झापाको माइ मेलामा भक्तजनको घुइँचो
झापा : झापाको प्रसिद्ध धार्मिकस्थल कनकाई नदी किनारमा लागेको माइ मेलामा भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन कनकाई नदी किनारमा भव्य मेला लाग्ने गरेको छ ।
धार्मिक आस्था र विश्वास राख्ने भक्तजनहरूले मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिन्छ ।
त्यसैले नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको भक्तजनहरू बताउँछन् । सोमबार बिहानैदेखि कनकाई नदी किनारमा पूजापाठ गर्ने भक्तजनहरूको भीड लागेको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त आयोजनामा नदीको दुवै किनारमा भव्य मेला लगाइएको छ ।
कनकाई पुल पूर्वपट्टि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र कनकाई पुल पश्चिमपट्टि शिवसताक्षी नगर प्रमुख मेघा हाङ थोप्राले मेलाको उद्घाटन गरेका थिए । मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेक डान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातिका झाँकी, कला साहित्य लगायत विविध कार्यक्रम आयोजना गरिएको छ ।
माई मेलामा २ लाख बढी तीर्थयात्री मकर स्नान गर्न आउन सक्ने अनुमान गरिएको आयोजक समितिले जनाएको छ । स्नान गर्न आउने भक्तजनहरूका लागि आयोजक समितिले आगो ताप्ने व्यवस्थापन मिलाएको स्थानीय पत्रकार समीर आलमले जानकारी दिए । उनका अनुसार व्यवस्थापन पहिलाका वर्षभन्दा राम्रो गरिएको छ ।
आयोजक समितिले चार सय बढी स्वयंसेवक परिचालन गरिएको उनले बताए । मेलाका कारण पूर्व पश्चिम राजमार्ग अन्तरगतको कनकाई नदीको पुलमा भीडभाड नियन्त्रणका लागि नदीमै आयोजक समितिले काठको अस्थायी पुल निर्माण गरेको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।
बिर्तामोड र दमकमा कार्यरत दुई जना डीएसपीको नेतृत्वमा दुई सय बढी सुरक्षाकर्मी खटाइएको प्रहरी निरीक्षक गिरीले बताए । अहिलेसम्म मेलामा कुनै अप्रिय घटना भएको बताउँदै उनले भने, ‘कुनै पनि आपराधिक घटना हुन नदिन मेलामा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।’
माई मेलामा झापासहित मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरू आउने गरेको छ।