जहाँ जन्मिएका थिए जंगबहादुर
जंगबहादुर राणाका जेठानसमेत रहेका सनकसिंह टण्डनले आफ्ना बुबा परशुरामको आग्रहमा मन्दिर तथा पौवा निर्माण गरेको इतिहास रहेको संस्कृतिविद् टण्डनको भनाइ छ ।
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ५ मथुरामा, मथुरा धाम तथा गोपेश्वर पीठ रहेको छ । यसै स्थानमा रहेको लामपाटिमा बिक्रम सम्बत् १८७४ असार ७ गते जंगबहादुरको जन्म भएको सन्धिखर्क नगरपालिका – ५ का वडा सदस्य तथा मथुरा धाम संरक्षण समितिका सहसचिव कृष्ण प्रसाद भुसालले बताए ।
आँपको बगैचा र मथुरा खोलाको किनारमा रहेको यस स्थानमा राधाकृष्णको मन्दिर, राम मन्दिर, हवन कुण्ड तथा विभिन्न मन्दिर रहेका छन् । जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको बंगलामा आफू जन्मिएको लामपाटीमा आमाको सम्झनामा २० खुट्टे दरबार (पौवा) तथा बगैचा निर्माण गर्न जंगबहादुर राणले नै लगाएको स्थानीय अगुवाहरू बताउँछन् ।
नेपालका अन्य स्थानमा २० खुट्टे अर्थात् २० वटा थाम भएको पौवा अन्यत्र नभेटिएको तथ्य रहेकाले यसको संरक्षण र सम्बद्र्धनमा सन्धिखर्क नगरपालिकाले काम गरिरहेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । जंगबहादुरको बुबा बालनरसिंह राणा आर्मी अफिसर थिए । उनी बारुदखाना प्युठानको प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो । विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्ला खटाइएको थियो । जुम्लामा उनकी श्रीमतीलाई लिएर गएका थिए ।
जुम्लामै रहँदा श्रीमती गर्भवती भइन् । त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो । उनी तत्कालीन प्रधानमन्त्री भीमसेन थापाकी बहिनी थिइन् । जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको बंगलामा रहेको लामपाटी अर्थात् मथुरामा बिक्रम सम्बत् १८७४ सालमा उनले ७ महिनामा बच्चा जन्माइन् । अर्थात् जंगबहादुर ७ महिनामै जन्मिएका थिए । यसै स्थानमा रहेको २० खुट्टे पौवा निर्माण भएको जंगबहादुर राणाको जन्म भएको स्थानमा रहेको पौवा जीर्ण भएपछि सन्धिखर्क नगरपालिकाले निर्माण कार्य सुरु गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । यसको प्रचार प्रसारमा पनि नगरपालिकाले काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।
त्यसबेला लाम्पाटीमा घनघोर जंगल थियो । नजिकैका पाण्डे थरका कृषकहरूले उनको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाई राखेका थिए । त्यहीँ स्थानीय खनाल थरका ब्राह्मणहरूले न्वारन गराएर त्यो बालकको नाम वीरनरसिंह राखेको संस्कृतिमा रुची राख्ने छत्रदेव ३ बल्कोटका नारायण भट्टराईले बताए । सुत्केरी दरिली भएपछि उनी माइती गोरखा गएकी थिइन् । पछि वीरनर सिंह जंगे स्वभावको भएको हुनाले उनको नाम जंगबहादुर रहेको उनको भनाइ छ ।
जंगबहादुरको जन्म कतिले गोरखामा र कतिले काठमाडौंको थापाथलीमा भएको भन्ने गरिएको छ । उनी लाम्पाटीमा जन्मिएका थिए । त्यसैले जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरूको भनाइ छ । इतिहासकारहरू प्रोफेसर दिनेसराज पन्त र युवराज शमशेर जबराले जंगबहादुर लाम्पाटीमा जन्मिएको र वल्कोटको पौवामा आएर न्वारान भएको पछि त्यसै स्थानमा कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको उल्लेख गरेको नारायण भट्टराईको भनाइ छ ।
पौवाका विषयमा तत्कालीन राजा श्री ५ सुरेन्द्र शाहको पालामा चारवटा लालमोहर लागेका थिए । ती लालमोहर इतिहासकारहरू प्रोफेसर पन्त र जवराको विश्लेषणलाई अर्घाखाँची सम्पर्क सदनको चिनारी २०७२ मा समाबेस गरिएको उनले बताए । काठका आकृतिमा यौन क्रियाकलाप सहितका चित्र देखाइएको शैलीमा निर्माण भएको बिचित्रको पौवा निर्माण गरेका कालीगढको हातपछि गएर राणाकै पालामा काटिएको किम्बदन्ती छ ।
जंगबहादुर राणाको न्वारन भएको स्थान भनेर चिनिने विचित्रको बल्कोटको पौवा छत्रदेव गाउँपालिका–२ बल्कोटमा पर्छ । मथुराको लामपाटीमा जन्म भएका राणाकी आमाको यसै पौवामा राखेर सुत्केरी स्याहार गर्ने कार्य गरिएको थियो । यसै स्थानमा ११ दिनको न्वारन गरिएको थियो ।आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैचा र न्वारन भएको ठाउँ बल्कोटमा बिचित्रको पौवा निर्माण गर्न जंगबहादुरले लगाएर कर्णेल सनदसिंहले निर्माण गरेको मथुराधाम लाम्पाटी पौवा संरक्षण समितिका अध्यक्ष ढुण्डीराज अधिकारीले बताए ।
कर्णेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, ऋणिको बगैंचा, पाल्पा अर्गलीको बगैंचा, जोर्तको पौवा र वाटोमा रहेका गौमुखी धाराहरू निर्माण भएको बल्कोट पौवा तथा परशुरामेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष राजेश पन्थीले बताए । विक्रम सम्बत १९०४ सालमा निर्माण गर्न सुरु गरिएर १० वर्षको समय लगाएर पौवा तथा मन्दिरहरू निर्माण गरिएको सस्कृतिविद् डाक्टर गोविन्द टण्डनले बताए ।
जंगबहादुर राणाका जेठानसमेत रहेका सनकसिंह टण्डनले आफ्ना बुबा परशुरामको आग्रहमा मन्दिर तथा पौवा निर्माण गरेको इतिहास रहेको संस्कृतिविद् टण्डनको भनाइ छ ।