लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
तस्बिर : रासस
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन्। काठमाडौँको टुँडिखेलमा मगर समुदायले माघी पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरंकुशताका विरूद्ध संघर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने जनाउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिए।

प्रधानमन्त्रीले भने,‘शासक वर्गको कठोर निरंकुशता विरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु। यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाको सम्मान हुनेछ।'

यो पर्व सांस्कृतिक विशेषता र विविधतायुक्त मात्र नभएर वैज्ञानिक मान्यतामा आधारित रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘प्रकृतिवादी समुदाय हुनुको नाताले मगर समुदायका आफ्ना गतिविधि, परम्परा र संस्कृति प्रकृतिमा आधारित रहने गर्दछन। माघी पर्व, उधौली–उभौली जस्ता संस्कृतिहरू मगर समुदायले ऐतिहासिक परम्परा र जीवनवृत्तिमा आधारित छन्।’

प्रकृतिको सम्मान स्वरूप पूजापाठ गर्ने, आफ्नो पितृलाई सम्झने–पूज्ने र चेलिबेटीलाई आफ्नो घर बोलाएर मिष्ठान भोजन खुवाउने प्रचलन मगर समुदायमा रहिआएको छ।

माघी पर्व शिकारी युगबाट कृषि युगमा प्रवेशको संक्रमणपूर्व प्रकृतिमा पाइने तरूल, भ्याकुर, कन्दमुल जस्ता परिकार खुवाउने, आशिर्वाद दिने जस्ता कार्यहरू हुने भएकाले माघे सङ्क्रान्ति मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्व रहेको उनको कथन छ।  सोही यथार्थलाई सम्बोधन गर्न आफ्नो नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय बिदा दिने निर्णय गरेको समेत उनले स्मरण गरे।

भौगोलिक रूपले यति सानो मुलुकमा हामीले जातीय, भाषिक, सांस्कृतिक रूपमा जुन विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति भएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री दाहालले माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्ने बताए।

नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको अग्रणी भूमिका र योगदान रहँदै आएको स्मरण गर्दै प्रधानमन्त्रीले  भने, ‘आज हामीले पहिचान र अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली प्राप्त गरेका छौँ, त्यसको पृष्ठभूमिमा नेपालका प्रथम सहिद लखन थापा लगायतका क्रान्तिकारी योद्धाको बलिदान महत्वपूर्ण छ।’

प्रधानमन्त्रीले पछिल्लो समय देशको अर्थतन्त्रले चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेकाले माघी पर्वका सन्दर्भमा सरकारको सहयोग रहोस् भन्ने माग सम्बोधन गर्न नसकिएको यथार्थ प्रस्तुत गरे।  उनले भने, ‘मेरो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधार ल्याउन गरेको लगातारको प्रयासले अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। आगामी वर्ष अर्थतन्त्रमा गुणात्मक सुधार आउनेछ। त्यसले तपाईहरूले उठाउनुभएको माग सम्बोधन गर्नसमेत सहज हुने मैले विश्वास लिएको छु।’  - रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.