पर्न छाड्यो हिउँ, फल्न छाड्यो स्याउ

पर्न छाड्यो हिउँ, फल्न छाड्यो स्याउ
सुन्नुहोस्

सुर्खेत : कुनैबेला दैलेखको गुराँसमा लटरम्म स्याउ फल्थ्यो। सडक पुगेपछि स्याउले सहजै बजार पनि पायो। सोचे अनुसार आम्दानी भएपछि किसानहरू दंग परे। उनीहरूले बैंकबाट ऋण लिएरै स्याउका बिरुवा थप्दै गए। अधिकांश किसानसँग स्याउका बगैंचा भए। विस्तारै स्याउखेती पनि विस्तार भयो।

तर पछिल्लो समय भने यस क्षेत्रमा स्याउ फल्न छाडेको छ। अर्थात स्याउ फल्न छाडेपछि हिजोआज किसानले स्याउका बगैंचा नै मासेका छन्। विगतमा स्याउका लागि चर्चित गुराँसे क्षेत्रमा अहिले स्याउका बोट भेट्न मुस्किल छ। 

कहीँकतै बाँकी रहेका बोटमा पनि पहिले जस्तो स्याउ फल्दैन। केही किसानका स्याउका बोटमा बेसिजनमा दाना लाग्छन्। अचेल गुराँसमा स्याउ नफल्नुको एउटै कारण हो, जलवायुमा आएको परिवर्तन। चिसो हावापानी भएको गुराँसका गाईबान्ना, गुराँसे र रानीमत्ता लगायतका क्षेत्रमा पछिल्लो समय हिउँ पर्न छाडेको छ। हिमपात कम हुन थालेसँगै यहाँको तापक्रम वृद्धि भएको छ। तापक्रम वृद्धि भएको र हिमपात कम हुन थालेपछि गुराँसमा स्याउ फल्न छाडेको कृषि प्राविधिकहरू बताउँछन्।

समुद्री सतहबाट दुई हजार एकसय ९८ मिटर उचाइमा रहेको यो क्षेत्र स्याउ खेतीका लागि उपयुक्त नै हो। यसैकारण पनि २०४० सालको दशकमा किसानले जुम्लाबाट स्याउका बिरुवा ल्याएर रोपेका थिए। स्थानीय किसान नरबहादुर चन्द भन्छन्, ‘पहिले त बगैंचामा लटरम्म स्याउ फल्थ्यो, मेरो बगैंचामा मात्र एक सिजनमा ५० क्वीन्टलसम्म स्याउ फल्थ्यो। स्याउबाटै आम्दानी गरेर परिवारको खर्च टार्ने योजना थियो, तर विस्तारै स्याउ नै फल्न छोडेपछि मैले हाल बगैंचा नै मासेर त्यो ठाउँमा तरकारी खेती गर्न थालेको छु।’ स्थानीयका अनुसार २०५७ सालदेखि स्याउखेती बिग्रँदै गएको थियो। तर पछिल्लो एक दशकयता भने हिउँ नै पर्न कम भएपछि स्याउ पनि फल्न छाडेको हो। 

पछिल्ला वर्षहरूमा गुराँसमा हिउँ नियमित पर्दैन। कुनै वर्ष हिमपात भएको खण्डमा पनि यस क्षेत्रमा निकै कम मात्र हुन्छ। ‘पहिला त एउटै बोटमा ६ सयसम्म दाना फल्थ्यो’ स्थानीय किसान प्रेम ढकाल भन्छन्,‘मेरो बगैंचामा ५ सय बोट थिए, लटरम्म स्याउ फल्दा यहाँ आउने पाहुना पनि दंग हुन्थे। तर विस्तारै स्याउका बोट सुक्दै गए, दाना पनि साना लाग्ने र फल्नै छोडेपछि मैले बगैंचा नै मासिदिएँ।’

