अस्पताल नपुग्दै कर्णालीमा जान्छ गर्भवतीको ज्यान
वीरेन्द्रनगर : गर्भवती तथा सुत्केरीको ज्यान जोगाउन सरकारले निःशुल्क हवाई उद्धारको सुविधादेखि गाउँ–गाउँमा बर्थिङ सेन्टर र यातायात खर्चको व्यवस्था गरेको छ। तर, कर्णाली प्रदेशमा सन्तान जन्माउँदा आमाले ज्यान गुमाउनुपर्ने अवस्था टरेको छैन।
स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुँदा गत असारमा जाजरकोट कुशेकी नारायणकली रोकायको मृत्यु भयो। चौथो सन्तानलाई जन्म दिएकी उनको समयमै साल नझर्दा ज्यान गएको हो। यस्तै असुरक्षित तवरले घरमै बच्चा जन्माउँदा गत वर्ष साउन दोस्रो साता अत्यधिक रक्तस्राव भएर रुकुमपश्चिमकी २० वर्षीया सुशीला बीसीको मृत्यु भयो। श्रीमान् अर्की श्रीमतीसँग भारत ‘भागेपछि’ उनी घरपरिवारसँग बस्दै आएकी थिइन्। घरबाट आधा घण्टा पैदल दूरीमा रहेको प्रसूति गृहमा नगएर उनी घरमै सुत्केरी भएकी थिइन्।
कालीकोटको रास्कोट नगरपालिका–२ सिप्खानाकी २८ वर्षीया सीता सार्कीको रक्तस्राव नरोकिएपछि २०७८ भदौ ४ गते मृत्यु भयो। उपचार गर्न लगिएको स्वास्थ्यचौकी सिपखानाले रास्कोटमै रहेको सामुदायिक अस्पतालमा रिफर गरेको थियो। त्यता लैजाँदै गर्दा सार्कीको मृत्यु भएको हो। उनका नाबालक छोराको पनि ज्यान गयो। सुरुमा व्यथा लाग्दा घरमा कसैले पनि थाहा पाएनन्। जटिल बनिसकेपछि स्वास्थ्यचौकी लैजाने तयारी गर्दागर्दै उनले घरमै बच्चालाई जन्म दिएकी थिइन्।
कालीकोटकै नरहरीनाथ गाँउपालिका–७ माल्कोट निवासी मीना शाहीको त्यही वर्ष चैतमा घरमै सुत्केरी हुँदा अत्याधिक रक्तश्रावका कारण मृत्यु भयो। २०७७ साउन ९ गते नरहरीनाथ गाउँपालिकाकै रप्साकी ३० वर्षीया देवी सहकारीको पनि अत्यधिक रक्तश्रावका कारण निधन भयो। जिल्ला अस्पताल कालीकोटमा भर्ना भएकी सहकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरिएको थियो। प्रतिष्ठानतर्फ लैजाँदै गर्दा कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा उनको मृत्यु भएको थियो।
दैलेख ठाटीकाँध गाउँपालिका–१ की २२ वर्षीया पार्वती शाहीलाई २०७९ भदौ १२ गते सुत्केरी व्यथाले च्याप्यो। हतार–हतार प्राथमिक स्वाथ्य केन्द्र लकान्द्रा लगियो। उनले स्वास्थ्य केन्द्र पुग्नेबित्तिकै छोरी जन्माइन्। अत्यधिक रक्तस्राव हुन थालेपछि स्वास्थ्य केन्द्रले जिल्ला अस्पतालमा खबर गर्यो। जिल्ला अस्पताल दैलेखमा पनि उपचार नहुने बुझेपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा लैजान भनियो। तर, एम्बुलेन्स पाइएन। बल्लतल्ल एउटा सवारी साधन फेला पर्यो। त्यसैमा राखेर उनलाई सुर्खेत लगियो। अस्पतालको गेटमा नपुग्दै शाहीको निधन भयो।
कालीकोटको पचालझरनामा गाउँको स्वास्थ्यचौकीमा प्रसूति गराउन नसकेपछि रिफर गरिएकी महिलालाई स्टेचरमा सदरमुकाम पुर्याउँदै। तस्बिर : बिस्नप्रसाद न्यौपाने
