राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल
तस्बिर : अन्नपूर्ण

विराटनगर : कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल भएको छ ।  आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा एकअर्कालाई सघाउने सहमति दुवै दलबीच भएको हो । 

तालमेल भएपनि सत्तारुढ गठबन्धनको मतभार बढी भएकाले दुवै दलका उम्मेदवारलाई जित निकाल्न भने सकस पर्ने देखिन्छ । यद्यपि, निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘निर्वाचन जितिन्छ भन्नेमा आशावादी छौं,’ उनले भने, ‘त्यही भएर तालमेल गरिएको हो ।’ 

null

कोशीमा यसअघि राप्रपाले सभामुख लिएपछि एमालेसँग खटपट भएको थियो । तर, राष्ट्रियसभा निर्वाचनमा पुनः तालमेल गर्ने सहमति भएको छ । प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनमा पनि एमाले–राप्रपाको तालमेल भएको थियो । त्यो तालमेलका आधारमा एमाले नेतृत्वमा प्रदेश सरकार बनाउन राप्रपाले साथ दियो । 

सरकार बनाउने र ढाल्ने खेलका कारण प्रदेशमा लामो समयसम्म सभामुख पद खाली रहयो । सत्तारुढ गठबन्धनसहितका दलको साथ पाएर राप्रपाका अम्बरबहादुर विष्ट सभामुख बनेका छन् । सभामुखको विषयलाई लिएर दुई दलबीच देखिएको खटपट राष्ट्रियसभा निर्वाचनसम्म आइपुग्दा टुंगिएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा महिलातर्फ खाली छाडेको राप्रपाले अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । एमालेले महिलातर्फ रुक्मिणी कोइराला र अन्यतर्फ पर्शुराम अधिकारीलाई उम्मेदवार उठाएको थियो । दुवै दलबीच चुनावी तालमेल भएपछि एमालेले अधिकारीलाई ‘ब्याक’ गराउने र महिलातर्फ कोइरालालाई जिताउने रणनीति लिएको छ । 

एमाले प्रमुख सचेतक भण्डारीले अन्यतर्फ राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सघाउने सहमति भएको बताए । सत्ता गठबन्धनको मतभार धेरै भएकाले एमाले वा राप्रपा एक्लै चुनावमा जाँदा जित्ने अवस्था थिएन । तालमेल गर्दा पनि सत्ता गठबन्धनकै मतभार बढी हुन्छ । 

कोशीमा राष्ट्रियसभाको दुई सिटका लागि निर्वाचन हुँदैछ । यसअघि राष्ट्रियसभा सदस्य बनेका नेपाली कांग्रेसका रमेशजंग रायमाझी र नेकपा (माओवादी केन्द्र)की बिना पोखरेलको पदावधि सकिन लागेपछि चुनाव हुन लागेको हो ।

कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । कोशीमा प्रदेशसभा सदस्य ९३ जना छन् । प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ । कोशीका १ सय ३७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर २ सय ७४ जनाले राष्ट्रियसभा निर्वाचनमा भाग लिन पाउँछन् । पालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । 

कोशीको १० हजार १ सय ३५ कूल मतभारमध्ये प्रदेशसभा सदस्यको मात्रै ४ हजार ९ सय २९ पुग्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन् । कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यका हिसाबले एमाले–राप्रपाको २ हजार ४ सय ३८ र सत्तारुढ गठबन्धनको २ हजार ४ सय ९१ मतभार हुन्छ । 

स्थानीय तहमा सबैभन्दा धेरै कांग्रेसका १ सय १३ जना प्रमुख र उपप्रमुख छन् । माओवादीका ३१, एकीकृत समाजवादीका ७ र जसपाका ४ जना छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर सत्ता गठबन्धनको मतभार २ हजार ९ सय ४५ पुग्छ । एमालेका १ सय १२ र राप्रपाका ४ जना प्रमुख एवं उपप्रमुख छन् । स्थानीय तहबाट एमाले–राप्रपाको कूल मतभार २ हजार २ सय ४ पुग्छ । स्वतन्त्र ३ जनाको मतभार ५७ हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको जम्मा मतभार ५ हजार २ सय ६ पुग्छ ।  

प्रदेश र स्थानीय तह गरेर स्वतन्त्रबाहेक गठबन्धनसँग ५ हजार ४ सय ३६ तथा एमाले–राप्रपासँग ४ हजार ६ सय ४२ मतभार हुन्छ ।  सत्तारुढ गठबन्धनले राष्ट्रियसभामा अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । राष्ट्रियसभामा गठबन्धन गरेका एमाले–राप्रपाले सत्तारुढ गठबन्धनको असन्तुष्ट मत तानेर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने रणनीति बनाएका छन् । सत्तारुढ गठबन्धन भने आफ्नो मत जोगाएर चुनाव जित्ने धाउन्नमा केन्द्रित छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.