चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै
सर्लाही : पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ। घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको स्थानीय तहले बताएका छन्।
विगत केही दिनदेखि सुरु भएको शीतलहरले स–साना विद्यार्थी प्रभावित हुन थालेका भन्दै जिल्लाका स्थानीय तहले सूचना जारी गरेर विद्यालय बिदा गरेका हुन्। हाल दिइएको बिदा जाडो र वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिने स्थानीय तहका शिक्षा शाखाले बताएका छन्।
एक सातादेखि चिसो हावासँगै शीतलहर चल्दा बालबालिका, वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्तिका साथै गरिब, विपन्न र खुल्ला आकाशमा काम गर्ने वर्ग बढी प्रभावित भएका ईश्वरपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं उपसचिव हरिप्रसाद दाहालले बताए। उनका अनुसार पुस २२ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिइएकामा मौसम थप प्रतिकूल बनेपछि माघ ४ गतेसम्म बिदा थप गरेको हो।
जिल्लाका अन्य पालिकाले माघ ७ गते सम्मका लागि जाडो बिदा दिएका दाहालले जानकारी दिए। उनका अनुसार केही दिनदेखि चिसो थप बढेकाले पठनपाठन सञ्चालन गर्दा समस्या हुने भएपछि बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गरी बिदा थप गरिएको हो।
चिसोले जनजीवन प्रभावित भएपछि यहाँका अधिकांश पालिकाले विद्यालय बन्द गराएका छन्। एक सातादेखि घाम नलाग्दा तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ। निरन्तर बाक्लो हुस्सु लागेर चिसो स्याँठ र तुसारो चलिरहँदा जनजीवन कष्टकर बनेको छ।
चिसोका कारण दम तथा रुघाखोकीको समस्याका बिरामी बढेका नगर अस्पतालका प्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामविश्वास रायले बताए। उनका अनुसार चिसोका कारण अपाङ्गता भएका मानिस, दम, हाडजोर्नी तथा नशाका बिरामी बढी पीडित हुने गरेका छन्।
लगातार बढेको चिसोका कारण जिल्लाका बजारमा चहलपहल पनि घटेको स्थानीय व्यापारीले बताएका छन्। शीतलहर तथा तुषारोका कारण आलु, गोलभेँडा, प्याजको बेर्नालगायत तरकारी बाली प्रभावित बनेको किसानले बताएका छन्। रासस