सुर्खेतको गुर्भाकोट नगरपालिका–७ की लक्ष्मी परियारलाई सुत्केरी व्यथाले च्यापेपछि परिवारका सदस्यले प्रदेश अस्पताल ल्याए। तर, उनलाई अस्पताल ल्याइपुर्याउन ढिलो भयो। अस्पताल ल्याएर जाँच गर्दा लक्ष्मीमा उच्च रक्तचापको समस्या देखियो। चिकित्सकले तत्काल शल्यक्रिया गर्ने निधो गरे। यद्यपि उनको शल्यक्रिया गर्दा गर्दै मृत्यु भयो।
यसरी कर्णाली प्रदेशमा पछिल्लो ५ वर्षमा ९० जना सुत्केरी तथा गर्भवती महिलाले ज्यान गुमाएका छन्। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा आर्थिक वर्ष २०७५/७६ मा १३, २०७६/७७ मा २१, २०७७/७८ मा २०, २०७८/७९ मा १७ र २०७९/८० मा १९ जनाको मृत्यु भएको हो। यसरी सुत्केरी आमाले ज्यान गुमाउने घटना नरोकिनुमा अनेक कारण छन्। नजिकैका स्वास्थ्यचौकीमा प्रसूति सेवा नहुनु, प्रसूति सेवा उपलब्ध स्वास्थ्य संस्थासम्म पुग्न यातायात सुविधा नहुनुलगायत छन्। घरमै सुत्केरी गराउन खोज्नु, दक्ष स्वास्थ्यकर्मी तथा उपकरण अभाव हुनु र घरपरिवारले पूर्वतयारी नगर्नुजस्ता कारणले पनि दुर्गमका अधिकांश सुत्केरी अकालमै ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्त भएका छैनन्।
‘कर्णालीमा प्रायः भौगोलिक विकटता, यातायातको असुविधा र परिवारको लापरबाहीका कारण बर्सेनि सुत्केरीको अस्पताल नपुग्दै ज्यान जान्छ’, प्रदेश स्वास्थ्य निर्देशनालयकी वरिष्ठ नसिङ अधिकृत दीपा भट्टराई भन्छिन्, ‘गाउँमा सञ्चालनमा रहेको बर्थिङ सेन्टरमा पनि आवश्यक सामग्रीको अभाव छ। ग्रामीण क्षेत्रका महिला अहिले पनि समयमै प्रसूति सेवा लिन अस्पताल जाँदैनन्।’
उनका अनुसार अकालमै सुत्केरीको ज्यान जानुमा धरै पक्षको कमजोरी छ। पहिलो त स्वयम व्यक्ति, दोस्रो परिवार, तेस्रो स्वास्थ्यकर्मी र चौथो सरकार।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. संकेत विश्वकर्माका अनुसार कर्णालीमा भौगोलिक विकटता छँदैछ, त्यसबाहेक प्रायः गर्भवतीले घरमै बच्चा जन्माउन खोजेको पाइन्छ। स्वास्थ्य संस्थामा नियमित ८ पटक स्वास्थ्य परीक्षण गराउँदैनन्। समस्या नआउँदासम्म अस्पताल सम्झिँदैनन्। परिवारले पनि प्रसूति सेवा लिन अस्पताल लैजान चाँसो दिँदैनन्। स्वास्थ्यकर्मीले पनि गर्भवतीलाई सुत्केरी हुने समय आउन लाग्दा स्वास्थ्य संस्था आउनुस् भनेर फलोअप गर्दैनन्। यस्ता समस्याले मातृ मृत्युदर कम हुन नसकेको उनको भनाइ छ।
‘ढिलो स्वास्थ्य संस्थामा पुग्नु, नियमित गर्भ जाँच नगर्नु, स्वास्थ्य संस्थामा आवश्यक उपकरण र दक्ष जनशक्ति नहुनु तथा पूर्वतयारीको अभाव मृत्युका कारण बनेका छन्’, डा. विश्वकर्मा भन्छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का धेरैजसो गर्भवती तथा सुत्केरीको मृत्यु घरमा, स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमा र अस्पतालमा हुने गरेको सुनाउँछन्। ‘गाउँका स्वास्थ्य संस्था र बर्थिङ सेन्टरहरू सुविधासम्पन्न छैनन्’, उनी भन्छन्, ‘प्रसूति सेवा दिने तालिमप्राप्त दक्ष जनशक्तिको अभाव पनि छ। गर्भवती तथा सुत्केरी भइसकेपछि हुने हेलचक्याइँले गर्दा पनि कत्तिको ज्यान गएको अवस्था छ।’
गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने चेतना नहुँदा गर्भवती तथा सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको उनको भनाइ छ। सरकारी सेवा सुविधासम्बन्धी जानकारीको अभाव, घरपरिवारको लापरबाही, घरमै सुत्केरी हुने चलन, हेलचक्याइँ र छोराको आशमा धेरै सन्तान जन्माउन खोज्दा गर्भवती तथा सुत्केरीको मृत्यु हुने गरेको छ।
ज्यानै जाने गरी किन हुन्छ रक्तस्राव ?
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ललितजंग शाहीका अनुसार गर्भ रहेको सुरुवाती अवस्थामा बच्चा पाठेघरमा नबसेर नलिमा बस्नु वा पहिलो बच्चा नलीमा बसेको छ भने दोस्रो बच्चा पनि नलीमा बस्नु, पाठेघरमा संक्रमण हुनु, गर्भपतन वा साल बिग्रेको अवस्थामा पनि रक्तस्राव हुन सक्छ। कतिपय महिलामा रगत नजम्ने समस्याले पनि बढी रक्तश्राव हुने अवस्था हुन्छ।
यस्तो अबस्थामा समयमै उपचार नपाउँदा गर्भमा रहेको बच्चा र आमा दुबैको ज्यान जान सक्ने सम्भावना रहन्छ। यो गर्भ रहेको पहिलो तीन महिनाको अवधिमा हुने जटिलताहरू हुन्। यस्तै, सुत्केरी भइसकेपछि भएको रक्तस्रावले पनि कर्णालीमा बर्सेनि महिलाहरूको ज्यान गैरहेको छ। बच्चा जन्मिसकेपछि पाठेघर सामान्य अवस्थामा आउन समय लाग्छ। त्यसैले पाठेघर नखुम्चिनु धेरै बच्चा जन्मिनु, महिलाको उमेर धेरै हुनु, पाठेघरको नलीमा चोट लाग्नु वा पाठेघरको मुख च्यातिनु, शल्यक्रिया गरेकोे घाउबाट धेरै रगत बग्नु, ठूलो सालसँग जोडिएर बसेको सानो सालभित्रै छुट्नु जस्ता कारणले रक्तस्राव भएर आमाहरूको ज्यान गइरहेको छ।
यस्ता समस्याबाट बच्न नियमित गर्भ जाँच गर्न, गरुंगो सामान नउचाल्न, लामो यात्रा नगर्न, स्वास्थ्यकर्मीसँग परामर्श लिन, स्वास्थ्य संस्थामै सुत्केरी गराउन, यातायातका साधनको तयारी गर्न, पैसाको जोहो गरेर समयमै अस्पताल पुर्याउन उनको सुझाव छ। सुत्केरी व्यथा लागेपछि समयमै उपचार नपाउनु, कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य संस्था तथा परिवारको हेलचक्र्याइँ लगायतका कारण पनि कर्णालीमा महिलाहरू बच्चा जमाउँदा नै असुरक्षित हुने गरेका छन्।
कर्णालीमा प्रायः भौगोलिक विकटता, यातायातको असुविधा र परिवारको लापरबाहीका कारण बर्सेनि सुत्केरीको अस्पताल नपुग्दै ज्यान जान्छ ।
– दीपा भट्टराई, वरिष्ठ नर्सिङ अधिकृत, प्रदेश स्वास्थ्य निर्देशनालयप्रसूति सेवा दिने तालिमप्राप्त दक्ष जनशक्तिको अभाव पनि छ। गर्भवती तथा सुत्केरी भइसकेपछि हुने हेलचक्याइँले गर्दा पनि कतिको ज्यान गएको अवस्था छ।
