बीपीका चिकित्सक र कर्मचारी आन्दोलित, सेवा ठप्प
धरान : चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वास्थ्य सेवा ठप्प भएको छ । उनीहरुको आन्दोलनका कारण उपचारका लागि आएका सयौं बिरामी विनाउपचार घर फर्किएका छन् ।
प्रतिष्ठान व्यवस्थापन पक्षले बढुवा प्रकृया अगाडि नबढाएको भन्दै आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरु प्रतिष्ठानको उपकूपति कार्यालय अगाडि धर्नामा बसेका छन् ।
कर्मचारीहरु बिरामीको पूर्जा काट्ने विल काउण्टर बन्द गरेर धर्नामा बसेका छन् । चिकित्सकहरु बिरामी जाँच्न छाडेर धर्नामा बसेका छन् । चिकित्सक र कर्मचारीहरुले एकैसाथ आन्दोलन थालेपछि प्रतिष्ठानको आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको हो ।
आन्दोलनरत चिकित्सक र कर्मचारीलाई काममा फर्काउन प्रतिष्ठान व्यवस्थापन पक्षले पहल गरेको छैन् । प्रतिष्ठानमा डा.प्रल्हाद कार्की उपकूलपति, डा.संजीवकुमार शर्मा शिक्षाध्यक्ष, सूर्यप्रसाद सर्गौला र डा. जगतनारायण प्रसाद निर्देशक रहेका छन् । तर,यी चारजना पदाधिकारीबीच नै आपसी समन्वय नहुँदा प्रतिष्ठानको अवस्था कमजोर बनेको छ ।
लामोसमयदेखि व्यवस्थापन पक्षले चिकित्सकहरुको बढुवा प्रक्रया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनु परेको प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा.प्रदिप आचार्यले बताएका छन् । उनले प्रतिष्ठानबाट अवकास भइसकेका प्रल्हाद कार्कीलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले कामू उपकूलपतिको जिम्मेवारी दिएका कारण प्रतिष्ठान सञ्चालनमा नै समस्या भएको आरोप लगाए ।
प्रतिष्ठानको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले उपकूलपतिको जिम्मेवारी लिएका कार्कीले कार्यकारिणि समितिको बैठक नबोलाएको र कार्यालयमा समेत नबसेका कारण प्रतिष्ठान सञ्चालनमा गम्भीर समस्या भएको बताइन्। ।
उनले तत्काल प्रतिष्ठानको कार्यकारिणि समितिको बैठक बोलाएर चिकित्सक र कर्मचारीका मागलाई सम्बोधन गर्न माग गरेकी छन् । प्रतिष्ठानको स्वास्थ्य सेवा ठप्प भएको विषयमा कामु उपकूलपति कार्कीलाई फोन गरि बुझ्न खोज्दा उनले फोन उठाएनन् ।