जन्मदाता खोज्दै त्रिभुवन पुस्तकालय

जन्मदाता खोज्दै त्रिभुवन पुस्तकालय
सुन्नुहोस्

गोरखा : बन्द भएको एक दशकपछि पुनः सञ्चालनमा आएको त्रिभुवन पुस्तकालयले आफ्नो इतिहास खोज्न सुरु गरेको छ। हालसालै सञ्चालन सुरु भएको सो पुस्तकालयको नयाँ सञ्चालक समितिले २००८ सालमा स्थापना हुँदा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापकहरूको खोजी गरेको हो।

गोरखा नगरपालिका ६ तीनधारेमा रहेको सो पुस्तकालयले संस्थापक खोज्ने क्रममा ज्येष्ठ नागरिकहरूसँग सामूहिक राय, सुझाव संकलन गरेको छ। राय सुझाव संकलन गर्न आयोजित भेलामा बोल्दै ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठले संस्थापक अध्यक्ष शिवप्रसाद अर्याल भएको जिकिर गरेका छन्। 

आफूले लामो सोधखोज गर्दा स्थापनाका बेलाका सचिव प्रेमकुमार श्रेष्ठ र अध्यक्ष शिवप्रसाद अर्याल रहेको फेला पारेको बताए। ‘हामीले इतिहास भुल्नु हुँदैन। इतिहास बङ्ग्याउनु पनि हुँदैन। इतिहास मर्न दिनु पनि हुँदैन’, श्रेष्ठले भने, ‘पुस्तकालयले इतिहास खोज्दैछ भन्ने थाहा पाएपछि मैले पनि संस्थापक अध्यक्ष को हुनुहुन्थ्यो होला भनेर खोजी गरेँ। मेरो निश्कर्ष संस्थापक अध्यक्षमा शिवप्रसाद लप्टन नै हो। सचिवमा प्रेमकुमार श्रेष्ठ, अरू संस्थापकहरूमा रुपनारायण जोशी, मंगलबाबु श्रेष्ठ, क्षेत्रभक्त श्रेष्ठ लगायतका अरूहरू पनि हुनुहुन्थ्यो भन्ने पाएको छु।’

पूर्व शिक्षक समेत रहेका पुरुषोत्तम अर्यालले त्रिभुवन पुस्तकालयको अध्यक्ष पुरुषोत्तम अर्याल भएको बेलाको मात्रै जानकारी पाएको बताए। ‘२०२४ साल, २५ सालतिर पुस्तकालय खोल्ने बन्द गर्ने साँचो मैले लिएको थिएँ। त्यतिबेला मोहननारायण श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो’, उनले भने, ‘२००८ सालमा पुस्तकालय स्थापना हुँदा शिवप्रसाद लप्टनबा अध्यक्ष हुनुहुन्थ्यो भन्ने मैले पनि सुनेको हुँ।’

कार्यक्रममा बोल्दै पूर्व शिक्षक समेत रहेका राधेश्याम मास्केले प्रेमकुमार श्रेष्ठ, जीतबहादुर नेपाली, चुडानारायण किशुनबाबु श्रेष्ठ लगायतकाहरूको सक्रियतामा त्रिभुवन पुस्तकालय स्थापना भएको तर्क गरे। ‘२००७ सालमा कांग्रेसको नेतृत्वमा क्रान्ति भयो। राजा त्रिभुवनको साथ र सहयोगमा प्रजातन्त्र पनि आयो। त्यसपछि त्यही कांग्रेसको सक्रियतामा पुस्तकालय स्थापना भयो। नाम पनि त्रिभुवनको नामबाट राखे’, मास्केले भने, ‘संस्थापकहरू सबै कांग्रेसै कांग्रेस हुँदा पार्टीको पुस्तकालय जस्तो देखियो भनेर आलोचना पनि भएको थियो। कुनै पार्टीको वर्चस्व नदेखियोस् भन्ने कुरा पनि त्यतिबेला सुनिन्थ्यो।’

अर्का ज्येष्ठ नागरिक धिरजबहादुर मास्केले सो पुस्तकालय स्थापनाका बेला रामबहादुर मास्के, प्रेमकुमार श्रेष्ठ, चुडानारायण किशुनबाबु श्रेष्ठ, पद्मनारायण मल्लको सक्रियता रहेको बताए। ‘२००७ सालमा प्रजातन्त्र आयो। २००८ सालमा त्रिभुवन पुस्तकालय बन्यो। २००९ सालमा शक्ति हाइस्कुल बन्यो’, उनले भने, ‘प्रजातन्त्र ल्याउन क्रान्ति गर्नेहरूकै सक्रियतामा यी सबै काम भएको हो।’ 

पुस्तकालय पुनर्निर्माण र पुनः सञ्चालनमा अहम् भूमिका निर्वाह गरेका डाक्टर राजुबाबु श्रेष्ठले आफ्नो अध्ययनले पनि त्रिभुवन पुस्तकालयका संस्थापक किशुनबाबु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, बाबुराम श्रेष्ठ, मंगलबाबु श्रेष्ठ लगायतका रहेको पाएको बताए। यो अध्ययनकै विषय भएकाले अझै अध्ययन गर्नुपर्ने बताए। 

पूर्व शिक्षक रामबाबु श्रेष्ठले अहिले मोबाइल तथा इन्टरनेटको कुलतले मान्छेमा पुस्तक पढ्ने बानीमा ह्रास आएको बताए। ‘मान्छेमा पुस्तक पढ्ने बानी बसाल्न पनि पुस्तकालयले मद्दत गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि म पनि हप्ताको कम्तिमा दुई दिन पुस्तकालयमा खटिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले अहिलेका गोरखाबासीमा भन्दा ७२ बर्षअघिका गोरखाबासीमा शिक्षा, चेतनाप्रति लगाव रहेको तर्क गरे। ‘२०२५ सालतिरबाट मलाई हेक्का छ’, उनले भने, ‘अहिलेका हामी भन्दा ७२ वर्षअघिका गोरखालीमा पढ्नु पर्छ, सचेत हुनुपर्छ भन्ने कत्रो पढाइप्रतिको मोह रहेछ।’ अब यस पुस्तकालयको अगुवाइमा मान्छेमा पढ्ने बानीलाई पुनर्जागरण गर्नुपर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.