लक्ष्मी सनराइज बैंकद्वारा 'ई-कमर्स अक्वायरिङ' सेवा सुरु
काठमाडौं : लक्ष्मी सनराईज बैंकले 'ई-कमर्स अक्वायरिङ गेटवे' सेवा सञ्चालनमा ल्याएको छ। नेप्सअन्तर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ। यो सेवा नेप्स र भिसाको सहायक संस्था, साइवरसोर्ससँगको सहकार्यमा विकास गरेको हो।
यस सेवाको सञ्चालनपश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकमहानुभावहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन्। ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीका लागि ग्राहकमार्फत भुक्तानी लिनका लागि सजिलो माध्यम हुन सक्दछ।
उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नु हुनेछ। उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन्।
तसर्थ यो सुविधाले देशको ई-कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराइज बैंकको रहेको छ। लक्ष्मी सनराईज बैंकले देशभर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटीएम, १४१ शाखारहित बैकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरू प्रदान गर्दै आइरहेको छ।