डोल्पा जोड्ने भेरी करिडोरमा मनपरी शुल्क : एउटा ट्रक तारेको १५ हजार
डोल्पा : भेरी करिडोरअन्तर्गत पर्ने तल्नुबगरमा होम पाइप राखेर बनाइएको फड्को (अस्थायी पुल)मा सवारी तारेबापत स्थानीय युवाले शुल्क उठाउन थालेका छन्।
डोल्पा जोड्ने मुख्य पुलका रूपमा रहेको तल्नु बगरस्थित भेरी नदीमा सवारीसाधन आवतजावत गर्ने पुल नबनेकै कारण स्थानीय युवाहरूले गैरकानुनी रूपमा शुल्क उठाउन थालेका हुन्। निर्माण कार्य पूरा भएको बेलिब्रिज पुल भाँचिएपछि अहिले उक्त स्थानमा पुनः बेलिब्रिज पुल निर्माणको काम भइरहेको छ।
बुधबार मात्रै भेरी नदीमा ह्युमपाइप राखेर बनाइएको फड्कोको निर्माण कार्य सकिएको र व्यक्तिगत लगानीमा बनाइएकाले चारपांग्रे सवारीसाधन तारेबापत शुल्क उठाइएको स्थानीय युवा खिम मल्लले बताए।‘उक्त ह्युमपाइपको फड्कोमा करिब ४० लाख खर्च भएको छ, जसमा डोल्पामा विद्युतको ठेक्का लिनुभएका व्यवसायीले आफ्ना सामान सार्न २० लाख बराबरको ह्युमपाइप किन्दिनुभएको हो, हाम्रो मात्रै करिब २० लाख खर्च भएकाले उक्त लगानी उठाउन पनि शुल्क उठाउन थलिएको हो’, मल्लले भने।
‘खासमा शुल्क त उठाउन नमिल्ने हो, तर व्यक्तिगत लगानी भएको छ, एक्साभेटर,टिपर, कामदारहरू लगाइएको छ,त्यस वापतको खर्च रुकुम र डोल्पाका स्थानीय तहले गरेको भए, हामी पैसा उठाउने थिएनौं।’ अहिले बोलेरो जीपको पाँच हजार, मिनिट्रकको १० हजार र ठूलो ट्रकको १५ हजार उठाउन थालिएको उनले स्विकारे।
यदि यात्रुबाहक गाडीहरू आएमा तिनलाई पनि पाँच हजार लगाइने उनको भनाइ छ। आफ्नै आठबिसकोट नगरपालिकाको स्वास्थ्य सामग्री बोकेको जीपलाई पनि पाँच हजार उठाइएको उनले बताए। आफूले एउटा मालबाहक ट्रक तारे वापत १० हजार तिरेको डोल्पाका व्यापारी खिमबहादुर सिंहले बताए। ‘केही स्थानीय युवाहरूले पैसा नदिउञ्जेल डोल्पाका लागि सामान बोकेको मालबाहक ट्रक तार्न दिएनन्, पछि १० हजार पैसा जम्मा गरिसकेपछि मात्र तार्न दिए, पैसा तिरेको प्रमाण भने केही दिएनन्’, उनले भने।
यसरी प्रत्येक पटक सवारी पास गराउँदा पैसा तिर्नु परेपछि व्यापारी मारमा परेको र यसको असर स्वरुप महंगी बढेर डोल्पाली उपभोक्ता मारमा पर्ने उनको भनाइ छ। भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुजन अधिकारीले यसरी व्यक्तिगत रुपमा सवारीसाधन तारेवापत शुल्क उठाउन नमिल्ने बताए। ‘ह्युमपाइपको पुलमा व्यक्तिगत लगानी भएको भन्ने सूचना आएको थियो,त्यसमा विद्युतका निर्माण व्यवसायी र स्थानीय युवाले लगानी गरेका रहेछन्, यसरी लगानी भएको ठाउँमा सरकारी कार्यालयले लागेको खर्च व्यहोरेर सवारीसाधन पास गराउन सक्दैन’, उनले भने।
पश्चिम रुकुम र डोल्पाका स्थानीय तहले समन्वय गरेर केही पैसा उठाएर सवारी साधन आवतजावतमा सहजीकरण गराउनु पर्ने उनको भनाइ छ। यता डोल्पाका छ वटा स्थानीय तहमा केन्द्रिय प्रशारण लाइन विस्तारको जिम्मा लिएका बिभान्सु महिनावती जेभीका मेनेजर नरेन्द्र काफ्लेले होम पाइपको पुल निर्माणका लागि आफूहरूले २० लाख लगानी गरेको बताए। ‘डोल्पामा केन्द्रीय प्रशारण लाइन विस्तारको जिम्मा लिइसकेपछि हामीलाई सयौँ टन पोल, तार लगायतका सामान लिनुपर्ने हुन्छ, त्यसका लागि सिधैं गाडी लैजानका लागि ह्युमपाइप हामीले किनिदिएको हौँ’, उनले भने।
दुई सय मालबाहक ट्रक लैजाने र त्यसपछि ह्युमपाइप निकालिने उनको भनाइ छ। यता डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार सवारीसाधन तारेवापत पैसा उठाउनु कानुनविपरीत भएको बताए। आफूसँग पैसा उठाएका विषयमा कुनै लिखित उजुरी नआएको र यदि आएमा तुरुन्तै कारबाही गरिने उनको भनाइ छ।
सहज रुपमा सवारीसाधन वारपार गर्ने व्यवस्था मिलाउनका लागि रुकुम पश्चिम र जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको उनको भनाइ छ। डोल्पाका स्थानीय तहले पनि समन्वय गरेर सहयोग गनुपर्ने उनको धारणा छ। अस्थायी पुलबाट स्थानीय युवाहरूले धमाधम पैसा उठाउन थाले पनि डरले यातायात व्यवसायीले लिखित उजुरी दिन सकेका छैनन्। पश्चिम रुकुम,जाजरकोट र डोल्पाको गृह प्रशासन मौखिक उजुरीलाई बेवास्ता गर्दै लिखित उजुरी कुरेर बसेको डोल्पाका सरोकारवालाहरूले बताए। यो समस्या तत्काल समाधान गरेर सहज रुपमा सवारीसाधन वारपार गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरे।