विकास बैंकको नाफामा देखिएन उत्साह
काठमाडौं : समग्रमा मुलुकमा आर्थिक मन्दीको प्रभाव अन्ततः बैंक तथा वित्तीय संस्थामा परेको छ। वाणिज्य बैंक होस् वा विकास बैंक सबैको कारोबारमा चुस्तता नआउँदा, प्रवाह भएका कर्जाको सावाँ तथा ब्याज नउठ्दा खराब कर्जाको आकार बढ्यो जस्ले गर्दा नाफा पनि गत वर्षको भन्दा कम भएको छ।
अझ चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार विकास बैंकको सबालमा १५ ओटामध्ये दुई वटा बैंकको नाफा ऋणात्मक छ। विकास बैंकले चालू आर्थिक वर्ष (आव) २०८०÷०८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १५ विकास बैंकको कुल नाफा वृद्धिदर वार्षिक १६.९९ प्रतिशतले घटेको छ।
चालू आवको ६ महिनासम्ममा ती बैंकको कुल नाफा २ अर्ब ३६ करोड ९२ लाख ६० हजार रुपैयाँमात्रै छ जबकि गत आवको सोही अवधिमा २ अर्ब ८५ करोड ४० लाख ९४ हजार रुपैयाँ हाराहारीमा कमाएका थिए। आठ विकास बैंकहरूको नाफा वृद्धि संकुचन र दुई बैंकको नाफा ऋणात्मक भएको छ। जस्मा लुम्बिनी, मुक्तिनाथ, महालक्ष्मी, सांग्रिला, साइन रेसुङ्गा, मितेरी, सप्तकोशी बैंकको नाफा घटेको छ। तुलनात्मक रूपमा यी बैंकको नाफा वृद्धि घटे पनि केही हदसम्म नाफा गरेकै छन्।
यसरी आधा दर्जन विकास बैंकको नाफामा फड्को
१५ विकास बैंकमध्ये ६ ओटाले भने नाफा बढाउन सफल भएका छन्। गरिमा, ज्योति, कामना, ग्रिन, कामना सेवा कर्णाली विकास बैंक र सिन्धु विकास बैंकको नाफा बढेको छ। जस्मा गरिमा विकास बैंकले गत वर्षको तुलनामा २.०८ प्रतिशतले नाफा बढाएर ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ कमाएको छ। गत आवको सोही अवधिमा ५० करोड २१ लाख ४६ हजार रुपैयाँ कमाएको थियो।
यसैगरी कामना सेवाले नाफा ३२.१९ प्रतिशतले बढाएर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यस्तै, गत आव २८ लाख २९ हजार रुपैयाँमात्रै नाफा गरेको ग्रिन विकासले यसपटक १ करोड २६ लाख १ हजार रुपैयाँ कमाएको छ।
यसपछि, गत आव पुससम्ममा १ करोड ६४ लाख ५६ हजार रुपैयाँ कमाएको कर्णाली विकास बैंकले यसपटक बढाएर ४ करोड ८ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यसैगरी ज्योतिले १९०.६७ प्रतिशतले नाफा वृद्धि गरेर १० करोड १० लाख कमाएको छ। जबकि गत आवमा बैंकले ३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।
बढी नाफा गर्नेमा गरिमा र मुक्तिनाथ अगाडि
समग्रमा विकास बैंकमध्ये आकारमा बढी नाफा गर्नेमा गरिमा र मुक्तिनाथ विकास बैंक अगाडि छन्। सबैभन्दा बढी नाफा गर्ने गरिमा विकास बैंकले यस बैंकले रु. ५१ करोड २५ लाख कमाउँदा दोस्रो बढी कमाउने सूचीमा मुक्तिनाथ विकास बैंक छ।
