आइभीएफ प्रविधिबाट उपचार गराएकी महिलाले जन्माइन् तिम्ल्याहा बच्चा
वीरगन्ज : वीरगन्जको छपकैयास्थित सूर्या अस्पतालमा उपचार गराएकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले आइभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) प्रविधि’बाट उपचार गरेकी महिलाले सोमबार तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। जन्मिएका तिम्ल्यहा बच्चामा दुई छोरी र एक छोरा रहेका छन्।
विगत १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका-७ की महिलाले डा. मोनिकाले गरेको आइभीएफ उपचारपश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डा. सरोज सिंहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिए।
महिलाले जन्माएकी तिनै जना शिशु स्वस्थ रहे पनि थप सावधानीका लागि उनीहरूलाई अस्पतालस्थित एनआइसीयू वार्डमा बाल रोग विशेष डा. कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको डा. सरोजले बताए। ‘एउटा शिशु अढाई किलो र अर्का दुई जना डेढ-डेढ किलोका छन्। उनीहरूलाई हामीले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिरहेका छौँ,’ डा. सरोजले भने, ‘आमाको स्वास्थ्य पनि राम्रो छ। शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ।’
मधेस प्रदेशमा एक मात्र आइभीएफ सेन्टरका रूपमा रहेको सूर्या अस्पतालमा यसअघि पनि आइभीएफ विधिबाट उपचार गराएका दम्पतीहरूले सन्तान प्राप्ति गरिसकेका छन्। पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म ३५ वटाभन्दा पनि बढी दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले बताए।