अस्पताल घुमेरै बित्यो डाक्टरको कारागार बस्ने समय
विराटनगर : नवजात शिशु बेचेको कसुरमा पक्राउ परेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णलाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्न आदेश दियो।
बिहीबार उच्चले ६८ वर्षीय कर्ण र उनीसँग यही कसुरमा पुर्पक्षका लागि थुनामा गएका सूर्यनारायण राजवंशीलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो। मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले उनीहरूलाई धरौटीमा छोड्न आदेश गरेको हो।
गत असोज २४ गते मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले कर्ण, राजवंशी र गोविन्द राईलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर, उच्चले एकै कसुरका कर्ण र राजवंशीलाई धरौटीमा छोड्दा शिशुका बाबुसमेत रहेका राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको जिल्ला अदालतका उपरजिष्ट्रार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए।
भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ गते विराटनगरको ग्रिनक्रस अस्पतालमा शिशु जन्मिएकी थिइन्। नर्मल डेलिभरिमार्फत् सामान्य अवस्थामा शिशुको जन्म भएको थियो।
तर, नाताभित्रकै युवतीसँगको सम्बन्धबाट जन्मिएकी शिशुको व्यवस्थापनको जिम्मा गोविन्दले डा. कर्णलाई दिए। आमासँगै हुनुपर्ने ती शिशु नर्सले लिएर गए। सोही दिन अस्पतालबाट डिस्चार्ज गराएर गोविन्दले आफ्नी प्रेमीकालाई इटहरीस्थित एक होटलमा राखे।
बच्चाबारे सोध्दा उपचार हुँदैछ भन्ने जवाफ दिएका गोविन्द होटल पुगेको दु दिनपछि बेपत्ता भए। आफूले जन्माएको छोरी र प्रेमी गायब भएपछि उनले ३२ साउनमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिइन्। अनुसन्धानका क्रममा डा. कर्णले शिशुलाई कटहरी गाउँपालकिा–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो।
अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख गरिएको थियो। अस्पतालका कर्मचारीको सहयोगमा डा. कर्णले निःसन्तान दम्पतीलाई शिशु बेचेका थिए। अवैध सम्बन्धबाट जन्म भएको बच्चा भनेर कर्णले उक्त बच्चा व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए।
मोरङ प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। तर, पक्राउ परेकामध्ये ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय भएको थियो। प्रहरीले डा. कर्णसहित ६ जनाविरुद्ध मानव बेचविखन, संगठित अपराध र मानव तस्कर गरी तीनवटा मुद्दा चलाएको थियो। जिल्ला अदालतबाट डा. कर्ण, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षका लागि थुनामा गएका थिए भने सहयोगी तीन जना धरौटीमा रिहा भएका थिए।
मोरङको कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव एक लाख र ४७ वर्षीया दिलमनीदेवी राजवंशी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए। पुर्पक्षमा रहेका कर्ण र चौधरीले जिल्लाको आदेश बदरको माग राख्दै ७३ नम्बर गरेका थिए।
थुनामा बस्ने समय अस्पतालमै
बच्चा बेचेको आरोप लागेपछि मोरङ प्रहरीले डा. कर्णलाई भदौ १ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो। तर, बिरामी भएको बाहाना बनाउँदै उनी हिरासतको अधिकांश समय अस्पतालमै बसे। मोरङ प्रहरीले उनलाई हिरासत–अस्पताल डुलाइरह्यो।
सुगर र प्रेस अनियन्त्रित भएको भन्दै उनले कोशी अस्पतालको २१२ नम्बरको सिंगल क्याबिन छाड्न मानेनन्। मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार डा. कर्णको हिरासतको समय पनि अस्पतालमै बितेको थियो। ‘घटना सतहमा आएपछि बयानका लागि हामीले उहाँलाई ल्याउने तयारी गरेका थियौं, त्यसबेला उहाँ दुइटा अपरेसन सकेर बस्नुभएको रहेछ,’ उनले भने, ‘प्रहरीलाई देख्नेबित्तिकै बिरामी भएर ढल्नुभएछ। अर्को दिन उहाँलाई बयानका लागि ल्याएका बेला पनि अस्पताल पुर्याउने–ल्याउने गर्यौं तर नियमित ल्याउनु–लैजानुपर्ने भएका कारण प्रहरीको निगरानीमा अस्पतालमै राखेका थियौं।’
असोज २४ गते मोरङ अदालतले पूर्पक्षका लागि मोरङ कारागार पठाएपछि पनि उनी त्यहाँ अडिन सकेनन्। कर्णको उपचारमा खटिएका डाक्टरहरूले उनको स्वास्थ्य सामान्य रहेको भन्दै पटक–पटक डिस्चार्ज दिएका थिए। बरु डा. कर्ण अस्पताल घुमेरै बसे तर कारागार जान मानेनन्। ‘स्वास्थ्य अवस्था ठीकै हुँदा पनि उहाँले अस्पताल छोड्न मान्नुभएन,’ अस्पताल स्रोतले भन्यो, ‘प्रेसर–सुगर कन्ट्रोल भएको भन्दै यसअघि पनि चिकित्सकहरूले उहाँलाई डिस्चार्ज दिनुभएको थियो। तर, उहाँले स्वास्थ्यलाभ नभएको बहानामा क्याबिन ओगट्नुभयो।’
मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेका अनुसार कारागार ल्याएकै दिन डा. कर्ण बेहोस् भएका थिए। प्रहरीको निगरानीमा रहेर आफैं खर्च तिर्नेगरी असोज २६ गते कारागार प्रशासनले कागज गरिदिएको थियो। मोरङ कारागारमा स्वास्थ्यकर्मीको टोली पनि छ र औषधि पनि उपलब्ध हुन्छ। कर्ण आफैं पनि चिकित्सक भएका हुनाले आफ्नो इन्सुलिन आफैं लगाउन सक्थे। यस्तो अवस्थामा पनि डा. कर्णले कारागारको समय पनि अस्पतालमै बिताएका थिए।
डा. कर्ण कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट पनि हुन्। कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेसु थिए। कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टबाट अवकाश लिएपछि उनले क्लिनिक सञ्चालन गर्दै आएका छन्। क्लिनिक सञ्चालनसँगै उनी ग्रिनक्रस अस्पतालमा पनि काम गर्छन्।