२० औं एसियाली खेलकुद : पाँच खेलको प्रशिक्षण माघ १५ बाट
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले जापानमा हुने २० औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई विगतभन्दा प्रभावकारी बनाउने उद्देश्यसहित पाँच खेलको प्रशिक्षण माघ १५ गतेबाट सुरु गर्ने बताएका छन्।
सदस्यसचिव घिसिङले विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीसँगको छलफलमा पहिलो चरणमा कराते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको तयारी प्रशिक्षण सुरु गर्ने र बाँकी खेलको पनि क्रमैसँग तयारी थाल्ने बताएका हुन्।
‘आगामी एसियाली खेलकुदका लागि पहिलो चरणमा कराते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको प्रशिक्षण सुरु गर्छौं। यसो भनिरहँदा अरु खेललाई नजरअन्दाज गर्न पक्कै खोजिएको होइन। बाँकीको पनि क्रमैसँग तयारी थाल्ने छौं’, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङले भने, ‘विगतमा हुने छोटो अवधिको प्रशिक्षणको अन्त्य गर्न जरुरी छ। तयारी छोटो गर्ने अनि खेलाडीबाट उत्कृष्ट नतिजा अपेक्षा गर्नु न्यानोचित होइन।’