राष्ट्रियसभामा मधेश प्रदेशबाट गठबन्धनका ढुंगाना र चौधरी विजयी
जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । निर्वाचित भएका सत्तारुढ गठबन्धका आनन्दप्रसाद ढुंगाना नेपाली कांग्रेस र पूजा चौधरी जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए। ढुंगाना धनुषा र चौधरी पर्साकी हुन् ।
अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभारले ढुंगाना निर्वाचित भएका हुन् । उनलाई प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत प्राप्त भएको हो । ढुंगानाका प्रतिस्पर्धी एमालेकी उषा चौधरीले २ हजार ४८४ मतभार पाएका हुन् । उनलाई प्रदेशसभाका २५ र पालिकाका पदाधिकारीहरुको ६१ मत प्राप्त भएको हो ।
महिला कोटातर्फ सत्ता गठबन्धकै पूजा चौधरीले ७ हजार ९२३ मतभार पाएर विजय प्राप्त गरेकी हुन्। उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत प्राप्त भएको हो । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीहरुको मतभार १९ हुन्छ ।
मधेश प्रदेशमा राष्ट्रिय सभाका मतदानमा १०७ प्रदेश सांसदमध्ये १०६ सांसद र १३६ पालिकाका २६७ प्रमुख र उपप्रमुखहरुले मतदान गरेका थिए ।