गोदाममै मल, सहकारीको झेल
परासी : नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेडमा कोटामा आएको रासायनिक मल केही सहकारीले नलगेपछि गोदाममै थन्किएको छ। किसानले मल नपाएर समस्या भएको बेला जिल्लामा आएको मल सहकारीले खरिद गरेर नलैजाँदा कृषि सामग्रीको गोदाममा ७१ टन मल थन्किएको हो।
हिउँदेबाली गहुँ, तोरी, मसुरो तथा उखुका लागि लक्षित गरेर युरिया र डीएपी मल जिल्लामा पठाइएको हो। जिल्लाका ९ सहकारीले मल नलगेको कृषि सामग्रीका प्रमुख नरहरि पोखरेलले बताए। पटकपटक पत्राचार गर्दा पनि लैजान नमानेकाले सहकारीको कोटामा परेको मल गोदाममा थन्किएको उनले बताए। जिल्लाका ७ वटै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्रचार गरेका थिए। उक्त पत्रानुसार कम्पनीले सहकारीलाई मल वितरण सुरु गरेको थियो।
नामावली अनुसारमध्येका ९ सहकारीले मल नलगेपछि उनीहरूको नाममा रहेको ७१.३ टन मल गोदाममा थन्किएको पोखरेलले जानकारी दिए। जसमा २३.७५ टन युरिया र ४७.५५ टन डीएपी रहेको छ। जिल्लामा ७४ सहकारीमार्फत मल वितरण हुँदै आएको छ। मल नलैजाने सहकारीमा रामग्राम नगरपालिकाभित्र रहेको परासी आदर्श बहुउद्देश्यी सहकारी संस्था, त्रिदेव बचत क्रण सहकारी संस्था रहेका छन्। त्यस्तै, पाल्हीनन्दन गाउँपालिकाको बचत ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था रहेका छन्। त्यस्तै, सुनवल नगरपालिकाको स्वाठी कृषि सहकारी संस्था, प्रतापपुरको रामजानकी कृषि सहकारी संस्था, पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत सहकारी संस्था परसिया र सनही कृषि सहकारीले मल नलगेको कम्पनीले जनाएको छ।