विश्वविद्यालयमा 'ब्रेक थ्रु' गर्न बौद्धिक समुदायको पनि साथ चाहिन्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले देश बनाउने जिम्मा सबैले लिनुपर्ने बताएका छन्। देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो रहेको उनको भनाइ छ।
बालुवाटारमा डा. केदारभक्त माथेमा, डा. पिताम्वर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा. कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा प्रधानमन्त्रीले सरकार, राजनीतिक दलसहित विभिन्न तह र तप्काका जनसमुदायले जिम्मेवारी लिनुपर्ने बताए।
उनले देश बनाउन सबभन्दा बेष्ट ब्रेनहरू केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखिकै सोँच रहँदै आएको बताए। अहिले विश्वविद्यालयलाई राजनीतिक भागबण्डा बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएकाले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा रहेको उनको भनाइ छ।
आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताए। उनले आम जनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने औंल्याए।
जवाफमा उनीहरूले विश्वविद्यालयमा भागबण्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकूलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताएका थिए। समग्र शिक्षा क्षेत्रसहित विश्व विद्यालयहरूको पुर्नसंरचना गर्नेगरी सुधार थाल्न उनले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।