत्पादन र गुणस्तर दुबैमा ह्रास आउने उल्लेख गरे।
बर्सेनि स्याउ बगैंचा व्यवस्थापन गर्दा यहाँका किसानले स्याउका नयाँ बिरुवा लगाउने र स्याउ बिरुवामा अन्य जातका स्याउ बिरुवालाई जोडेर ग्राफ्टिङ गर्ने गरिन्छ। यसरी स्याउ बिरुवालाई ग्राफ्टिङ गर्दा स्याउ बोटमा फरक-फरक जातका स्याउ फल्छन्। अक्सर स्याउ बगैंचा व्यवस्थापनको समयमा एक पटक हिमपात भयो भने स्याउ बगैंचा सप्रिने हुन्छ। हिमपातले स्याउ बगैंचाभित्र जमिनको भित्री तहसम्म सिञ्चित गर्ने र हिउँले स्याउ बोटमा लाग्ने प्रकोप नियन्त्रण गर्नसमेत मद्दत गर्छ। स्याउ बगैंचा व्यवस्थापन गरेपछि चैत्र र वैशाख महिनामा स्याउ बोटमा फूल फुल्ने समय परागसेचन आवश्यकता पर्छ।
स्याउका लागि अनुकूल हावापानी र उचित बगैंचा व्यवस्थापनको संयोजनले मात्रै स्याउको उत्पादकत्व वृद्धि र स्याउको गुणस्तर राम्रो हुन्छ।
मुस्ताङमा पछिल्लो समय १४ सय ९५ हेक्टरमा स्याउ खेती विस्तार भइसकेको छ। जसमध्ये ५ सय ८५ हेक्टरमा लगाइएको स्याउले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। मुस्ताङमा मुख्य गरी उन्तत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस स्याउ उत्पादन हुन्छ। यस्तै उच्च घनत्व प्रविधिमा आधारित (हाईब्रिड) जातका गाला, फुजी, किङरोट, जोनाप्रिन्स, गोल्डेन डेलिसियस र रेड डेलिसियस स्याउ उत्पादन हुने गरेको ज्ञान केन्द्र मुस्ताङको भनाइ छ।
आर्थिक वर्ष २०८०/०८१ मा मुस्ताङमा स्याउबाट ४ हजार ९ सय ७५ टन स्याउ उत्पादन भएको थियो। यसको अघिल्लो वर्ष ५ सय ८० हेक्टरमा लगाइएको स्याउ बोटबाट ६ हजार ५ सय ९६ टन स्याउ उत्पादन भएको थियो। गत ववर्षको तुलनामा यस वर्ष स्याउको फूल फुल्ने समय चैत्र÷वैशाख महिनामा मौसम फेरबदलका कारण स्याउ बोटमा परागसेचन (पोलिनेसन) हुन नपाएपछि स्याउ उत्पादन १ हजार ६ सय २१ टन स्याउ कम फलेको थियो।