कालिञ्चोकमा दोस्रो पटक हिमपात
दोलखा : कालिञ्चोक क्षेत्रमा फेरि पनि हिमपात भएको छ। यसअघि पहिलो पटक माघ २ गते हिमपात भएको थियो। बुधबार राति दोस्रो पटक हिमपात भएको हो।
लगातार ३ घण्टा हिमपात भएपछि कालिञ्चोक क्षेत्र छपक्कै भएको छ। बुधबार राति ८ बजेबाट १० बजेसम्म लगातार हिमपात भएको कुरीका होटल व्यवसायी रभी शिवालले बताए। उनका अनुसार रातभरीको हिमपातपछि बिहीबार कालिन्चोक टापु तथा कुरीको वातावरण, डाँडाहरू र बस्ती हिउँले पुरै सेताम्मे देखिएको छ।
हिमपातपछि बिहीबार बिहानैदेखि कालिञ्चोक पुग्ने पर्यटकको चाप बढेको कुरीका स्थानीयले बताए। शुक्रबार र शनिबार त्यसै पनि कालिन्चोक पुग्ने पर्यटक अत्यधिक हुनेमा हिमपातपछि यो संख्या धेरै बढ्न सक्ने होटेल व्यवसायी बताउँछन्।
तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिन्चोकमा गत वर्ष फागुनको दोस्रो साताबाट मात्र हिमपात भएकोमा यो वर्ष माघमा नै २ पटक हिमपात भएको हो।