शीतलहरले जनजीवन कष्टकर
परासी : दुई सातादेखि नवलपरासीमा चिसोसँगै शीतलहर बढेको छ। यसले सबैभन्दा बढी विपन्न समुदाय प्रभावित भएका छन्। शीतलहर बढे लगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रभावितहरूलाई न्यानो कपडा र दाउरा वितरण गर्ने निर्णय गरेको थियो।
त्यसका लागि स्थानीय तहलाई विपन्नहरूको विवरण बुझाउन भनिएको थियो। तर स्थानीय तहले दुई सातासम्म विवरण उपलब्ध गराउन नसकेपछि विपन्नहरू चिसोमै कष्टकर दैनिकी बिताउन बाध्य भएका छन्। केही स्थानीय तहले दाउरा वितरण गरे पनि अहिलेसम्म न्यानो कपडा वितरण गर्नमा चासो दिएका छैनन्। जसका कारण विपन्न समुदाय चिसोमा कठ्यांग्रिन बाध्य भएका छन्।
स्थानीय तहले विवरण नबुझाएपछि अन्ततः जिल्ला विपद् व्यवस्थापन समितिले रेडक्रसको समन्वयमा विपन्न समुदायलाई न्यानो कपडा वितरण गरेको छ। ‘स्थानीय तहहरूले अहिलेसम्म विवरण बुझाउन नसकेपछि रेडक्रससँग भएको विवरणका आधारमा विपन्नलाई कम्बल वितरण गर्न सुरु गरेका छौं’, विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले भने।
अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरूले विपन्नभन्दा पनि आफू निकट व्यक्तिको नाम राखेर पठाएपछि जिल्ला विपद् व्यवस्थापन समितिले पुनः प्रहरी र रेडक्रसबाट विवरण लिएर कम्बलवितरण गरेको हो। ‘अधिकांश स्थानीय तहबाट आएका नामावली रुजु गर्दा विपन्न भन्दा पनि अन्यको नाम देखियो, त्यसैले प्रहरी र रेडक्रसको विवरणसँग मिलाएर कम्बल वितरण सुरु गरेका छौं’, प्रजिअ पन्थीले भने।
अघिल्लो वर्ष खरिद गरेर राखिएका करिब ६ सय कम्बललाई अहिले वितरण गर्न सुरु गरिएको हो। जिल्लामा ७ पालिका छन्। रेडक्रसको तथ्यांकअनुसार जिल्लाका सबै पालिकामा १ हजारको हाराहारीमा विपन्न घरधुरी रहेको नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष राजेन्द्र अग्रहरिले बताए।
जिल्लाका केही स्थानीय तहहरूले दाउरा वितरण गरे पनि न्यानो कपडा वितरण नगरेपछि रेडक्रससँग भएका करिब ३५० कम्बल र विपद् व्यवस्थापन समितिसँग भएका कम्बललाई समुदायमै गएर वितरण गर्न सुरु गरिएको अग्रहरिले बताए। ‘वितरण गरिएका दाउरा पनि सहर बजारमा मात्र छ, गाउँ बस्तीमा रहेका विपन्न समुदायमा पुगेको छैन’, अध्यक्ष अग्रहरिले भने।
लाखौं रुपैयाँ विपद् कोषमा राखेका स्थानीय तहहरू भने विपन्न समुदायको समस्या सम्बोधन गर्न चुकेको अग्रहरिले बताए। विपद् व्यवस्थापनका लागि भन्दै जिल्लाका हरेक पालिकाले १४ देखि ६६ लाखसम्म कोषमा रकम विनियोजन गरेका छन्। ‘विपद्लाई समेत राजनीतिसँग जोडेर हेर्दा जनप्रतिनिधिले वास्तविक विपन्नको विवरणसमेत दिन सकेनन्। जसले गर्दा ती समुदाय अहिलेको चिसोमा कठ्यांग्रिन बाध्य भएका छन्’, उनले भने।
स्थानीय तहहरूका प्रमुखहरूले भने विपन्नहरूको विवरण वडाबाट संकलन गर्न लगाइएको बताएका छन्। शीतलहर बढेर राहत वितरणको समय भइसक्दा पनि स्थानीय तह भने विवरण संकलनमै लागेका छन्। ‘वडाबाट विवरण संकलन गर्न पठाएका छौं। पूरा पनि भयो होला’, प्रतापुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले भने।
रामग्राम नगरपालिका हकुईका जोखु वनियाँले अहिलेसम्म जनप्रतिनिधिहरू आएर आफ्ना समस्याका बारेमा सोधिखोजी नगरेको बताए। ‘भोट माग्ने बेला मात्र आउँछन्। न्यानो कपडा वितरणको कुरै छाड्नुस्, चिसोले बस्नै नसक्ने हुँदा समेत अहिलेसम्म आएर के समस्या छ? भनेर सोधेका समेत छैनन्’, उनले भने।
त्यसैगरी प्रतापपुर गाउँपालिका–६ मुसहर बस्तीका लक्ष्मण मुसहरले अहिलेसम्म कुनै पनि नेताहरू आएर राहत नदिएको बताए। आइतबार र सोमबार गरी जिल्ला विपद् व्यवस्थापन समितिले रामग्राम, पाल्हीनन्दन र प्रतापुरका गरी कुल १२७ जना अति विपन्नलाई कम्बल वितरण गरेको जनाएको छ। बाँकी पालिकामा पनि क्रमशः वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।