गत आवको पुसससम्ममा ६२ करोड ६२ लाख नाफा गरेको मुक्तिनाथले यसपटक ४२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यद्यपि सो बैंकको नाफा वृद्धि ३२.९३ प्रतिशतले कमी आए पनि समग्रमा धेरै नाफा गर्ने दोस्रो बैंकको पंक्तिमा रहन सफल भएको छ। यस्तै, धेरै कमाउने तेस्रोमा साइन रेसुङ्गा छ। जस्ले ३७ करोड १२ लाख कमाएको छ। जबकि यस्ले गत आवको सोही अवधिमा ४२ करोड ९६ लाख रुपैयाँ कमाएको थियो।
यस कारण दुई विकास बैंकको नाफा ऋणात्मक
विकास बैंकमध्ये नारायणी र एक्सेल विकास बैंकको नाफा ऋणात्मक स्थितिमा पुगेका छन्। एक्सेल डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६ करोड ९९ लाख नोक्सानी व्यहोरेको छ। जबकि गत आवको तेस्रो त्रैमासमा भने कम्पनी रु.२ करोड ३२ लाख नाफामा थियो।
इम्पेयरमेन्ट चार्ज बढेसँगै नोक्सानीमा रहेको हो। गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ८ करोड ८५ लाख रहेकोमा चालू आवमा बढेर १६ करोड १६ लाख पुगेको देखिन्छ। त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा २३ प्रतिशत घटेको छ। कम्पनी नोक्सानीमा रहेसँगै प्रतिसेयर आम्दानी ११ रुपैयाँ १९ पैसा ऋणात्मक छ। जबकि प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा धनात्मक थियो।
यसैक्रममा एक्सेल विकास बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल पछिल्लो समय ऋणीहरूले गरेको आन्दोलनको प्रभाव बढी परेको बताउँछन्। ऋणीहरूले बैंकको सावाँ, ब्याज नतिर्न भनेर गरेको आन्दोलनले धेरैबाट उठाउन सास्ती भएको उनको भनाइ छ। सीईओ डा. कट्टेल भन्छन्, ‘यससँगै आर्थिक मन्दीको चपेटामा पनि पर्यो। आयस्रोत घट्यो।
जुन हिसाबले पहिला हुने आयस्रोतको आधारमा कर्जा लगेका थिए तर पछि सोही आधारमा नियमित आय नबढ्दा ऋण समयमा तिर्न समस्या परेको स्थिति छ।’ मुख्य यी कारणले खराब कर्जा बढ्यो। जति खराब कर्जाको आकार बढ्यो सोही अनुपातमा कर्जा नोक्सानी प्रोभिजन छुट्ट्याउनु पर्दा नाफा घटेको हो।
यसले गर्दा वितरणयोग्य नाफामा पनि चुनौती छ। यद्यपि अझै आधा वर्ष बाँकी छ। यस अवधिमा कर्जा रिकभरी हुने उनको अपेक्षा छ। ‘यसो हुँदा आगामी असारसम्ममा कर्जा व्यवस्थापन गर्दा धेरै उठ्ने सम्भावना छ,’ सीईओ डा. कट्टेलले अन्नपूर्णसँग भने। यसैले आवको अन्त्यसम्म सुधार हुन सक्ने उनको भनाइ छ।
यसैगरी, नारायणी विकास बैंक विगत वर्षदेखि नै नाफा ऋणात्मकको भार खेप्दै आएको छ। गत आवको ६ महिनामा पनि १ करोड ३७ लाख १८ हजार नोक्सानी व्यहोरेको सो बैंकले यसपटक झन् ६ करोड १७ लाख ७२ हजार रुपैयाँबराबरको घाटा व्यहोरेको छ। बर्सेनि यस्तो घटा व्यहोर्दै आएको सो बैंकको खराब कर्जाको आकार बढेर २७.७५ प्रतिशत पुगेको छ। यो सबै विकास बैंकमध्येकै बढी एनपीएल हो। जबकि सो बैंकको गत आवको सोही अवधिमा एनपीएल २.८३ प्रतिशत थियो।