– डा. रविन खड्का, निर्देशक, प्रदेश स्वास्थ्य निर्देशनालयढिलो स्वास्थ्य संस्थामा पुग्नु, नियमित गर्भ जाँच नगर्नु, स्वास्थ्य संस्थामा आवश्यक उपकरण र दक्ष जनशक्ति नहुनु तथा पूर्वतयारीको अभाव हुनु सुत्केरी मृत्युका कारण हुन् ।
– डा. संकेत विश्वकर्मा, प्रमुख, स्वास्थ्य सेवा कार्यालय कालीकोट
निःशुल्क हवाई उद्धारले राहत
कर्णालीका कालीकोट, हुम्ला, मुगु, जुम्ला, डोल्पालगायत विकट जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भएपछि धेरै महिलाले राहत पाएका छन्। गाउँका स्वास्थ्य संस्था सुविधासम्पन्न छैनन्। तालिमप्राप्त दक्ष जनशक्तिको सुबिधा नभएका विकट जिल्लामा बिशषेज्ञ स्वास्थ्य सेवा पाउने त कुरै भएन।
गाउँका गम्भीर बिरामीले अस्पताल देख्न नपाउँदै परान त्याग गथ्र्ये। कति महिलाले बिरामी भएको खबर आफन्तलाई सुनाउन नपाउँदै मृत्युवरण हुनुपर्ने बाध्यता थियो। तर, कर्णालीमा गर्भपवति तथा सुत्केरीको अवस्था जटिल बनेपछि गाँउमै हेलिकप्टरबाट उद्धार हुन थालेपछि अकालमा ज्यान गुमाउनबाट केही हदसम्म जोगिन थालेका छन्।
दुर्गमका गर्भवती तथा सुत्केरी महिलालाई हवाई सेवाबाट निःशुल्क उद्धार गर्ने कार्य २०७६ सालमा थालियो। कर्णालीका ९ जिल्ला, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका समेत केही जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत बेस बनाएर उद्धार गर्ने कार्य थालेको हो। नेपाली सेनाको पश्चिम कमाण्ड पृतना सुर्खेतका सूचना अधिकारी मेजर रेनु शाहाका अनुसार २०७६ सालयता सेनाले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हालसम्म १ सय ९७ महिलाले निःशुल्क हवाई उद्धार सेवा पाए। जसमा कर्णालीका ९ जिल्लाका मात्र १ सय ३७ जना गर्भवती छन्।
महिलाको हक अधिकार सुनिश्चित गर्दै राष्ट्र निर्माणको प्रत्येक तहमा समान सहभागिताको व्यवस्था गर्न, सबै प्रकारका हिंसा, शोषण र विभेदको अन्त्य गरी महिला सशक्तीकरणलाई प्रभावकारी ढंगले अगाडि बढाउन सुरु थरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमले कर्णालीका महिलाहरूको परान पनि बचायो।
राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७३ बनेपछि २०७३ फागुन २४ गतेबाट ३५ जिल्लामा यो कार्यक्रम सञ्चालन भयो। यस कार्यक्रमअन्तरगत आर्थिक वर्ष २०७५/७६ मा दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई जोखिममा परेका महिलाहरूलाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याइ गुवास्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरियो। जसका लागि अवाई कार्यविधि २०७५ र दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धारका लागि कार्यविधि २०७७ मन्त्रिपरिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।