‘धामी हुँदा चाहियो, बिरामी पर्दा बेवास्ता’
वीरेन्द्रनगर : कालीकोटको पचालझरना गाउँपालिका–५ बाँचकोटका देउमले नेपाली गाउँको देहडु देवताका धामी हुन्। १८ वर्षको उमेरदेखि धामी बनेका उनी अहिले ६२ वर्षका भए।
उनले हरेक वर्ष देहडु देवताको पूजाका बेला फलामे लुवा लौरी (६ सुते सरिया) काँधमा राखेर भाँच्ने कला देखाउँदै आए। उनै नेपाली यति बेला भने मुटु रोगका कारण थला परेका छन्। उनले गत वर्ष कालापहाड (भारत) गएर मुटुको परीक्षण गराएका थिए। कालापहाडमा काम गर्दै, कमाउँदै उपचार गरे। केही सुधार भएपछि घर फर्किए। उनी अहिले औषधि खाइरहेका छन्।
उनकी श्रीमती चल्ली नेपालीमा पनि गत साउनदेखि टाउको दुख्ने, वाकवाक हुने, शरीर दुख्ने, बेहोस हुनेजस्ता समस्या देखिए। गाउँको स्वास्थ्य संस्था र मेडिकलमा उपचार गराए तर निको भएन। त्यसपछि सुर्खेत आए। वीरेन्द्रनगर नगरपालिका–२ मा विवाह गरेर गएकी छोरीले भाडामा लिएको कोठामा बसेर दुवै जनाले प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षण गराए। डाक्टरहरूले मुटुमा समस्या रहेको पत्ता लगाए ।
काठमाडौंबाट एक नर्सिङ होममा मुटुको विशेषज्ञ डाक्टर आएको सूचना पाएपछि त्यहाँ पुगेर उनीहरूले थप परीक्षण गराए। त्यहाँ डाक्टरले चल्लीको मुटुको भल्ब खुम्चिएको समस्या देखाए। तत्काल काठमाडौं गएर अप्रेसन गराउन सुझाए। तर, उनीहरूसँग काठमाडौं गएर उपचार गर्न पैसा छैन।
‘मैले जीवनमा देवताको शक्ति देखाएर धेरै समस्या बोकेर आउने मानिसको समस्या टारेको थिएँ। तर, रोग लागेपछि देवताले पनि केही गर्न नसक्ने रहेछन्’, देउमलेले भने, ‘अहिले आफैं मुटु रोगबाट पीडित भएपछि उपचार गराउनै नसक्ने अवस्थामा पुगेको छु। राति कोठामा एकातिर आफ्नो बिरामले पीडा दिन्छ। अर्कोतिर श्रीमती बारम्बार बर्बराउने, बेहोस हुने जस्ता समस्याले बाँच्ने आशा नै कम हुँदै गएको छ।’
डाक्टरले भनेअनुसार श्रीमतीको तत्काल अप्रेसन नगरे ‘जे पनि हुन सक्ने’ उनले बताए। उनको अप्रेसनका लागि ५ देखि ७ लाखसम्म खर्च लाग्ने अनुमान छ। तर, आफूसँग काठमाडौं जाने भाडा पनि नभएकाले उपचारको कुराको परै रहेको उनले गुनासो गरे।
‘गाडी भाडा सहयोग पाइन्छ कि भनेर पचालझरना गाउँपालिकामा जाँदा मेरो कुरा कसैले सुनेनन्। सहयोग पनि पाइएन। गाउँमा जनप्रतिनिधिहरू सहयोग गर्नका लागि पनि आफूलाई भोट हाले नहालेको भनेर हेर्छन्’, उनले भने, ‘हामी दलित उपेक्षित निमुखा मानिसको कुरा कसैले सुन्दैनन्। कहाँबाट आफूलाई फाइदा हुन्छ तिनैको काम गर्छन् र उनीहरूकै कुरा सुन्छन्।’
उनका अनुसार ‘गाउँका सिंहदरबार’का प्रमुखहरू दलितका कुराभन्दा बढी दलालका कुरा सुन्छन्। ‘भोट माग्ने बेला दलित समुदायको हितका लागि काम गर्ने भनेर झुटा आश्वासन दिनेहरू आफू ठाउँमा पुगेपछि भेट्नका लागि पनि समय दिँदैनन्’, उनले भने, ‘देवताको पूजाको बेला धामीलाई खुसी बनाउन कपडाको पगडी लिएर आउनेहरूले अहिले बिरामी पर्दा गाडी भाडा दिएनन्।’
बर्सेनि खेतीपाती र कालापहाडको भरमा परिवार पाल्ने नेपालीको परिवार आर्थिक रूपमा कमजोर छ। ‘हामीलाई पेट पाल्नकै लागि काम गर्न कालापहाड जानुपर्छ। लाखौं रुपैयाँ खर्चेर उपचार गर्न सक्ने हाम्रो अवस्था छैन’, उनले भने, ‘तर यति चाँडै मर्न पनि मन छैन। केही वर्ष बाँच्ने रहर छ। हाम्रो उपचारका लागि कोही दैव फेला पर्लान भनेर आशा गरिरहेका छौं।’
उनी हरेक पूजाका बेला ‘सबैको भलाइ’का लागि एक छाक खाएर शुद्ध भएर बस्थे। आफूले मात्र नभई श्रीमतीले पनि एक छाक खानुपर्ने बाध्यता थियो। ‘यस्तै खानपीन र बसोबासका कारण हामी अन्ततः रोगी बन्यौं’, उनले भने, ‘उपचार गर्न नसकी मर्नु र बाँच्नुभएको छ।’ आफ्नो दम्पतीको उपचारका लागि सक्दो सहयोग गरिदिन उनले सबैलाई अपिल गरेका छन्।