बाटो बिना बनाइएको वाल्मिकी आश्रम जोड्ने पुल २ वर्षदेखि प्रयोगविहीन
पूर्वी नवलपरासी : बाटो निर्माणका लागि ढिलासुस्ती हुँदा वाल्मिकी आश्रम पुग्नका लागि निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन बनेको छ। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीबाट वाल्मिकी आश्रम पुग्नका लागि यो पुल निर्माण गरिएको हो। नारायणी नदीमाथि बनाइएको पुल २ वर्षअघि सम्पन्न भए पनि सरकारी उदासिनताले बाटो बनाउन पहल नगर्दा प्रयोगविहीन बन्न पुगेको हो।
२०७१ सालबाट सुरु गरिएको पुल निर्माणको काम २०७८ मा सकिएको हो। ६ करोड ७४ लाखको लागतमा ४ सय ७९ मिटर लामो पुल बनेको हो। सुरुमा बाटो नबनाई पुल बनाइएकाले पुल प्रयोगविहीन बनेको हो। पुल हुँदै वाल्मिकी आश्रम पुग्नका लागि चितवन राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र प्रयोग गर्नु पर्दछ। निकुञ्ज क्षेत्र भएकाले बाटो बनाउन अनुमति लिनुपर्ने धेरै मन्त्रालय भएका कारण अहिलेसम्म बाटो बनाउन नसकिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।
‘बाटो बनाउनका लागि फाइल लैजाँदा कहिले अर्थले रोक्छ, कहिले भौतिक मन्त्रालय त कहिले शहरी विकासले रोकिदिंदा पुल सञ्चालनको तयारी अवस्थामा रहँदा रहँदै पनि बाटो नहुँदा उद्देश्यअनुरुप सञ्चालनमा आउन सकेको छैन। ’, अध्यक्ष गिरीले भने। अन्तर मन्त्रालयबीच समन्वय नहुँदा समस्या आएको गिरीको भनाइ छ। पुलमा अहिले दैनिक ५ सयदेखि १ हजारको हाराहारीमा पर्यटक पुगेर फोटो खिच्ने गरेको गिरीले बताए। 'उद्देश्यअनुरुप पुल सञ्चालनमा नआए पनि आन्तरिक र भारतीय पर्यटकका लागि फोटो खिच्ने रोजाइँको स्थानका रुपमा परेको छ।’ गिरीले भने।
पुल सञ्चालन भए आन्तरिक मात्र नभई राष्ट्रिय आयमासमेत ठूलो सहयोग पुग्ने भएकाले तत्काल बाटो निर्माणलाई अघि बढाउनु पर्ने अध्यक्ष गिरीको भनाई छ।
वाल्मिकी आश्रम चितवन जिल्लाको माडी नगरपालिका–१ को निकुञ्ज जंगल क्षेत्रमा रहेको छ। त्यहाँ पुग्नका लागि चितवनबाट जाने बाटो छैन। पश्चिम नवलपरासीको बर्दघाटदेखि पूर्वी नवलपरासीको त्रिवेणी हुँदै भारतको बिहार प्रदेशस्थित भैंसालोटनको बाटो भएर जानुपर्ने बाध्यता छ। आफ्नै भूमिमा रहेको ऐतिहासिक धार्मिक स्थलमा पुग्नका लागि पनि भारतीय भूमि भएर जानुपर्ने बाध्यता भएपछि त्यहाँ पुल निर्माण गरिएको हो। पुल सञ्चालनमा आए वाल्मिकी आश्रम ३ कि.मि.को दुरीमा पुगिन्छ। तर बाटो बनाउन सरकारी उदासिनताले ढिला हुँदा करिब १० कि.मि.को भारतीय भूमिको जंगल क्षेत्र भएर जानुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष गिरीले बताए।
निकुञ्जको जंगल हुँदै ट्रयाक खोल्नका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ। ‘ आज मात्र मन्त्रालयमा फोन गरेको थिएँ। पदमार्ग बनाउनका लागि सबै प्रकृया पूरा भएको र शहरी विकास मन्त्रालयबाट विनियोजन भएको २० लाख रुपैयाँ एक हप्ताभित्र पठाउने जानकारी आएको छ। अब केही दिनमा बाटो बनाउने काम सुरु होला।’,अध्यक्ष गिरीले भने।
पदमार्गका रुपमा रहने बाटो ४ मिटर फराकिलो हुने छ। ‘पदमार्ग भए पनि धार्मिक स्थल भएकाले वृद्ध वृद्धाहरु हिंडेर जान सक्दैनन् त्यसैले अटो र साना सवारी साधन जान सक्ने गरी बाटो निर्माण गर्छौं। ’, अध्यक्ष गिरीले भने। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले आश्रम पुग्नकै लागि पुल बनेकाले सबै प्रकृया पूरा भएपछि ट्रयाक खोलिने बताए।
‘सम्बन्धित सबै निकायबाट सहमति जुटिसकेको छ। केही दिनमा रकम आएपछि काम सुरु हुन्छ।’, तिवारीले भने। निकुञ्जले नै ट्रयाक खोल्ने काम अघि बढाउने सूचना अधिकारी तिवारीले बताए।
वाल्मिकी आश्रम, ऋषि वाल्मिकीले रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेको स्थलका रुपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ। त्रेता युगमा रामले सीतालाई त्याग गरेपछि वाल्मिकी आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमूनी विलिन) ) गरेको स्थानका रुपमा पनि यो स्थल रहेको धार्मिक मान्यता छ। आश्रमको सरकारी स्तरबाट बेवास्ता गरेपछि २०५४ सालमा ‘विश्व सनातन धर्म स्थापनार्थ मूल समिति’ गठन गरी संरक्षण थालिएको छ।