डोल्पा जोड्ने भेरी करिडोरमा सवारीसाधनबाट शुल्क उठाउन नपाइने
डोल्पा : डोल्पा जोड्ने भेरीकरिडोरअन्तर्गत पर्ने तल्नुबगरस्थित भेरी नदीमा लगाइएको ह्युमपाइपको पुलमा अबदेखि अनधिकृत रुपमा शुल्क उठाउन नपाइने भएको छ।
जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको नेतृत्वको सुरक्षा निकायका प्रमुख, नलगार्ड नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले स्थानीय युवाहरूसँग छलफल गरेर अनधिकृत रुपमा शुल्क नउठाउने सहमति गरेको हो।
ह्युमपाइपको पुलमा अनधिकृत शुल्क उठाउन थालेको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशन भएपछि त्यसबारे बुझ्न शुक्रबार बिहानै जाजरकोट प्रशासनको टोली तल्नुबगर पुगेको थियो।
स्थानीय युवाहरूको समूहले अनधिकृत रुपमा शुल्क उठाउन थालेको गुनासो आएपछि सुरक्षा प्रमुखसहितको टोली तल्नुबगर पुगेका थिए। अबदेखि सवारीसाधनलाइ कुनै शुल्क नउठाउने सहमति भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुनारले बताए।
अबदेखि चापाङ्ग्रे सवारीसाधन ह्युमपाइपबाट निर्वाध रुपमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको उनले बताए। व्यक्तिगत खर्च भयो भन्ने समूहले अब सम्बन्धित ठेकेदारसँगै समन्वय गर्ने आफ्नो विषय उनीहरूले नै टुंग्याउने उनको भनाइ छ।
शुल्क उठाएको गुनासो आएपछि डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालसहित सुरक्षा प्रमुखहरूले उक्त कार्य रोक्न छिमेकी तिनै जिल्लाका प्रशासनसँग समन्वय गरेका थिए। ह्युमपाइप बनाउन व्यक्तिगत रुपमा ४० लाख खर्च भएको भन्दै स्थानीय युवाहरूले बुधबारदेखि जीप, ट्याक्टर र ट्रकलाई पाँचदेखि १५ हजारसम्म उठाउन थालेका थिए।