कर छलेर निकासी गर्न लागेको सामग्री नियन्त्रण
रसुवा : माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट अवैध रुपमा कर छलेर निकासी गर्न लागेको सामग्री प्रहरीले गएराति नियन्त्रणमा लिएको छ।
२१६ मेगावाट क्षमताको आयोजनाको काम नसकिँदै वडा कार्यालयमा कर समेत नतिरी नक्कली बिल बनाएर ट्रकमा लोड गरिएको सामग्री नेपाल प्रहरीले नियन्त्रणमा लिएको उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मारसिंङ तामाङले बताए।
प्रहरीले गाडी चेक गर्दा फलामका पाइप भेटिएको थियो। वडा नम्बर १ का सहायक सचिव लक्षीराम तामाङले बिना जानकारी राजश्व बिल काटेको भेटिएको हो। १६ टन सामान रहेकोमा ६ टनको मात्र राजश्व काटेको देखिएको छ।
यसबारे गाउँपालिकाको राजश्व समितिले छानविन थालेको छ। उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले भनिन्, ‘नियमविपरीत कवाडी बिक्री गरेको र कर छलेर आंशिक कर लिएको देखियो। तत्काल छानविन थाल्न लागेका छौं।’
प्रतिक्रिया दिनुहोस !
८