यसबीच खराब कर्जाको आकार बढ्नुमा व्यवस्थापनको गलत कदम भएको ठान्छन् हालका नारायणी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु रेग्मी। गत असोज ९ गतेबाट सीईओ सम्हालेका रेग्मी आउनु अघिका गत असार मसान्तसम्मै तत्कालीन व्यवस्थापकहरूले लगानी गरेका फाइलहरूमा अत्यधिक खराब कर्जा गएको देखिएको उनले जनाए।
उनका अनुसार सो अवधिमा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण टोलीले गरेको अनुगमनबाट धेरै कर्जा नोक्सानी प्रोभिजन राख्न निर्देशन दिएको रहेछ। ‘सोहीअनुसार करिब ८ करोड ८० लाख रुपैयाँ थप प्रोभिजन राख्नुपर्यो। यसैले गर्दा नोक्सानी व्यहोर्नु परेको उनले सुनाए। मैले ३० वर्षको बैंकिङ करियरमा अहिले यस्तो अवस्थाको अनुभव लिनु परेको छ।
यसअघि कर्जा सूचना केन्द्रमा भाखा नाघेको सूची पनि अध्यावधिक गरेको रहेनछ। जस्ले गर्दा खराब ऋणीहरूलाई समेत ऋण दिइरहेको अवस्था रहेछ,’ सीईओ रेग्मीले अन्नपूर्णसँग भने। अहिले यस्तो कार्य बन्द गरेर बैंकलाई मजबुत बनाउने योजना बुनिरहेको उनले बताए। यसर्थ अब आफ्नो मुख्य लक्ष्य निष्क्रिय कर्जा घटाउनु रहेको बताउँछन्। ‘कर्जाको सावाँ र ब्याज समयमा नउठ्ने प्रवृत्तिले एनपीएलको आकार बढेको छ,’ उनी थप्छन्, ‘बैंकले निष्क्रिय कर्जा घटाउन अभियान चालेको छु।
अब राम्रै दरले घटाउने योजना बनाएका छौं। अहिले बैंकको नारायणीको यस्तै अवस्था छ, यसलाई नियन्त्रण गर्नेतर्फ लाग्दैछौं। मेरो लक्ष्य अब रिकभरीमा केन्द्रित हुन्छ। अब असार मसान्तसम्ममा एनपीएल ५ प्रतिशतमा झार्ने योजना छ।’
विकास बैंकको खराब कर्जा औसत ६.२१ प्रतिशत
विकास बैंकहरूबाट प्रवाह भएको ऋण समयमा नउठ्ने क्रम ह्वात्तै बढेको छ। चालू आवको ६ महिनासम्ममा विकास बैंकहरूको औसतमा निष्क्रिय कर्जा ६.२१ प्रतिशत पुगेको छ। प्रतिवेदनअनुसार सबैभन्दा बढी नारायणी विकास बैंक र सप्तकोशी विकास बैंकको देखिन्छ। नारायणी विकास बैंकको अहिले ह्वात्तै बढेर २७.७५ प्रतिशत पुगेको छ।
यस्तै, गत आवमा सप्तकोशीको १४.१९ प्रतिशत एनपीएल भएकोमा १८.५० प्रतिशत पुगेको छ। यसबाहेकका विकास बैंकको निष्क्रिय कर्जा क्रमशः सांग्रिलाको ४.८९, ज्योतिको ४.८८, कर्णालीको ४.७४, एक्सेल र ग्रिन विकास बैंकको ४.७० प्रतिशत पुगेको छ। यसपछि महालक्ष्मीको ४.२ प्रतिशत एनपीएल पुगेको छ।
यसबाहेकको ४ प्रतिशतभन्दा कम छ। सबैभन्दा कम निष्क्रिय कर्जा सिन्धु विकास बैंकको देखिन्छ। गत वर्षको पाँच महिनामा ४.९ प्रतिशत भएको एनपीएल घटाएर सो बैंकले १.०५ प्रतिशत कायम गर्न सफल भएको छ। यसैले पनि गत वर्ष ऋणात्मक भएको नाफा यो बैंकले यसपटक धनात्मक बनाउन सफल भएको छ।
