नवचेतना ग्रहका बिम्बहरू

समीक्षा

नवचेतना ग्रहका बिम्बहरू

मानिस जन्मेर बिताएको बालापन सबैभन्दा महत्तवपूर्ण हुन्छ। त्यहाँ सिकेको भाषा, संस्कार, संस्कृति र आस्थाका धरोहर उसको सर्वस्व हुन्छन्।

जताततै धूलो र धुवाँले चर्को घाम लागेको छैन काठमाडौंमा। पानी पर्न नसकेर आकाश धुम्म छ। मैलाले कत्लैकत्ला परेको त्यो माथि देखिने अजंगको आकाशे छातीतर्फ बेलाबेलामा नजर उठाएर हेर्छु, मधुरो घाममा बसेर। बैंसले छपक्कै छोपेको मर्द जस्तो लाग्छ यो आकाश। छतमा एक्लै छु, त्यसैले निर्वाध रूपमा उसलाई हेरिरहन सकेकी हुँ। मसलाको रुख देख्नु भएको छ ? छैन भने एकपटक हेर्नुहोस्।

हावामा बयेली खेल्दै एउटा सुन्दर पुरुषले कतै कोही पर्खे झैं पाउनुहुनेछ। पुरुषको यो उत्ताउलो चिसोभरि गजबको संस्मरण संग्रह पढिसिध्याएँ। पूर्वी नेपाली भूमिको गौरवमय इतिहास बोकेको सिंगो लिम्बुवानी सभ्यताको दस्तावेजजस्तो एउटा उच्चकोटीको डायास्पोरिक ग्रन्थ पढिसकेपछि केही लेखौं भन्ने विचार आयो। उल्लेख गर्नैपर्ने मुख्य कुरा झन्नै छुटेछ... यो किताब पढ्न अलि दरो मुटु चाहिन्छ नि फेरि। भूतप्रेतका कथाले बेलाबेलामा मुटु, कलेजो बाहिर निस्केला झैं हुन्छ।

ताप्लेजुङका साहित्यकार टंक वनेमकृत सुदूर विस्मृतिका बिम्बहरू पुस्तक संस्मरण संग्रह हो। ३९ ओटा शीर्षकमा समेटिएका लेखमा पहिलो बाबुको आँखा र माख्रिङचोक फूलदेखि अन्त्यमा सिन्धोलुङ फागो वनेम वंशावली  :  इतिहासको चोत्लुङ यात्रा र पुराना कागजपत्रहरूसम्म संग्रहमा छन्। उसो त उनी खाट्टी कवि हुन्, कथा पनि लेख्छन्।

सात समुन्द्रपारिको युद्ध मैदानमा खटिएका योद्धाले कैयौं शत्रुलाई परास्त गरे होलान्। साहित्यको भोकले उनलाई बन्दुक र कलम दुवै एकैसाथ चलाउन सिकायो। हजारौं लाहुरेको भीडमा उनी लेखक नभएको भए कस्ले चिन्थ्यो र टंक वनेमलाई... तर हेर्नोस् न अक्षरको शक्ति कति शक्तिशाली हुँदो रहेछ। बहुविधामा कलम चलाउने साहित्यकार उनले याक्थुङ्बाहरूको इतिहास, धर्म, संस्कार, संस्कृतिका बारेमा धेरै अनुसन्धानात्मक लेख लेख्दै आएका छन्। आधा दर्जन बेसी कृति पाठकसामु ल्याइसकेका उनको कृतिलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले २०२३ मा प्रकाशित गरेको हो।

देश छोडेर परदेशमा रहेका नागरिकले आफ्नो जन्मभूमिलाई गर्ने माया र एउटी आमाले उसका सन्तानलाई गर्ने माया उस्तै हुँदो रहेछ। उनले आफ्नो जन्मथलो सम्झेर लेखेको लेख पढ्दा धेरैपटक मन उडेर आफ्नै गाउँमा पुग्यो। यस्तै पुस, माघको जाडोमा खेतमा मकै गहुँ छरेको हुन्थ्यो, परेवा र ढुक्कुर धपाउन बिहानभरि बारीमै बस्थ्यौं। प्रकृतिमै लुटुपुटिएका कथाले अनायासै अतीतलाई बल्झाइदियो। युद्धमा तैनाथ लाहुरेले पुस्तकमा समाज, प्रकृति, संस्कृति, राजनीति विकास रोजगारी आदि समस्याको विश्लेषण गर्दै तिनको समाधानका उपायसमेत प्रष्ट्याएका छन्।

गाउँकै चौतारो र त्यसकै छेउमा अवस्थित पिपलको बोटमा बाँधेको बाबुको अजंगको सेतो घोडा फुकाएर एउटा सानो फुच्चे केटाले खहरे खोल्सातिर दौडाएको सम्झनालाई उनले यति मिठो शब्दमा व्यक्त गरेका छन् कि पढ्दा यस्तो लाग्छ, लाहुरे हुने लक्षण भएका केटाकेटी सानैदेखि साहसी हुने रहेछन्। घरि–घरि नोस्टाल्जिक हुन्छन् उनी गाउँ सम्झेर। जन्मभूमिको माटोसँग खेल्ने रहर हुँदाहुँदै खेल्न नपाएकोमा दु : ख मान्छन्। समय र परिस्थितिले डाँडा कटाएर धेरै टाढा पुर्‍याइदिएको छ तर पनि बाल्यकालका सम्झना अझै आत्मीय र उस्तै लाग्छन्।

आँखाले भ्याएसम्म देखिने पहाड र हिमालका टाकुराहरू खेतका गरा र आलीहरू। उँधैउँधो बगिजाने खोल्सा खोल्सी, नदीनाला र झरनाहरूको सम्झना गरेर परदेशमा जीवन बितिरहेको छ भन्छन् उनी। गाउँबस्ती छोडेर हिँड्दा ज्यान जता पुगे पनि मान्छेको मन भने आफ्नै गाउँतिरै डुलिरहेको हुने रहेछ। उसले भोगेको संस्कार, संस्कृति र जीवनशैलीले जीवनभरि बाँधिराख्दो रहेछ। त्यो परदेशीका लागि ती सम्झना बाँच्ने आधार बन्दा रहेछन्। त्यसकारण पनि उनी भन्छन्, भौतिक शरीर परदेशमा भए पनि बाल्यकालमा आफूले खाएको भोजन, दिमागको सत्व बनिसकेको भावना, धारणा र विचारका अंशहरू मस्तिष्कभित्र लिंगेपिङ खेलिरहन्छन्।

भनिन्छ, मानिस जन्मेर उसले बिताएको बालापन सबैभन्दा महत्त् वपूर्ण हुन्छ। त्यही वातावरणमा सिकेको भाषा, संस्कार, संस्कृति र आस्थाका धरोहरहरू उसका लागि सर्वस्व हुन्छन्। भावुक भएर उनी लेख्छन्, उँधैउँधो बग्दै जाने खोलाहरू सुसाइरहेको सुन्छु। खेतका गरा र फाँटहरू मनभरि लुकामारी खेलिरहेका हुन्छन्। परदेशमा बसेर भौतिक सुखसुविधा भोगे पनि आत्मालाई बेस्सरी रुवाइरहे झैं लाग्छ। आमाबाबु र जन्मभूमि गुमाउनुको पीडाले आफूभित्रको ईश्वरीय मन पनि विलाप गरिरहे झैं लाग्छ।’ जति नै उमेरले डाँडो काटे पनि बाल्यकालका सम्झनाहरू भने बूढाबूढी नहुँदा रहेछन्। उमेरका खुड्किलाहरू जति चढे पनि स्मृतिका सुकुमार सम्झनाहरू तन्नेरी भइरहने गर्दो रहेछ।

परदेशमा पुगेपछि युद्धका सुरुवाती क्षण सम्झेर उनी लेख्छन्, इतिहासका पानाहरूमा पढेर वा सुनेका दन्त्यकथा झैं लाग्ने बन्दुके जीवनशैली आफैंले पनि भोगिन्छ होला भन्ने लागेकै थिएन। तर नियतिले त्यही युद्ध मैदानमा ल्याएर छाडिदिएको थियो।

सुख होस् वा दु : ख जन्मेपछि जीवनले यात्रा त तय गर्नैपर्ने हुन्छ। यो दुनियाँमा समुन्द्रभन्दा विशाल र ब्रह्माण्डभन्दा अनन्त केही छ भने त्यो आमाकै बात्सल्य र शिक्षा हुँदो रहेछ। त्यो साँझ र आमाको कथा पढिसकेपछि लाग्यो, संसारभरका सबै आमाको मन त एउटै पो हुँदो रहेछ। वनेमकी आमाका कथासँग मेरी आमाका कथा कसरी मिले होलान्, आमा भएपछि बुझ्दैछु। वनेमकी साहसी आमाजस्तै मेरी आमाले पनि हजारौं पटक अक्करे भिर उक्लने र ओर्लने गरिन् होला। उनकै जसरी घाँस, दाउरा, पानी ओसारिन् होला। धेरै र थोरैको फरक मात्र त हो नि, पहाडमा बसोबास गर्ने सबै आमा, दिदीबहिनीको काम एकैनासको हुन्छ।

विदेशी लेखक ओरहान पामुकले भनेजस्तै लेखक हुनु भनेको आफूभित्र बोकेर हिँडिरहेको गोप्य घाउहरूलाई ठम्याउनु हो, ती घाउहरूलाई धैर्यपूर्वक अन्वेषण गर्नु, चिन्नु र उजिल्याउनु हो। अन्तत :  मानिसको मृत्यु भए पनि बाँचेका मानिसले मृत्युलाई सुन्दर फूल ओइलिएर गएजस्तै सम्झेर बाँच्नुपर्छ। यी शाश्वत् सत्य मुन्धुमका मिथक कथाहरू मनलाई सान्त्वना दिने उपदेश बने पनि आमाको सम्झनामा लेखकको मनभने जन्मघरतिरै घुमिरहन्छ। जन्मघर सम्झेर उनी हुरुक्क हुँदै लेख्छन्, ‘प्वाँख भएका चराहरू जति नै माथि आकाशको उचाइमा उडे पनि बास बस्न धरतीतिरै फर्कनुपर्ने हुन्छ। घरको दलिनमा गुँड बनाउने गौंथलीहरूले अघिल्लो साल बनाएको घरको दलिन बिर्सँदैनन्‌। तर मेरा लागि संसार हेर, नयाँ कुरा सिक अनि आफ्नो जन्मभूमि फर्केर आऊ भन्ने पाठ काल्पनिक सिद्धान्तमात्र बन्न सक्यो।’ दैलोमाथि छाडेर आएको लाहुरेको तस्बिर पनि अब त मक्किसक्यो होला...।

अर्जेन्टिनियन महाकवि होर्खे लुइस बर्खेसको कविता जस्तै मुठीभर जीवन नरहनेबित्तिकै सृष्टिको असह्य बोझ बोकेर गइने रहेछ। अन्तिम सूर्य र पक्षीहरूको बोली सुन्दै बिदा भएपछि नफर्किने जीवन बाँचिरहेका हुँदारहेछौं। जीवन भन्नु आकाशको जून तारा जस्तो नहुँदो रहेछ, जो दिनमा हरँउ पनि रातमा देख्न सकिन्छ। जीवन भन्नु त एक कर्मको महाआख्यान र मृत्युको निर्मम समीक्षाजस्तो मात्र हुँदोरहेछ। किशोरावस्थामा कसैको प्रेममा परेको कुरा यसरी व्यक्त गरेका छन्– उनले पाण्डोरा डायरीको अदैत्य अनुहारमा तिमीलाई अस्ताउन लागेको गोधूलि साँझमा भेटेको थिएँ। मेरो सिकुवा र संघारमा बिहानको घाम भई खस्नेछौ। तिम्रो र मेरो प्रेम खोलाको त्यो नभाँचिने लहराजस्तै अजर अमर हुनेछ। सबै संसार निदाए पनि, डाँडाकाँडा, हिमाल, पर्वत निदाए पनि मेरो मन मुटु र मस्तिष्कभित्र तिमीप्रतिको प्रेम निदाउने छैन।’ हुन त प्रेम भन्ने कुरा एउटाले अर्पण अर्कोले समर्पण गर्न सकिएन भने देखादेख भए पनि भेट नहुने जून र घाम जस्तै भइँदो रहेछ।

अञ्जुलीबाट पोखिएको पानी उठाउन नसकिए जस्तै छुटेर गएको माया पनि सम्झिरहनुपर्ने सम्झनाको हुरी बतासमात्र बन्दोरहेछ। परेवाको मृत्यु र घरबारविहीन अंग्रेज नागरिकहरू लेख पढेपछि त्यति विकसित देशमा पनि होमलेसहरूको त्यो दर्दनाक अवस्था पढेर दु : ख लाग्यो। एउटा परेवाको मृत्युमा ठुलो शोक मनाउने देशले घरवारविहीन नागरिकको पनि चिन्ता लिने गरेदेखि उनीहरूको जीवनशैलीमा पक्कै परिवर्तन आउने थियो भन्छन् यी कोमल मनका लेखक।

लेखक यहाँ खुल्ला हृदयका परोपकारी देखिन्छन्। पञ्चमी डाँडाको एक्ले बर शीर्षकमा उनले सानै बेलाको समय सम्झिएका छन्। त्यो बेला बाटोघाटोको सुविधा थिएनछ, तल धरानदेखि मालमत्ता सौदा गरेर माथि ताप्लेजुङसम्म पुर्‍याउनु पर्ने दु : ख कति कहालिलाग्दो थियो होला ? पढेर अन्दाज गर्न सक्छौं। ‘तीसदेखि चालिस÷पचास भरियाको लस्कर ठाउँठाउँमा भारी बिसाउँदै केहीबेर सुस्ताउँथे, हिँड्दा हिँड्दै पञ्चमी डाँडाबाट पश्चिमपट्टिको गोरुजुरे डाँडामा सूर्यास्तको लामो किरण उता साङ्लुप्पा गाउँतिर सोझिन्थ्यो, ती सूर्यास्तका बिम्बलाई घर फर्कने संकेतको रूपमा लिँदै, पञ्चमी डाँडाबाट घर लागेपछि आफ्नै तालमा कसैले लोकभाका घन्काउँथे, कसैको मुखमा पालाम मूर्छनाहरू झुन्डिन्थ्यो। कसैले सुसेली हाल्थे भने कसैले पिपिरी पात बजाउँदै त्यो दिनको अन्तिम बिदाइ।’

लाहुरे साहित्यकारहरूले नेपाली कला, साहित्य र संगीतको माध्यमबाट नेपाली हुनुको साइनो जोड्ने प्रयास गरिरहेका छन्। जीवन र मृत्युबीच भोगिएका अनेक अनुभव र अनुभूति लेखिरहेछन्। जन्मभूमि, इष्टमित्र र देश छाडेर जाँदा भोग्नु परेका पीडा साहित्यिक सिर्जनामार्फत उजागर गरिरहेछन्। घर छाडेर परदेश लाग्दा स्वर्गको कल्पना गरे पनि परदेश स्वर्गजस्तो नहुँदो रहेछ भन्ने साहित्यिक सन्देश दिएका छन्।

लाहुरेहरू आर्थिक उन्नतिका लागि लाहुर गए पनि त्यहाँबाट प्राप्त हुने ज्ञान साथै आत्मनिर्भरताका लागि विभिन्न सीप र शिक्षासँगै लिएर आएका हुन्छन्। यिनै धेरै टंकहरूले अथवा लाहुरे स्रष्टाहरूले युद्ध साहित्य सिद्धान्त, नवचेतनाग्रह, डायास्पोरिक साहित्य साथै डायास्पोरिक चिन्तनबाट जीवन र जगत्लाई हेर्ने दृष्टिकोणबारे विचार पाठकमाझ बहस चलाइरहेका छन्। जलवायु परिवर्तनले आममानवलाई मात्र नभएर चराचर जगत्लाई पारिरहेको असरका कारण कति संवेदनशील हुनुपर्छ भन्नेबारे साहित्यमार्फत सचेत गराइरहेका छन्।

पुस्तकमा अझै धेरै रोचक कुरा छन्। सुदूर विस्मृतिका बिम्बहरू पढिसकेपछि किताब उत्कृष्ट लाग्छ। हिजोलाई सम्झेर (निबन्ध) लेखिएको यो कृति भोलिका पुस्ताका लागि पनि पूर्वी पहाडको इतिहास चिनाउने महत्त्वपूर्ण ग्रन्थ बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.