अध्यक्षको किर्ते गरेर डोल्पो क्याम्पसले गर्यो वार्षिक सभा
डोल्पा : दुनैमा रहेको डोल्पो क्याम्पसले क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरुको किर्ते गरेर वार्षिक सभा गरेको पाइएको छ। गत पुस ५ गते क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर शाही र सदस्य लालिमान बुढाको हस्ताक्षर किर्ते गरेर वार्षिक सभा भएको हो।
क्याम्पसले क्याम्पस व्यवस्थापन समितिका अधिकाशं पदाधिकारीकै किर्ते हस्ताक्षर गरेर वार्षिक सभा गरेपछि क्याम्पस प्रमुख धनन्ञ्जय सुवेदीसँग अध्यक्ष तथा सदस्यहरु रुष्ट भएका छन्। आफ्नो हस्ताक्षर किर्ते गरेर क्याम्पसको वार्षिक सभा गरेको कुरा केही समय अघि मात्र थाहा पाएको अध्यक्ष शाहीले बताए। आफू लामो समयदेखि काम विशेषले काठमाडौं भएकाले वार्षिक सभामा उपस्थित नभएको र आफ्नो हस्ताक्षर किर्ते गरिएको उनले बताए।
अब केही दिनमै डोल्पा आउने र तत्काल क्याम्पस व्यवस्थापन समितिको बैठक राखेर गम्भीर रुपमा छलफल गर्ने उनको भनाइ छ। यस विषयमा क्याम्पस प्रमुख सुवेदीसँग बुझ्दा आफूलाइ थाहा नभएको बताए। तर सुवेदी स्वयमले वार्षिक सभाको उपस्थिति र निर्णयमा हस्तारक्षर गरेका छन्। क्याम्पस प्रमुख सुवेदीले वार्षिक साधारण सभा नै नभएको भनेर गल्ती ढाकछोप गर्न खोजेका हुन्।
पहिलो निर्णयमा डोल्पो क्याम्पसबाट तयार पारी क्याम्पस व्यवस्थापन समितिबाट पारित वार्षिक प्रतिवेदनलाई डोल्पो क्याम्पस सभाबाट पारित गर्ने निर्णय गरियो। दोस्रो निर्णयमा डोल्पो क्याम्पसको आव ०८०/०८१ को कार्ययोजनालाई कार्यन्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गरि कार्ययोजनालाई सफलतापुर्वक कार्यन्वयन गरि लागु गर्ने निर्णयलाई डोल्पो क्याम्पस सभाबाट पारित गर्ने निर्णय गरियो भन्ने उल्लेख छ।
आजभन्दा १९ वर्ष अघि डोल्पामै उच्च शिक्षा दिने मनसायले त्याग गरेका संघर्षका बाबजुत स्थापना गरिएको क्याम्पसको अहिले बेहाल भएको क्याम्पसका संस्थापक सदस्य लक्ष्मीकान्त उपाध्यायले बताए। अहिले क्याम्पसमा आर्थिक पारदर्शिता नहुनुका साथै भौतिक र शैक्षिक अवस्था पनि कमजोर रहेको उनको भनाइ छ।
वि.सं. २०६० सालतिर जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी आफूसहित वर्तमान अध्यक्ष योगेन्द्रबहादुर शाही, स्वर्गीय अंगत कुमार हमाल, गणेश कुमारी हमाल, जयबहादुर केसी, बम बहादुर केसी, लालीमान बुढा, उर्मिला विश्वकर्मा, बिष्णुलाल बुढा लगायत भएर क्याम्पस स्थापना गरिएको उनले बताए। क्याम्पसको सात वर्षसम्म बैठक बस्न नसकेको क्याम्पस के, कसरी चलेको छ ? कुनै पत्तो नभएको क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरुले गुनासो गरेका छन्। विश्व विद्यालय अनुदान आयोगबाट वर्षेनी आउने लाखौँ अनुदान रकम कहाँ कसरी प्रयोग हुन्छ त्यो पनि थाहा नहुने उनीहरुको भनाइ छ।
आर्थिक वर्ष ०७९/०८० मा १४ लाख ८९ हजार रकम आयोगबाट अनुदान प्राप्त भएको क्याम्पसले जनाएको छ। हाल क्याम्पसको खातामा २५ लाख रकम मौज्दात रहेको क्याम्पस प्रमुख सुवेदीले बताए।
यता विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव शंकर भण्डारीले क्याम्पसको भद्रगोल अवस्थाका विषयमा व्यवस्थापन समितिका पदाधिकारीको फोन आइरहेको बताए। आफू आएको तीन वर्षदेखि निरन्तर अनुदान गइरहेको उनले भनाइ छ।
अघिल्लो आर्थिक वर्ष र जारी आर्थिक वर्षको क्याम्पस व्यवस्थान समितिको बैठकको निर्णय पठाउन क्याम्पस प्रमुखलाइ निर्देशन दिएपनि अहिलेसम्म नआएको उनले बताए। डोल्पो क्याम्पसको विषयमा छानविन गर्ने उनको भनाइ छ। सयौँ विद्यार्थि भर्ना भएपनि क्याम्पसमा नियमित पढाइ भने हुने गरेको छैन। अहिले दुई महिना क्याम्पसले चिसो बिदा दिएको छ।