मोरङमा प्राङ्गारिक मल र बायोग्यास उद्योग सञ्चालनमा
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा प्राङ्गारिक मल तथा बायोग्यास उद्योग सञ्चालनमा ल्याइएको छ। प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग जीवन विकास समाजले १० करोड रुपैयाँ लागतमा सञ्चालनमा ल्याएको हो।
यसै अवसरमा दूध संकलनका लागि ‘जीवन विकास डेरी दूध संकलन केन्द्र’को पनि सुरु गरिएको छ। संघीय सांसद योगेन्द्र मण्डलले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान अनुरूप प्राङ्गारिक मल उद्योग स्थापना गरेर सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहाकारलाई कम गर्छ,’ उनले भने, ‘प्राङ्गारिक मलले माटोको उर्वराशक्ति पनि बढाउँछ।’ मुलुकमा यो वर्ष ८ लाख टन रासायनिक मल आवश्यक पर्ने बताउँदै प्रतिनिधिसभा सदस्य मण्डलले ४ लाख टन ल्याउँदा ३३ अर्ब खर्च भइसकेको उल्लेख गरे।
उनका अनुसार राज्यले योजना बनाउने हो भने तीन वर्षभित्रमा नेपाललाई रासायनिक मलमुक्त गर्न सकिन्छ। ‘युरिया र डीएपी खरिदका लागि छुट्ट्याइएको बजेट बराबरको लगानी गरेमा तीन वर्षभित्र पर्याप्त प्राङ्गारिक मल उत्पादन गर्न सकिन्छ। उत्पादन लागत पनि सस्तो पर्छ,’ उनले भने।
कोशीका प्रदेशसभा सदस्य गयानन्द मण्डलले प्राङ्गारिक मलको प्रयोगका लागि राज्यले किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए। प्राङ्गारिक मलको प्रयोग बढाएर मुलुकलाई रासायनिक मलमुक्त गर्नुपर्ने प्रदेश सांसद मण्डलको भनाइ छ। जीवन विकासले स्थापना गरेको उद्योगको दैनिक आठ टन प्राङ्गारिक मल र १ सय ५० सिलिन्डर बायोग्यास उत्पादन गर्ने क्षमता छ। उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले बायोग्यासभन्दा पनि मल उत्पादनलाई उद्योगले प्राथमिकतामा राखेको जानकारी दिए। उनका अनुसार उत्पादित ग्यास जीवन विकास डेरी र दूधवाला डेरी फार्मले प्रयोग गर्ने छन्।