अयोध्यामा प्राण प्रतिष्ठा, झापामा राम उत्सव
झापा : भारतको अयोध्यास्थित नवनिर्मित राम मन्दिरमा सोमबार गरिएको प्राण प्रतिष्ठाका अवसरमा झापामा पनि राम उत्सव हर्सोल्लासका साथ मनाइएको छ।
पाँच सय वर्षपछि भगवान् रामलाई दिव्य मन्दिरमा प्रवेश गराएको अवसरमा भद्रपुरमा झाँकीसहित बृहत् र्याली निकालिएको छ। भद्रपुर–५ मेची किनारस्थित हनुमान मन्दिरमा विशेष पूजा अर्चना गरी र्याली निकालिएको थियो।
हनुमान मन्दिरबाट निकालिएको र्याली बसपार्क, झापाचोक, भानुचोक, संगमचोक, अस्पतालमोड हुँदै गणेश मन्दिर, देवीवस्तीबाट भद्रपुर बजार परिक्रममा गरी पुनः हनुमान मन्दिरमा पुगेर समापन गरिएको थियो। र्यालीमा बालबालिका, युवायुवती, महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले जय श्री रामको नारा लगाउँदै नाच्दै झुम्दै नगर परिक्रममा गरेका थिए। बालबालिकाहरू राम, सीता, हनुमानको भेषभुषामा सजिएका थिए।
र्यालीलाई सफल बनाउन सार्वजनिक हनुमान मन्दिर सञ्चालक समिति, श्रीराम रथ यात्रा समिति, भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा मञ्च, महिला मञ्च र युवती मञ्चको संयुक्त आयोजना रहेको थियो। साँझमा मन्दिर परिसरमा दीप प्रज्वलन र भजन कीर्तन लगायतको कार्यक्रम सञ्चालन गरिने छ।
उता काँकडभिट्टामा पनि झाँकीसहितको र्याली निकालिएको छ। पञ्चमुखी हनुमान मन्दिर समिति र मारवाडी सेवा समिति काँकडभिट्टाको संयुक्त आयोजनामा निकालिएको र्याली बजार परिक्रममा गरिएको थियो। साँझ दीप प्रज्वलन र भजन कीर्तनको कार्यक्रम समेत आयोजना गरिएको छ। त्यस्तै पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा पनि विशेष कार्यक्रम गरी राम उत्सव मनाइएको छ।
मन्दिर परिसरमा बिहान ११ बजेदेखि समुद्घाटन एवम् प्राण प्रतिष्ठा समारोहलाई एलइडीमार्फत् प्रदर्शन, मध्याह्न १२ बजे भव्य शृंगार आरती र साँझ ५ बजे दीप मालिकासहित भजनकीर्तन गरिएको धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए।