काम डोल्पामा कार्यालय जाजरकोटमा
डोल्पा : डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने भेरी करिडोरको प्रमुख कार्यालय जाजरकोटमा राखिएको पाइएको छ। सडक विभागअन्तर्गत रहेको यो कार्यालयबाट सम्पादन हुने धेरै काम डोल्पा क्षेत्रमै गर्नुपर्ने भएपनि जाजरकोटमा राखिएको हो।
११८ किलोमिटर लामो यस करिडोरले जाजरकोटदेखि–दुनै हुँदै धो–तिन्जे–मरिम नाका जोड्ने गर्दछ। सुरुदेखिनै डोल्पामा राखिनु पर्ने कार्यालय जाजरकोटमा राखिएपछि करिडोर निर्माण तथा स्तर उन्नतिको काम गर्न धेरै समस्या हुने गरेको कर्मचारीले बताएका छन्।
चीन–नेपाल हुँदै भारत जोड्ने करिडोर निर्माणको धेरै काम डोल्पा क्षेत्रमै बाँकी रहेको कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीले बताए। स्थापना गर्दा खेरिनै डोल्पामा राख्नुपर्ने कार्यालय जाजरकोटमा राख्दा डोल्पामा काम गर्न समस्या हुनुका साथै राज्यलाई आर्थिक भार समेत थपिएको सांसद शाहीको भनाइ छ।
अब जतिसक्दो छिटो मुख्य कार्यालय डोल्पामै स्थापना गर्ने कार्यालय प्रमुख गम्भीर हुनुपर्ने र यस विषयमा आफुले पनि पहल गर्ने उनले बताए। अहिले भेरी करिडोर कार्यालयमार्फत डोल्पामा बेलिब्रिज निर्माणदेखि सडक निर्माणसम्मको काम भइरहेको छ। तर,उक्त कामका लागि नियमित आवश्यक प्राविधिक तथा कर्मचारीहरु जारकोटबाटै आउने गरेका छन्। काम डोल्पामा हुने तर कार्यालय भने जाजरकोट हुँदा कामको बिल उठाउनदेखि आवश्यक रकम पेश्की तथा भुक्तानी लिन समस्या हुने गरेको समेत निर्माण व्यवसायीले गुनासो गरेका छन्।
यता जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायले जिल्लामा सर्वपक्षीय निर्णय गराएर कार्यालय डोल्पा सार्न अनुरोध गर्दा समेत स्थापना हुन नसकेको बताए। ‘कार्यालय कहाँ राख्नुपर्ने भन्ने कुरा होडिङ बोर्डले नै प्रष्ट पारेको छ, वास्तवमा जाजरकोटभन्दा धेरैजसो काम डोल्पा मै गर्नुपर्ने देखिन्छ, तर कार्यालय जाजरकोटमा छ, यो कस्तो काइदा हो ? ’उनले प्रश्न गरे।
त्रिदेशीय व्यापारिक नाकाको रुपमा रहेको यस सडकको कार्यालय अझै सार्न सुरसार नभए सडक विभागमै पुगेर दबाव दिने उनको भनाइ छ।
यता भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुजन अधिकारीले कार्यालय डोल्पामै सार्न सधैँ आफू सकारात्मक भएको बताए। ‘यस विषयमा डोल्पाका जनप्रतिनिधिहरुले धेरै पटक मौखिक तथा लिखित अनुरोध गर्नुभएको छ, यसै आर्थिक वर्षभित्र ठूला ठेक्का खुल्दैछन्,अब अर्को आर्थिक वर्ष भित्रमा प्रमुख कार्यालय डोल्पा सार्ने तयारी भइरहेको छ’उनले भने।
अहिले दुनैमा साइड कार्यालय खोल्ने तयारी भइरहेको समेत उनले बताए। भेरी करिडोरअन्तर्गत पर्ने चौखा, तल्नुबगर, गोतामकोट, छलगार्ड लगायतका दर्जन धेरै ठाउँमा पक्की पुल निर्माण गर्न बाँकी छ भने तल्नुबगरदेखि दुनै स्तरउन्नतीको काम नै सुरु भएको छैन।
त्यसैगरि करिडोर अन्तर्गतनै पर्ने मोरिम, धो, सिसौलसम्म कच्ची ट्रयाक खुलाइएपनि दुनै, ल्यासीक्याप हुँदै सिसौलसम्म सडक निर्माण गर्नै बाँकी रहेको छ।