झापा गोल्डकपको छैटौँ संस्करण फागुन १९ मा
झापा : एक वर्षको विश्रामपछि झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि हुने भएको छ। झापा गोल्डकप आयोजक समितिले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करण नकआउट फुटबल प्रतियोगिताका बारेमा जानकारी गराएको हो।
मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता मानिएको झापा गोल्डकप बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा फागुन २८ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।
प्रतियोगितामा यो वर्ष पुरस्कार राशि बढाइएको उनले बताए। यो वर्ष गोल्डकप विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन्। पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए। मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिने समितिका महासचिव गजेन्द्र पौडेलले जानकारी दिए।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने छ। टिमको छिनोफानो भइसकेको छैन। प्रतियोगिता सञ्चालनका लागि एक करोड ४० लाख रुपैयाँ अनुमानित खर्च हुने समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए।
२०७२ सालदेखि सुरु भएको झापा गोल्डकपको खातामा ९४ लाख रुपैयाँभन्दा बढी बचत रहेको उनले बताए। गोल्डकपको उद्घाटन समारोहमा जिल्लाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने छ। त्यस्तै रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने जनाइएको छ।
पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका सल्लाहकार मदनगोपाल सुब्बा लगायतको उपस्थिति रहेको थियो। अघिल्लो वर्ष मेची रंगशालामा भद्रपुर झापा गोल्डकप आयोजना गरिएकोले झापा गोल्डकप स्थिगित गरिएको थियो।