माघे संक्रान्तिमा कालीगण्डकी किनारमा भक्तजनको भीडभाड
तानसेन: माघे संक्रान्तिको अवसरमा पाल्पा,गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नान तथा ह्षिकेशव भगवानको दर्शन गर्न भक्तजनको भीड लागेको छ । माघे संक्रान्तिको अवसरमा परम्परादेखि नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी,माइली र कान्छी संक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको छ । भक्तजनहरु टाढाटाढाबाट कालीगण्डकीमा बिहानैदेखि स्नान गर्ने र ह्षिकेशव भगवानको दर्शनको लागि जुटेका छन् ।
माघे संक्रान्तिको अवसरमा काली गण्डकीमा स्नान गर्नाले अन्जानमा गरेका सम्पूर्ण पाप नास हुने,मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ । विगतदेखि नै पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, रुपन्देही जिल्लालगायत छिमेकी देश भारतबाट समेत रुरु क्षेत्र रिडिमा कालीगण्डकी स्नान गरी भगवानको दर्शन गर्न जाने परम्परा नै रहेको छ । रुरु क्षेत्रधाम नेपालको चार धाममध्ये एक भएकोले यसको विशेष धार्मिक महत्व रहेको छ ।
माघे संक्रान्तिको रुरु क्षेत्रमा नेपालकै नमूना ३ मुखे पुल विशेष आर्कषण बनेको छ । पाल्पा,गुल्मी र स्याङ्जा ३ वटै जिल्लाबाट पुलमा आवतजावत गर्न सकिन्छ जसको कारण ३ वटै जिल्लामा रहेका धार्मिक तिर्थस्थलहरुको भक्तजनहरुले सजिलै अवलोकन गर्न पाएका छन् ।
रिडीको ३ मुखे पुलमा धार्मिक भक्तजनसँगै फोटो खिच्ने,भिडियो बनाउने युवायुवतीहरुको पनि विशेष भीडभाड रहेको छ । धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी,पाखी,बासबाट उत्पादित विभिन्न किसिमका डाला,पाथी,काइयोलगायतका घरेलु सरसमान,हुम्ला, जुम्लाको ओखको घाँजी जस्ता सरसमान बिक्रीको लागी रुरु क्षेत्रमा आएका छन । धार्मिक मेलामा गुल्मीको गुड,पाल्पाको सुन्तला बिक्रीका लागि राखिएको छ ।