बलिदानी दिवसमा मधेस सरकारले बाढ्यो सहिद परिवारलाई जनही ३ लाख, घाइतेहरूले गरे विरोध

बलिदानी दिवसमा मधेस सरकारले बाढ्यो सहिद परिवारलाई जनही ३ लाख, घाइतेहरूले गरे विरोध
सुन्नुहोस्

वीरगन्ज : मधेस प्रदेश सरकारले मधेस आन्दोलनका सहिदका परिवारलाई जनही ३ लाख रुपैयाँ वितरण गरेको छ। बलिदानी दिवसका अवसरमा वीरगन्जमा आयोजित कार्यक्रममा मधेस आन्दोलनका ६३ जना सहिद परिवारलाई जनही ३ लाख रुपैयाँ प्रदान गरिएको हो।

प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सहिद परिवारलाई ३/३ लाख रुपैयाँको चेक हस्तान्तरण गरे। 

कार्यक्रममा मधेस सरकारले मधेस आन्दोलनका घाइते १३० जनालाईपनि उनिहरूको शारीरिक अवस्था हरेर अवस्था हेरेर १ देखि २ लाख रुपैयाँ प्रदान गर्‍यो। यसका अतिरिक्त सहिद परिवार र घाइतेलाई १/१ थान कम्बल र यातायात खर्च बापत जनही ४ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो। 

कार्यक्रममा मधेस आन्दोलनका केही घाइतेहरूले प्रदेश सरकारले आफूहरूलाई विभेद गरेको भन्दै नारबाजी पनि गरे। मधेसी सहिद प्रतिष्ठानले तयार पारेको घाइतेको सूचीमा आफूहरूको नाम छुटाएर विभेद गरिएको भन्दै उनीहरूले कार्यक्रमको मञ्चमै पुगेर विरोध जनाए। 

दोस्रो मधेस आन्दोलनमा खुट्टामा गोली लागेर घाइते भएका पर्साको कालीकामाई गाउँपालिका-१ मुडलीका दिनेश साह कानुले मधेस सरकारले आफू लगायत दर्जनौ घाइतेलाई विभेद गरेको बताए। आन्दोलनमा गोली लागेर घाइते भई कष्टकर जीवन यापन गरिरहेको भए पनि मधेस सरकारले घाइतेहरूको सूचीमा आफूहरूको नाम नै समावेश नगरेको भन्दै उनले आक्रोश पोखे। 

जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै मुख्यमन्त्री र मन्त्रीहरू आसीन मञ्चमै पुगेर माइकमा बोल्दै कानुले भने,‘मधेसको अधिकारका लागि हामीले पनि गोली खायौं, रगत बगायौं, तर राहत र सहयोग दिने बेला अहिले मधेसी दल र मधेस सरकारले नै विभेद गरेको छ। 

आफूहरूकै बलिदानी र त्यागका कारण मधेसी दलका नेताहरू सत्तामा पुगेको बताउँदै कानुले मञ्चमा आसिन मुख्यमन्त्री र मन्त्रीहरूलाई इंगित गर्दै भने,‘हाम्रै त्याग र बलिदानीको कारण तपाईंहरू यो पदमा आसिन हुनुहुन्छ। तर आज हामीलाई नै विभेद र अन्याय तपाईंहरूले गर्दै हुनुहुन्छ। 

कानू लगायतका घाइतेहरूले विरोध जनाउँदै आक्रोश पोखेपछि मुख्यमन्त्री सरोजकुमार राय यादवले घाइतेको सूचीमा छुटेकाहरूको माग प्रदेश सरकारले सम्बोधन गर्ने आश्वासन दिए। उनले भने,‘घाइतेको प्रमाणपत्र बनाउनका लागि सिडिओ कार्यालयको सिफरिस आवश्यक पर्दैन। घाइते हुँदाका बखत जुन अस्पतालमा उपचार गराएको हो उत्तः अस्पतालको पुर्जी पेश गरे सहिद प्रतितष्ठानले घाइतेको प्रमाणपत्र बनाइदिन्छ। त्यस अनुसारको सेवा सुविधा मधेस सरकारले उपलब्ध गराउँछ।’ 

मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिद र घाइतेले दिएको बलिदानीको सम्मानका लागि प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवसमा आर्थिक सहयोग गर्दै आएको बताए। उनले भने,‘यो दुई तीन लाखले हुन त केही हुने होइन। २५ करोड दिँदा पनि गएको ज्यान फर्केर आउँदैन। तर बलिदानीको सम्मानका लागि सहिदका परिवार र घाइतेलाई प्रदेश सरकारले सहयोग गरेको हो।’

यसअघि प्रदेश सरकारले दिएको रोजगारीबाट छुटेका सहिदका परिवारलाईपनि अब रोजगारी दिने भन्दै उनले भने,‘सहिद परिवार र घाइतेका लागि जे जे गर्नुपर्छ त्यो प्रदेश सरकारले गर्छ।’ उनले मधेसी सहिदका सपना मधेस सरकारले नै साकार पर्ने प्रतिबद्धता पनि जनाए।  

प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री महम्मद समिमको अध्यक्षतामा भएको बलिदानी दिवस कार्यक्रमलाई संघीय सरकारका पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव, प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री सञ्जय यादव, खेलकूदमन्त्री सुनिता साह, उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव, ऊर्जा सिंचाई तथा खानेपानीमन्त्री सिंहासन साह क्लबार,वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्यहरू जर्नादन सिंह छेत्री, श्याम पटेल, प्रमोद जयसवाल लगायतलेपनि सम्बोधन गरेका थिए। 
    
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.