नक्कली कागज बनाएर लम्जुङ लैजान लागेका कुखुरा बरामद
परासी : नक्कली कागजात बनाएर लैजाँदै गरेको अवस्थामा नवलपरासी प्रहरीले ४ सय जिउँदो बोइलर कुखुरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सेमरीको टोलीले ग २ च ९०१३ नम्बरको पिकअप भेनमा लैजाँदै गरेको अवस्थामा करिब ३ लाख बराबरको १० क्विन्टल कुखुरा बरामद गरेको हो।
उक्त कुखुरा लम्जुङ पठाउन भन्दै बर्दघाट नगरपालिका–१४ गंगाबस्तीस्थित ‘दाउन्ने फ्रेस हाउस एण्ड सप्लायर्स’ले भिसिटीसी अनलाइन बिल काटेको थियो। भिसिटीसीका आधारमा कुखुरा फर्मकै हो भन्ने सप्लायर्सले पुष्टी गर्न नसकेपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिए। उक्त कुखुरा अवैधरुपमा भारतबाट ल्याएको प्रहरीले जनाएको छ।
भिसिटीसी दुरुस्त रहे पनि भेटेरिनरी स्वास्थ्य प्रमाण पत्र भने नक्कली भएको पाइएको पशु क्वारेन्टाइन चेक पोष्ट महेशपुरका पशु चिकित्सक डा. मनोज अधिकारीले जानकारी दिए। एक जिल्लाबाट अर्को जिल्लामा पठाउँदा पशुपंक्षीको स्वास्थ्य प्रमाण पत्र आवश्यक छ। ‘स्वास्थ्य प्रमाण पत्रमा हस्ताक्षर गर्ने चिकित्सकको नाम काउन्सिलमै नभएको पाइएकोले प्रमाण पत्र नक्कली भएको पुष्टी भएको हो। ’ पशु चिकित्सक डा. अधिकारीले भने।
बरामद भएका कुखुरालाई खाल्डो खनेर बुधबार नष्ट गरिएको छ। त्यसैगरी नक्कली प्रमाण पत्र बनाउने सप्लायर्सका सञ्चालक तीलकराम चौधरी, कुखुरा बोक्ने सवारी साधन र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने पशु क्वारेन्टाइन चेक पोष्टले जनाएको छ। भारतसँग सीमाना जोडिएका जिल्लाका भूजहवा, रामनगर, बसैयालगायतका नाकाबाट अवैधरुपमा कुखुरा भित्रिने गरेका छन्। त्यसरी भित्रिएका कुखुरालाई विभिन्न ठाउँमा रहेका पोल्टी फर्म र पशुपंक्षीको कारोबार गर्ने सप्लायर्सले बिल काटेर अन्यन्त्र पठाउने गरेका छन्।