केन्द्र विवादमै बित्यो तिलागुफाको ६ वर्ष

केन्द्र विवादमै बित्यो तिलागुफाको ६ वर्ष
सुन्नुहोस्

कालीकोट : कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र विवाद ६ वर्ष बित्दा पनि समाधान भएको छैन। जसका कारण पालिकाको केन्द्रमा निर्माण हुने भौतिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या भइरहेको छ। राजनीतिक दलहरूका आ-आफ्नो स्वार्थको कारण नागरिकहरूले सास्ती भोग्नु परेको हो। 

तिलागुफा नगरपालिका-६ का नरेश शाहीले भने, 'तिलागुफा नगरपालिका बनेको ६ वर्ष भयो। सुरुवाती वर्षदेखि पालिकाको केन्द्र तोक्ने कार्यमा दलहरूबीच भएको विवाद अहिलेसम्म पनि समाधान भएको छैन। हाल एक एनजीओले बनाइदिएको तिलागुफा नगरपालिका-६ को वडा कार्यालयको भवनबाट नगरपालिकाको सेवा प्रवाह भइरहेको छ। नगरपालिकाको केन्द्र कहाँ हुन्छ भन्ने बारे हामी नागरिकहरूमा अन्यौल छ।'
 

अघिल्लो स्थानीय सरकार भएका बेला २०७६ मंसिर १५ गते बसेको सातौँ नगरसभाले तिलागुफा नगरपालिकाको केन्द्र तिलागुफा नगरपालिकाको वडा नम्बर ९ चिल्खाया तोक्यो। उक्त निर्णयका विरुद्ध उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा मुद्दा दर्ता भयो। सरकारले अस्थायी केन्द्र तिलागुफा नगरपालिका वडा नम्बर ६ गाल्जे तोकेको थियो। 

नगरपालिकाको केन्द्रका लागि सबैको पायक पर्ने स्थान पनि गाल्जे नै थियो। तर राजनीतिक दलको स्वार्थले उक्त ठाउँमा नतोकेर नगरपालिकाको किनारा चिल्खाया तोकियो भन्दै स्थानीयले नै जुम्ला पुगेर मुद्दा दर्ता गरे। नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा (३) मा गाउँपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्नु परेमा सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनु पर्ने कानुनी व्यवस्था छ। 

तर तिलागुफाको नगरसभाले गरेको निर्णयमा दुई तिहाइ पुगेको थियो। उच्च अदालत सुर्खेत जुम्ला इजलासले कानुनी पूरा नगरी पालिकाको केन्द्र तोकेको भन्दै उक्त निर्णय खारेज गरी दियो। तर उक्त विवाद भने कायमै रह्यो। फेरी तिलागुफा नगरपालिका-९ चिल्खायाका स्थानीयले उच्चको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा रिट दर्ता गराए। अहिले सर्वच्चमा तिलागुफा नगरपालिका वडा नम्बर ६ र ९ का स्थानीय नागरिक तारिख बोकिरहेका छन्। नगरपालिकाको केन्द्र भने अन्यौलमै छ। 

तिलागुफाको तत्कालीन सातौँ नगरसभामा निर्णय हुँदा नगरसभामा उपस्थित ५४ सदस्यमा ४७ जनाले मात्र मतदान गरेको, त्यसमा पनि ३७ जनाले पक्षमा र १० जनाले विपक्षमा मतदान गरेका थिए। गाल्जेमा पर्याप्त जग्गा दिँदा भौतिक पूर्वाधार, भौगोलिक र प्रशासनिक सुगमता, यातायात सञ्चार सुविधाका आधारमा तिलागुफाको केन्द्र गाल्जेमा हुनुपर्ने वडा नम्बर ६ का नागरिकको माग छ। तर वडा नम्बर ९ का स्थानीयले पहिलो नगरसभाले चिल्खायामा तोकिसकेको चिल्खायामै नगरको केन्द्र बन्नु पर्ने माग छ। जसका कारण अहिले पनि विवाद समाधान हुन सकिरहेको अवस्था छैन। 

तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले नगरपालिकाको केन्द्रका विषयमा अदालतमा मुद्दा चलिरहेकाले अदालतले नटुंगाएसम्म कुनै प्रक्रिया अगाडि नबढ्ने बताए। उनले भने, 'पहिलो कार्यकालको नगरसभाले गरेको निर्णय उच्च अदालत जुम्लाले खारेज गरिदियो। अहिले फेरि सर्वोच्चमा मुद्दा चलिरहेको छ। अब सर्वोच्चले तोक्यो भने तोकेकै ठाउँमा केन्द्र हुन्छ। सर्वोच्चले पनि उच्च अदालतको फैसलालाई सदर गरिदियो भने नगरपालिकाले पुनः प्रक्रिया अगाडि बढाउने छ।'

हाल तिलागुफा नगरपालिकाको अस्थायी केन्द्रमा वडाका नाममा ६१ हजार ६ सय १२ वर्गमिटर क्षेत्रफलको जग्गा उपलब्ध भई सो जग्गामा करिब  दुई करोडको लागतमा बनेको वडा नम्बर ६ को प्रशासनिक भवनमा नगरपालिका सञ्चालन भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.