महोत्तरीका विद्यालयमा जाडो बिदा लम्बियो
महोत्तरी : पछिल्लो समयमा तराईका जिल्लामा चिसो बढ्न थालेको छ। बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ। पछिल्लो एक सातायता महोत्तरीमा घाम झुल्केको छैन।
जाडो अत्याधिक बढेपछि महोत्तरीका दुई पालिकाले जाडो बिदाको अवधि बढाएका छन्। जिल्लाको गौशाला नगरपालिका र पिपरा गाउँपालिकाले यसअघि दिएको एक साताको जाडो बिदा दुई दिन बढाएको हो।
दुई पालिकाले मंगलबार सूचना प्रकाशन गरी सामुदायिक विद्यालयमा बुधबार र बिहीबार बिदा बढाएको हो। शुक्रबार मधेसमा बलिदानी दिवसको सार्वजनिक बिदा भएकाले अब ती पालिकाका सामुदायिक विद्यालय आइतबारबाट मात्रै सञ्चालनमा आउने छन्।
अत्याधिक जाडो बढेपछि सामुदायिक विद्यालयको जाडो बिदामा दुई दिन थप गरिएको शिक्षा शाखा अधिकृत सञ्जयकुमार सिंहले बताए। यस्तै पिपरा गाउँपालिकामा मंगलबार बसेको प्रधानाध्यापकहरूको बैठकले जाडो बिदा दुई दिन थप गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार पिपरा गाउँपालिकाको कार्यालयले सार्वजानिक सूचना जारी गर्दै जाडो बिदाको अवधि बढाएको हो।