दार्चुला बस दुर्घटनामा १६ जना घाइते, तीनजनालाई धनगढी रिफर
दार्चुला : दार्चुला बस दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई उपचारका लागि धनगढी रिफर गरिएको छ। दुहुँ गाउँपालिका-५ का ५३ वर्षीय दिलिप बहादुर बम,उनकी बुहारी कमला बम र नाती हिमान्सु बमलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।
अस्पतालका सूचना अधिकारी डम्बर भट्टका अनुसार दिलिम बमको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। कमला र हिमान्सको अवस्था भने सामान्य नै रहेको उनको भनाइ छ। बाँकी १३ जना घाइतेको दार्चुलामा उपचार भइरहेको छ।
दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस शुक्रबार बिहान महाकाली नगरपालिका-५को फोहोर फाल्ने ठाउँबाट महाकालीतिर खसेको थियो।सुपप्र ०२ ००१ ख १०३१ नम्बरको सो बस बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोट बसालीका जनक ठगुन्नाको रहेको बुझिएको छ ।