औषधि पसल र प्रयोगशाला शिल
परासी : दर्ताबिना सञ्चालनमा रहेका दुई स्वास्थ्य पसललाई शिल गरिएको छ।
नगरमा अवैधरुपमा स्वास्थ्य पसलहरु सञ्चालनमा रहेको गुनासो बढेपछि बुधबार नवलपरासीको रामग्राम नगरपालिका र स्वास्थ्य कार्यालयले गरेको अनुगमनका क्रममा एक औषधि पसल र प्रयोगशालालाई शिल गरिएको हो। शिल गरिएका पसलमा रामग्राम नगरपालिका-१७ स्थित देवगाउँमा रहेको गुप्ता मेडिकल हल र सोही वडाको पटखौलीमा रहेको सेलिशा फर्माद्धारा सञ्चालित प्रयोगशालामा शिल गरिएको हो।
ती दुई पसलले कुनै पनि निकायबाट अनुमति नलिई स्वास्थ्यसम्बन्धी काम गरेकाले शिल गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताए। अनुगमनका क्रममा परासी सदरमुकाममा रहेका केही औषधि पसलले तोकिएको मूल्यभन्दा चार गुणासम्म बढी रकम लिएर औषधि बिक्री गर्ने पाइएको, केही फार्मेसी र औषधि पसलहरु एउटाको नाउँमा दर्ता भएको तर अर्कै व्यक्ति बस्ने गरेको,पाइएको थियो।
त्यस्तै केही औषधि र फार्मेसी पसलले मूल्यसूची नराखेको, म्याद गुज्रेका औषधि राखेको लगाएतका त्रुटि पाइएको थियो। उनीहरूलाई नियमानुसार पसल सञ्चालन गर्न भन्दै एक पटकलाई चेतावनी दिएर छाडिएको अनुगमन टोलीले जनाएको छ।