थारू समुदायले थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्छ : प्रचण्ड
![थारू समुदायले थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्छ : प्रचण्ड](https://annapurnapost.prixacdn.net/media/albums/prachanda_SkBAp9k4Ac_HZ3CDtebwN.jpg)
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्। सोमबार काठमाडौंको टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका हुन् ।
उनले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएको कुरामा जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धीहरूसमेत गुम्नसक्नेतर्फ सम्पूर्ण नेपालीलाई सचेत गराए । थारू आयोगले थारूसम्वद्ध नीति निर्माणका लागि सरकार समक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा संचालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामुलक कार्यक्रम सञ्चालन समेत गरिरहेको उनले बताए।
‘थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’भन्ने नारासहित थारू समुदायले टुंडिखेलमा माघी पर्व मनाएका हुन् । महोत्सवमा थारु खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका स्टलहरु रहेका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)