बर्दियामा जंगली हात्तीको आक्रमणबाट २ महिला घाइते
गुलरिया : बर्दियामा जंगली हात्तीको आक्रमणमा परी २ जना महिला घाइते भएका छन्। मधुवन नगरपालिका-१ सूर्यपटुवामा अवस्थित दुर्गा सामुदायिक वनमा दाउरा खोज्ने क्रममा उनीहरूलाई जंगली हात्तीले आक्रमण गरेको हो।
हात्तीको आक्रमणमा परी स्थानीय ५२ वर्षीय सीता थारू र ३१ वर्षीय सुशीला चौधरी घाइते भएका मधुवन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मिन थापाले जानकारी दिए। उनीहरूको गुलरियास्थित बर्दिया अस्पतालमा उपचार भइरहेको छ।
'चिकित्सक नहुँदा थप उपचारका लागि नेपालगञ्ज लैजानुपर्ने हुनसक्छ,' उनले भने, 'घाइतेहरूको उपचारमा लागेको सबै विल अनुसार डिभिजन वन कार्यालय बर्दियाले भुक्तानी गर्ने कुरा भएको छ।' मधुवन नगरपालिकाको तर्फबाट जनही १० हजार रुपैयाँ राहत उपलब्ध गराइने उनको भनाइ छ। उक्त क्षेत्रमा सबैलाई सजगता अपनाउन वडाध्यक्ष थापाले अनुरोध गरेका छन् ।
सामुदायिक वनमा दाउरा खोज्ने क्रममा एक्कासि जंगली हात्ती आएर आक्रमण गरेको घाइते सीताका श्रीमान् विन्तीराम थारूले बताए। हात्तीले लखेट्ने क्रममा लडेपछि सुढले आक्रमण गरेको थियो। श्रीमतीको शरीरमा कुनै रक्तश्राप नभएपनि भित्री चोट लागेको उनको भनाइ छ।
घाइते सुशीलाको हातका तीनवटा औलाहरूमा चोट लागेको छ। घाउहरूमा करिब दर्जन टाँका लगाइएको छ। एक्कासि हात्तीले आक्रमण गर्न आएको देखेपछि जंगलमा सँगै भएका अरू मान्छेहरूले हल्ला गरेपछि हात्ती भागेको थियो।