समग्रमा विकास बैंकहरूले प्रवाह गरेको ऋणको सावाँ तथा ब्याज उठाउन नसक्दा निष्क्रिय कर्जा बढेको बैंकर बताउँछन्। निष्क्रिय कर्जा बढ्दै गएकाले बैंकहरूले ऋण नोक्सानी प्रोभिजन (लोन लस प्रोभिजन)मा बढी रकम छुट्ट्याउनु परेको उनीहरू बताउँछन्। व्यवसायीहरूले भने बजारमा माग नहुँदा व्यवसाय ठप्प रहेकाले बैंकको सावाँ ब्याज तिर्न कठिन भएको गुनासो गर्दै आएका छन्।
ऋण लिएपछि तिर्नै पर्छ। तर, ऋण लिएर वर्षौंदेखि नतिर्दा समग्रमा बैंकहरूको कर्जा निष्क्रिय तथा खराबमा परिणत हुन जान्छ। बैंकको कुल कर्जाको पाँच प्रतिशत माथि कर्जा खराब भइरहे समस्याग्रस्त हुने जोखिम हुन्छ। यसैले जति कम एनपीएल त्यति राम्रो बैंक भन्ने सामान्य बुझाइ पनि रहेको छ।
पछिल्लो समय ऋणीहरूले गरेको आन्दोलनको प्रभाव बैंकमा बढी परेको छ। ऋणीहरूले बैंकको सावाँ, ब्याज नतिर्न भनेर गरेको आन्दोलनले धेरैबाट उठाउन सास्ती भएको छ। यससँगै आर्थिक मन्दीको चपेटामा पनि पर्यो। आयस्रोत घट्यो। जुन हिसाबले पहिला हुने आयस्रोतको आधारमा कर्जा लगेका थिए तर पछि सोही आधारमा नियमित आय नबढ्दा ऋण समयमा तिर्न समस्या परेको स्थिति छ। मुख्य यी कारणले खराब कर्जा बढ्यो।
जति खराब कर्जाको आकार बढ्यो सोही अनुपातमा कर्जा नोक्सानी प्रोभिजन छुट्ट्याउनु पर्दा नाफा घटेको हो। यसले गर्दा वितरणयोग्य नाफामा पनि चुनौती छ। यद्यपि अझै आधा वर्ष बाँकी छ। यस अवधिमा कर्जा रिकभरी हुने अपेक्ष गरिएको छ। यसो हुँदा आगामी असारसम्ममा कर्जा व्यवस्थापन गर्दा धेरै उठ्ने सम्भावना छ। यसैले आवको अन्त्यसम्म सुधारतिर लक्षित छौं।
डा. इन्द्रकुमार कट्टेल, प्रमुख कार्यकारी अधिकृत, एक्सेल विकास बैंक
गत असोज ९ गतेबाट सीईओ सम्हालें। यसअघि नै खराब कर्जाको आकार बढ्नुमा व्यवस्थापनको गलत कदम भएको रहेछ। गत असार मसान्तसम्मै तत्कालीन व्यवस्थापकहरूले लगानी गरेका फाइलहरूमा अत्यधिक खराब कर्जा गएको देखियो। सो अवधिमा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण टोलीले गरेको अनुगमनबाट धेरै कर्जा नोक्सानी प्रोभिजन राख्न निर्देशन दिएको रहेछ।
सोहीअनुसार करिब ८ करोड ८० लाख रुपैयाँ थप प्रोभिजन राख्नु पर्यो। यसैले गर्दा नोक्सानी व्यहोर्नु पर्यो। यसअघि कर्जा सूचना केन्द्रमा भाखा नाघेको सूची पनि अध्यावधिक गरेको रहेनछ। जस्ले गर्दा खराब ऋणीहरूलाई समेत ऋण दिइरहेको अवस्था रहेछ। अहिले यस्तो कार्य बन्द गरेर बैंकलाई मजबुत बनाउने योजना बुनिरहेको छु।
-विष्णु रेग्मी, प्रमुख कार्यकारी अधिकृत, नारायणी विकास बैंक