उनले स्याउ खेती हराएपछि हिजोआज तरकारी खेती सुरु गरेको सुनाए। उनका अनुसार यहाँ फल्ने स्याउ सुरुमा रसिला र ठूला दाना हुन्थे। तर विस्तारै कम फल्ने, साना दाना लाग्ने, बेमौसममा पनि फुल्ने र फलेका दानाको स्वाद पनि हराउँदै गएपछि आफूहरू स्याउखेती मास्न बाध्य भएको उनको भनाइ छ।

तीनसय रोपनीमा थियो स्याउ खेती
कुनैबेला गुराँस गाउँपालिकामा स्याउ खेती फस्टाएको थियो। त्यसबेला यहाँका एकसय भन्दा बढी किसानले व्यावसायिक रुपमा स्याउखेती गरेका थिए। स्याउबाट आम्दानी हुन थालेपछि स्थानीयले ३ सयभन्दा धेरै रोपनी क्षेत्रफलमा स्याउखेती गरेका थिए। सुर्खेत–दैलेख सडकको ट्र्याक खुलेपछि स्याउको व्यापार पनि बढेको थियो। 

यहाँ फलेको स्याउ दैलेख बजार, सुर्खेत र नेपालगंज लगायतका सहरमा निर्यात हुन्थ्यो। तर मौसममा भएको फेरबदल र जलवायु परिवर्तनका कारण वृद्धि भएको तापक्रमले गर्दा स्याउखेती नै लोप भएको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले बताए।

उनका अनुसार स्याउलाई बढी चिस्यान आवश्यक पर्छ। उनले भने,‘स्याउलाई हिउँ बढी पर्ने र बाह्रै महिना लेकाली हावापानी हुने क्षेत्र उपयुक्त हुन्छ, तर जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गयो। अचेल गुराँसमा हिउँ पनि कम मात्र पर्छ, परिणाम स्वरूप अचेल यस क्षेत्रमा स्याउका लागि उपयुक्त हावापानी नहुँदा स्याउखेती इतिहास बन्ने अवस्था आयो।’ उनका अनुसार स्याउको राम्रो उत्पादनका लागि पर्याप्त हिउँ परेर चिसो वातावरण र स्याउ फल्ने सिजनमा पर्याप्त वर्षा आवश्यक हुन्छ। तर बढ्दो तापक्रमले हावापानी परिवर्तन हुँदा यस क्षेत्रमा पछिल्लो समय हिउँ नै नपर्ने, पर्ने समयमा नपर्ने र परे पनि कम मात्र पर्नाले गुराँसबाट स्याउखेती नै विस्थापित हुने अवस्था आएको उनको भनाइ छ। 

अब वैकल्पिक खेतीमा आकर्षित गरिने
      
किसान यसको मारमा परेको उनको भनाइ छ। यसका लागि अब जलवायु अनुकुलन खेती प्रणालीतर्फ किसानलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ। स्याउ खेतीबाट विस्थापित भएका आफूहरूलाई अब उपयुक्त र बैकल्किप खेतीमा जोड्ने खालका नीति र कार्यक्रम स्थानीय सरकारले ल्याउनुपर्ने किसानको पनि माग छ। जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जलवायु परिवर्तन न्यूनीकरणका लागि विभिन्न कार्यक्रममार्फत जलवायु अनुकुलनको क्षेत्रमा काम भइरहेको बताए। 

यस्तै गुराँस गाउँपालिकाले भने जलवायु अनुकुलन खेती प्रणालीका लागि दातृ निकायसँग मिलेर काम गरिरहेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले जलवायु परिवर्तनका कारण किसानहरू मारमा परिरहेको भन्दै अब किसानलाई जलवायुमैत्री कृषि प्रणालीसँग जोड्न पहल गरिने बताए। 

उनले पालिकाले अब जलवायु परिवर्तनसँग जुध्नका लागि जलवायु अनुकुलन कृषि प्रविधि अंगाल्दै किसानलाई वैकल्पिक खेतीमा आकर्षित गर्ने योजना रहेको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.