झापामा एक महिला मृत फेला, हत्या भएको आशंका
झापा : झापामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। अर्जुनधारा नगरपालिका-६ स्थित बिहानी टोलमा सोमबार बिहान ६ बजे फेला परेकी ती महिलाको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ।
मृतक इलाम माई नगरपालिका-१ महमाई कलकत्ते माइती भई हाल बिर्तामोड नगरपालिका- ५ मा अस्थायी रुपमा बसोबास गर्ने कुमार पुलामी मगरको श्रीमती अन्दाजी ५० वर्षीया माया मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।
उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको बताइएको छ। घटना शंकास्पद देखिएकोले अनुसन्धानका लागि प्रदेशको टोली कुकुरसहित घटनास्थल आउन लागेको प्रहरी निरीक्षक गिरीले बताए। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनिको टोली पुगिसकेको छ।